Comments Add Comment

शिशु बिक्री प्रकरणः बाल संगठनका निर्देशक जेल चलान

प्रमाणपत्र बनाइदिने ३ चिकित्सक साधारण तारेखमा छुटे

२९ भदौ, काठमाडौं । बलात्कृत बालिकाबाट जन्मिएको शिशुलाई विक्री गरेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोललाई जेल चलान गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डंगोललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । डंगोललाई काठमाडौं प्रहरीले २९ साउनमा पक्राउ गरेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार डंगोललाई केही दिनअघि अदालतले थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार चलान गरिएको छ ।

उनका अनुसार डंगोलमार्फत ११ लाखमा शिशु खरिद गरेर बेलायत लान खोज्ने डोना स्मिथलाई पनि प्रहरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

गर्भपतन गराउन पुगेकी बालिकालाई प्रसुति गृहसम्म पठाएको आरोप लागेकी कलंकीको सञ्जीवनी बर्थिङ सेन्टरकी स्टाफ नर्स निर्मला मगरलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

यो पनि पढ्नुहोस बलात्कृत बालिकाबाट जन्मिएको शिशु ११ लाखमा बेच्ने प्रयास

निर्मलाले डंगोलसम्म त्यो सूचना पुर्‍याएवापत पीडितलाई दिन्छु भनेर १ लाख ३५ हजार रुपैयाँको चेक लिएको अनुसन्धानका क्रममा देखिएको थियो । तर, उनले पीडितलाई २४ हजार रुपैयाँ मात्रै दिएको बयानमा खुलेको थियो ।

शिशुलाई विदेश लैजाने क्रममा गलत कागजपत्र बनाउन सहयोग गरेका ३ जना डाक्टरले भने उन्मुक्ति पाएका छन् । प्रहरीले पनि उनीहरुलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा चलाएको थियो ।

उनीहरुलाई अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment