Comments Add Comment

नयाँ पुलको टुंगो छैन, बेलीब्रिज बनाउन भारतले मानेन

६ भदौ, बिराटनगर । वीरगञ्जपछिको दोस्रो ठूलो नाका बिराटनगर भन्सारनजिकै भारतीय क्षेत्रको पुल जीर्ण हुँदा नेपालका उद्योगी व्यवसायीहरु चिन्तित बनेका छन् । बिराटनगर भन्सार कार्यालयदेखि करिब ८ किलोमिटर दक्षिणतर्फको मिरगञ्ज पुल जीर्ण भएपछि नेपाल–भारत आवत–जावत गर्ने ठूला मालवाहक सवारी साधनको आवागमनमा कठिनाइ उत्पन्न भइरहेको छ ।

तीन वर्षअघिको बाढीले मिरगञ्ज पुलमा क्षति पुर्‍याएको थियो । ०७४ सालको बाढीबाट क्षति पुगेको पुलमा भारतले ४० टनभन्दा बढी सामाग्री बोक्न प्रतिबन्ध लगाएको छ ।

भारतले आफ्ना निकायलाई आदेश नै जारी गरेर पुलमा ४० टन भन्दा बढी भार भएका सवारी साधनहरुको प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ ।

अगष्ट पहिलो साताको भारतीय परिपत्रले ठूला मालवाहक सवारी साधन वीरपुर हुँदै नेपाल पठाउन भनिएको छ । आन्तरिक सर्कुलरमा मिरगञ्ज पुलमा ४० टन भन्दामाथिका सवारीलाई प्रवेश गर्न नदिन निर्देशन दिइएको छ ।

जीर्ण पुलका कारण वीरपुर जाने हो भने ठूला मालवाहक सवारी साधनहरुले ६० किलोमिटर घुमेर नेपाल–भारत आवत–जावत गर्नुपर्ने हुन्छ ।

भारत सरकारको ६ लेन सडक परियोजनाका लागि मिरगञ्ज पुल नजिकै नयाँ पुलका लागि पिल्लर गाडिएका छन् । तर, तीन वर्षयता पुल निर्माणले गति लिएको छैन । विराटनगरको प्रमुख व्यापारिक नाकामा रहेको पुल निर्माणमा भारतले चासो नदिँदा समस्या उत्पन्न भएको हो ।

बेलीब्रिज बनाउन अस्वीकार

गत असार अन्तिम साता परेको पानीका कारण पुलमा क्षति पुगेपछि भारतीय पक्षले ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । भारतले रोक लगाएपछि नेपाली पक्ष छलफलका लागि पुगेको थियो । नेपाल र भारतको स्थानीय प्रशासनबीच भएको छलफलमा नेपालले आवत–जावतका लागि बेलीब्रिज मर्मतको प्रस्ताव गरेको थियो ।

तर, भारतीय पक्षले बेलीब्रिज दीर्घकालीन नहुने बताउँदै पुनर्निर्माण गर्न अस्वीकार गरेको छ । त्यहाँ बेलीब्रिज राख्न नमिल्ने उल्लेख गर्दै भारतीय प्रशासनले गरेको सर्कुलेशनमा ४० टन भन्दामाथिका मालवाहक सवारी साधनलाई वीरपुर हुँदै नेपाल पठाउन निर्देशन दिइएको छ ।

कूटनीतिक पहल गर्न नेपाली व्यवसायीको माग

बिराटनगरका उद्योगी व्यवसायीहरुले पुल निर्माणका लागि आग्रह गरिरहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । मिरगञ्ज पुल व्यापारिक लाइफलाइन भएकाले यसको पुनर्निर्माणका लागि नेपालले सरकारले कूटनीतिक पहल गर्नुपर्ने मुन्दडाको भनाइ छ ।

जीर्ण अवस्थामा रहेको पुलबाट तत्कालका लागि ४० टन सम्मका सामग्री भित्रिए पनि दीर्घकालीन समस्याको समाधान खोज्नुपर्ने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनास बोहरा बताउँछन् ।

पुल जीर्ण भएका कारण विकल्पका रुपमा नयाँ पुल निर्माण नभएसम्म निरन्तर समस्या भोग्नुपर्ने अवस्था रहेको बोहोराको भनाइ छ ।

नेपालको दोस्रो ठूलो नाका हुँदै भित्रिने मालवाहक सवारी साधनलाई भारतीय पक्षले पुलको कारण देखाउँदै अवरोध गर्दै आएको र दुबै देशको व्यापारको महत्वपूर्ण हिस्सा ओगटेको पुल पुननिर्माण नहुँदा वर्षेनी समस्या भोग्नु परेको बोहरा बताउँछन् ।

‘बेलीब्रिज अस्थायी विकल्प मात्र हो, उद्योगी बोहरा भन्छन् ‘तर, दीर्घकालीन विकल्पका विषयमा बेलैमा ध्यान दिनुपर्छ ।’

केन्द्रलाई जानकारी गराइएको छ : प्रजिअ

यसैवीच मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी पुलको दीर्घकालीन विकल्पका लागि भारतीय पक्षलाई पटक–पटक आग्रह गरिएको बताउँछन् ।

वर्षौं पुरानो पुलको विकल्पका लागि कूटनीतिकरुपमा पहल गर्न केन्द्रमा जानकारी गराइएको प्रजिअ केसीले अनलाइनखबरलाई बताए ।

निर्माणाधीन बथनाह–बिराटनगर रेल्वे परियोजना समयमा नै सञ्चालन भए पुलको विकल्प हुने प्रजिअ केसी बताउँछन् । तर, रेल्वे परियोजनाको टुंगो नभएका कारण तत्कालको विकल्पका रुपमा सुनसरीको भान्टाबारी नाका प्रयोग गर्न सकिने प्रजिअ केसीको भनाइ छ ।

भारतीय पक्षले पनि तत्कालका लागि भाण्टाबारी नाका प्रयोग गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment