Comments Add Comment

साताका पाँच पुस्तक : बढ्यो गैरआख्यानको बजार

केही समय अघिसम्म साहित्यका पुस्तक भन्नु नै आख्यान मात्र भन्ने भान पार्ने प्रयास गरिएको  थियो । पाठकहरुले पनि साहित्यिक पुस्तक भन्नेवित्तिकै कथा र उपन्यास नै बुझ्दथे । कविताको पुस्तक बिक्री नहुने र अन्य विधाका पुस्तकको चर्चा नहुने कारणले पनि यस किसिमको मान्यता विकास हुन थालेको थियो ।

आजभोलि पुस्तकको बजार सच्चिँदै गएको छ । बजार सच्चिनुमा आख्यानका पुस्तकले भन्दा गैरआख्यानका पुस्तकको बिक्रीले काम गर्न थालेको छ । गैरआख्यानका पुस्तकको बजार बढेसँगै प्रकाशन गृहहरुले बजारमा गैरआख्यानका पुस्तकको छपाइ तीव्र बनाएका छन् । बर्षौदेखि थन्किएका गैरआख्यानका पाण्डुलिपिहरुले समेत बजारको मुख देख्ने अवसर पाएका छन् ।

यो साता प्रकाशन भएका पुस्तकहरु मध्ये गैरआख्यानले महत्व पाउनुमा सायद यही कारण हुनसक्छ ।

आँधीको मनोरम नृत्य

नेपाली साहित्यमा नाटकका पुस्तक निकै कम प्रकाशन हुने गरेका छन् । अझ मञ्चनयोग्य नाटकहरुको अभाव त निकै ठूलो छ ।

नाट्कयर्मी घिमिरे युवराजले यही कमीलाई पूरा गर्न नाट्यपुस्तक प्रकाशन गरेका छन् । नाटकमा बालबालिकाको रुचि बाहिरका कुरा राखेर पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीलाई पढ्ने वातावरण नदिएको विषयलाई केन्द्रमा राखिएको छ । पुस्तकले शहरी क्षेत्रका बालबालिकाको बद्लिँदै गएको मनोदशा र परम्परागत शिक्षामा जोड दिइरहेका शिक्षाविद्हरुको द्वन्द्व प्रस्तुत गरेको छ । समाज र परिवारले विद्यार्थीको मनोविज्ञान नबुझ्दा हुने गम्भीर दुर्घटनाको दायित्व कसले लिने भन्ने प्रश्न पनि पुस्तकले उठाएको छ ।

लोकतन्त्र र समाजवाद

डा. शोभाकर पराजुली समाजवादी शासनप्रणालीका भिन्नभिन्न पक्षमा कलम चलाइरहने लेखक हुन् । नेपाली कांग्रेसका नेतासमेत रहेका पराजुली कम्युनिस्ट शासन प्रणालीका कट्टर आलोचक हुन् । उनको नयाँ पुस्तक ‘लोकतन्त्र र समाजवाद’ मा यी दुवै विषयहरु अझ गहन भएर आएको  छ ।

पुस्तकभित्र रहेका धेरैजसो शिर्षकहरु यसअघि नै विभिन्न पत्रपत्रिकामा आएका लेखहरुलाई सामान्य सम्पादन गरेर राखिएको छ । केही लेखहरु रेडियो र टेलिभिजन अन्तरवार्तामा आधारित छन् । पुस्तकको रोचक पक्ष के भने हरेक शीर्षकमा चोटिला उदाहरण, ऐतिहासिक सन्दर्भ र अनौठा तथ्यहरु समावेश गरिएको छ । पुस्तकलाई बीपी कोइरालाले कल्पना गरेको नेपाली मोडलको समाजवादलाई बुझाउने प्रयास गरेको दाबी गरिएको छ ।

नेपाली साहित्यको इतिहास

हुन त नेपाली साहित्यको इतिहास नलेखिएका होइनन् तर यो व्यवस्थित एवं वस्तुपरक छैन । धेरै लेखकले नेपाली साहित्यको इतिहास लेख्दा परम्परागत शैली पच्छ्याएका छन् ।

तर जगदम्बा प्रेसले निकालिरहेको नेपाली साहित्यको इतिहासलाई व्यवस्थित र तथ्यगत बनाउने प्रयास गरिएको छ । यसअघि नेपाली साहित्यको इतिहासको पहिलो भाग प्रकाशन गरिसकेको जगदम्बाले दसैं खुराकको रुपमा यसको दोस्रो भाग प्रकाशन गरेको छ ।

पुस्तकमा नेपाली साहित्यको प्राथामिक काल र माध्यमिक काललाई प्रस्तुत गरिएको छ । यसलाई लोक साहित्य र अनुवाद साहित्यसमेत जोडेर तत्कालीन इतिहासको साङ्गोपाङ्गो चित्र प्रस्तुत गर्ने जमर्को पनि गरिएको छ । प्रधानसम्पादक डा. माधवप्रसाद पोखरेलको महेनत पुस्तकमा प्रष्ट देख्न सकिन्छ ।

प्रणयपथ 

प्रेम कविताहरुको सङ्ग्रह प्रणयपथ बालिका थपलियाको नविनतम कृति हो । प्रेमका विषयलाई प्रधानता दिए पनि सङ्ग्रहमा राजनीति, मानवता र प्राकृतिक सौन्दर्यका बिम्बहरुले प्रेमका परिभाषालाई फराकिलो बनाएका छन् । सङ्ग्रहले देश प्रेम, मानवप्रेम र प्रकृतिप्रेमलाई समेटेको छ । पुस्तकमा सय वटा कविता समावेश गरिएका छन् ।

प्रिय साथी

गायकको पनि परिचय बनाएका लेखक निर्दोष जीवनले अर्का गजलकार पदमराज ढकालसँग मिलेर प्रिय साथी नामक गजल सङ्ग्रह प्रकाशित गरेका छन् । गजल मञ्च चितवनले प्रकाशन गरेको उक्त पुस्तकमा गेय र वाचक दुवै किसिमका गजलहरु परेका छन् । पुस्तकमा बहर मिलेका गजलहरुको सङ्ख्या भने निकै कम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment