२६ भदौ, काठमाडौं । आजका पत्रिकाहरुमा गृहमन्त्री रामबहादुर थापा (बादल)का भाइ पक्राउ परेकोदेखि चीन-अमेरिका द्वन्द्वमा नेपाल परेकोसम्मका समाचारहरु प्राथमिकताका साथ छापिएका छन् ।
साथै १८ करोड कर मिनाहा गराउन परराष्ट्र मन्त्रालयको चलखेलबारे पनि समाचार आजका पत्रिकामा पढ्न पाइन्छ ।
कान्तिपुर दैनिकले फिरौती असुलीमा गृहमन्त्री रामबहादुर थापा बादलका साहिँला भाइ नरेश थापा पक्राउ परेको मुख्य समाचार छापेको छ ।
कान्तिपुरका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान बस्नेतले जेलभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि त्यसको अनुसन्धान गर्दै जाँदा गृहमन्त्रीका भाइ नरेश पनि पक्राउ परेका हुन् । समीरका सहयोगीहरु पवन खड्का र सुरेन नगरकोटी पक्राउ परेपछि उनीहरुको कल डिटेल हेर्दा गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदान प्रदान भएको देखिएको स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।
कान्तिपुर लेख्छ, ‘अनुसन्धान अधिकारीले यो मिलेर काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् । सीआईबी स्रोतले ती अभियुक्तहरुसँग बारम्बार सम्पर्कमा रहेर बसेको भेटिएपछि नरेशलाई पक्राउ गर्नुपरेको उल्लेख गर्यो ।’
अन्नपूर्ण पोष्ट दैनिकले चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासेफिक रणनीति (आईपीएस)लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा मागेको समाचार छापेको छ । चिनियाँ विदेश मन्त्रालयले नेपालसँग इन्डोप्यासेफिकका विषयमा कुराकानी भएको र नेपाल त्यसको विपक्षमा रहेको जानकारी वेबसाइटमा राखेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा मागेको हो ।
अमेरिकी दूतावासका प्रवक्ता एन्डी डे अर्मेन्टले भनेकी छन्, ‘चिनियाँ वक्तव्यप्रति हामी नेपालको औपचारिक धारणा पर्खिरहेका छौं । हामी बेइजिङस्थित अमेरिकी दूतावासमार्फत पनि यो धारणा बुझ्ने काम गरिरहेका छौं । चिनियाँ विदेश मन्त्रालयले राखेको धारणा सत्य हो चिन्ताको विषय हो ।’
वेबसाइटमा विदेश मन्त्रालयले चिनियाँ भाषामा सबैको धारणा समेटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगका दुईपक्षीय छलफलका विषय भने अंग्रेजीमा छ । पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा र नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा पनि चिनियाँ भाषामै छ ।
अन्नपूर्ण लेख्छ, ‘बुधबार अबेरसम्म उनीहरुका धारणा वेबसाइटमा संग्रहित छन् । उनीहरुको धारणालाई अनुवाद गर्दा आईपीएसले चिनियाँ सहकार्य रोक्ने खोजेको शैलीमा सत्तारुढ दलका अध्यक्ष दाहालको धारणा आएको देखिन्छ ।’
नागरिक दैनिकमा सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई कर मिनाहा दिने तयारी गरेको समाचार छ । नागरिक लेख्छ, ‘आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी प२४ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ । तर कानुनले तोके पनि १० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन् । अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको छ ।’
हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज


 
  
  
  
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4