Comments Add Comment

आमा र छोरी : एक ममतामयी नाता

आमा । यो शब्दले जो-कोहीको हृदयमा स्नेह र श्रद्धा भरिदिन्छ । एक बृद्धले पनि जसै आफ्ना आमाको स्मरण गर्छन्, उनको आँखा रसिलो हुन्छ ।

आमा एक संरक्षक र ममताको स्रोत हुन् । आमाको प्रेममा न स्वार्थ हुन्छ, न अपेक्षा । यस्तो प्रेम अरुबाट सायदै मिल्छ । त्यही कारण त आमाको प्रेममा हामी सजिलै पग्लिन्छौं । अतः आमा र छोरीको सम्बन्ध अरु गहिरो हुन्छ । किनभने छोरीका लागि आमा एक आमा मात्र होइनन्, घनिष्ठ साथी पनि हुन् ।

आमा एक आदर्श

जब छोरी सानी हुन्छे, आमालाई उनले आफ्नो आदर्श बनाउँछे । आमाको जस्तै लुगा लगाउन रुचाउँछिन्, आमाको जस्तै शृंगार गर्न रहर गर्छिन्, आमाले जस्तै खाना पकाउन रुची राख्छिन् । खासमा आमा जस्तै बन्न चाहन्छिन् । आमालाई हेरेर उनले आफ्नो भविष्यको कल्पना गर्छिन् । सधै आमाको काखमा लुटपुटिएर बस्न मात्र होइन, आमाकै काममा सघाउन पनि थाल्छे ।

हो त, छोरी जति हुर्कदै जान्छे, आमाको कामको बोझ पनि घट्दै जान्छ । किनभने आमाले सम्हाल्ने जिम्मेवारी छोरीले वहन गर्न थाल्छे । छोरीले चिया पकाउँछिन्, कुचो लगाउँछिन्, जुठो भाँडावर्तन माझ्छिन्, लुगा धुन्छिन् । यसरी छोरी सधै आमाको सहयोगी बन्छिन् । आमाको बोझ छोरीले बोकिदिन्छे ।

आमा एक साथी

छोरी हुर्कदै जादा उनमा अनेकन शारीरिक परिवर्तन आउन थाल्छ । मानसिक र शारीरिक परिवर्तनको त्यो संघारमा छोरीले आमाकै साथ खोज्छिन् । आफ्नो शारीरिक परिवर्तनबारे उनले आमासँगै आफ्नो भावना व्यक्त गर्छिन् । आफ्नो अप्ठ्यारो, जटिलताहरु आमाकै अगाडि राख्छिन् । आमाले छोरीको मर्का बुझेकी हुन्छिन् । छोरीको अवस्था र मनोभाव बुझेकी हुन्छिन् । त्यस्तो अवस्थामा कसरी सम्हालिने भनेर आमाले नै छोरीलाई सान्तवना दिने गर्छिन् । छोरीले प्रजनन स्वास्थ्यको कुरा आमासँगै नै गर्छिन् । आफ्नो भित्री वस्त्रको लागि पनि आमासँग सल्लाह लिन्छिन् । यसरी आमा र छोरी एकअर्काको साथी बन्छन् । अभिन्न साथी ।

छोरीको निम्त आमा एकमात्र यस्ता पात्र हुन् जोसँग नितान्त व्यक्तिगत कुरा पनि खुलेर गर्छन् । आफ्नो भावना आमाकै अगाडि व्यक्त गर्छन् । आफ्नो प्रेम जीवनबारे पनि आमासँग नै कुरा गर्न सक्छन् । भनौं, आमा नै छोरीको एकमात्र विश्वासिलो र अति नजिकका साथी हुन्छन् ।

आमा एक गुरु

खासमा आमा नै छोरीकी गुरु पनि हुन् । आमाले छोरीलाई सही मार्गदर्शन दिएर हुर्काउँछिन् । आफ्नो संस्कार सिकाउँछिन् । पाककला सिकाउँछिन् । पहिरन र शृंगारको ज्ञान दिन्छिन् । नयाँ नयाँ सीप सिकाउँछिन् ।

प्रेमले लुटपुटिएकी आमा

तर, हाम्रो परम्परा अनुसार छोरी सधै आमाको साथमा रहँदैनन् । छोरीको विवाह हुन्छ । उनले अर्कैको घरलाई आफ्नो बनाउनुपर्ने हुन्छ । अर्कैको घर सम्हाल्नुपर्ने हुन्छ । यसरी आमा र छोरीवीच भौगोलिक दुरी बढ्छ । आमा एकातिर, छोरी अर्कोतिर हुन्छ ।

भौगोलिक हिसाबले जतिसुकै टाढा भएपनि उनीहरुको माया भने अरु गाढा हुन्छ । एकसाथ रहँदा आमा र छोरीबीच जति गहिरो सम्बन्ध थियो, त्यो भन्दा कम हुँदैन अलग भइसकेपछि पनि । भनिन्छ नि, छोरीलाई माइतको कुकुर पनि प्यारो हुन्छ । वास्तवमा छोरीलाई आमाप्रतिको प्रेमले पनि आफ्ना माइती सधै प्यारो लाग्छ ।आफुलाई दुःख पर्दा उनले आमालाई सम्झन्छन् । आफुले खुसी प्राप्त गर्दा पनि आमालाई सुनाउन आतुर हुन्छन् । चाहे उनी जतिसुकै सुख-सयल भोग गरिरहेको किन नहोस्, यद्यपि आफ्नो आमालाई भने हरक्षण नै मनमा राखिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment