Comments Add Comment

प्रदीप यादव भन्छन्- पाइपलाइन मिसन पूरा भयो, अब मीठो निद्रा लाग्छ

२६ भदौ, अमलेखगञ्ज (बारा) । नेपाल-भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको तामझामपूर्ण ढंगबाट उद्घाटन भइरहँदा नेपाल आयल निगमका प्रदीप यादवको अनुहारमा दुईथरी भाव एकैसाथ प्रकट भइरहेका थियो । उद्घाटन कार्यक्रमलाई सफल बनाउने तनाव एकातर्फ थियो भने अर्कोतिर आफूले महत्वपूर्ण भूमिका खेलेको परियोजनाले साकार रुप लिएको आत्मसन्तुष्टि पनि देखिन्थ्यो ।

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको पाइपलाइन आयोजनाका अगुवा हुन् यादव । निगमको प्रादेशिक संरचना अनुसार प्रदेश २ का निर्देशक उनी तीन वर्षअघि अमलेखगञ्ज डिपोमा सरुवा भएर गएका थिए । त्यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निगम कार्यालयमा थिए ।

विमानस्थलमा देखाएको कार्यकुशलताका कारण पनि निगमले उनलाई विश्वास गरेर पेट्रोलियम पाइपलाइन परियोजनाको नेतृत्व सुम्पेको थियो । नतिजा निकाल्न सक्ने अब्बल कर्मचारी भनेर उनी निगमभित्र लोकप्रिय छन् ।

आयोजना निर्माण अवधिमा भारतीय पक्षले राख्ने अनेकखाले सर्तमा आफ्नो उपाय लगाएर समस्या समाधान गर्न यादव सक्षम बनेको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेल बताउँछन् ।

कम बोल्न रुचाउने यादव परियोजनाको सफलतामा आफ्नो जस खोज्न चाहँदैनन् । उनी सबैको समन्वय र र सहकार्यमा यो सफल बनेको बताउँछन् ।

‘मैले के बुझेँ भने स-साना समस्यालाई माथि लगेर अल्झाएर समय बर्बाद गर्नुभन्दा स्थानीय पक्षसँग सम्वाद गरेर नै समाधान निकाल्न सकिने रहेछ । यसबाट एकातर्फ समयको बचत हुने भयो, अर्कोतर्फ कामले निरन्तरता पाउने भयो,’ यादव भन्छन् ।

नेपाली सेना, नेपाली प्रहरी, स्थानीय प्रशासन सबैको सहयोगबाट आयोजना सम्पन्न भएको उनले बताए । एउटा घटना सम्झँदै भने, ‘एक दिन जितपुर बजारमा पाइप गाड्नुपर्ने काम थियो । पूरै बजार दिनभरि बन्द गर्ने अवस्था भयो । तर, जनताले साथ दिए । हामीले गरेको आग्रह मानेर उहाँहरुले आफ्नो ब्यापार व्यवसाय बन्द गरिदिएर सहयोग गर्नु भयो ।’

उनी सानातिना निर्णय आफैं गर्थे भने अलि महत्वपूर्ण कामका लागि निगम नेतृत्वसँग फोनबाट अनुमति लिने गर्थे । भारतीय ठेकदारको सुरक्षा गर्दै एक दिन पनि उनीहरुलाई कामविहीन बनाउन नपरेकोमा उनले सन्तुष्टि व्यक्त गरे ।

‘निगमको केन्द्रीय कार्यालय, भारतीय आयल निगम तथा ठेकदारका तर्फबाट धेरै भिजिटहरु हुन्थे । बिहान ७ बजेदेखि राति ११ बजेसम्म पनि ब्यस्त भइन्थ्यो, समय गुज्रेको पत्तै हुँदैनथ्यो’ यादव भन्छन् ।

पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा काम गर्दा बिहान ७ बजेदेखि राति ११ बजेसम्म पनि जंगलभित्रै बसेर काम गरेको अनुभव उनीसित छ ।

‘आज कार्यक्रम भव्यताकासाथ सम्पन्न भयो । धेरै दिन भएको छ मैले पूरा निन्द्रा नसुतेको । अबको एक घण्टापछि म सुत्न जान्छु । सायद मीठो निन्द्रा आउँछ,’ उनी भन्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment