+
+
Shares

मैलुङ-स्याफ्रुबेसी राजमार्ग सुधार खर्च १० लाख 

रासस रासस
२०७६ असोज २ गते १४:५८

२ असोज, रसुवा । मैलुङ-स्याफ्रुबेसी अन्तरराट्रिय राजमार्ग मर्मतमा भएको खर्च सार्वजनिक गरिएको छ । गल्छी, त्रिशूली, मैलुङ र स्याफ्रुबेंशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार आकस्मिकरूपमा खोलिएको उक्त राजमार्गको अवरोध हटाउन प्रयोग भएका उपकरणको भाडाबाहेक करीब रु १० लाख खर्च भएको हो ।

हिमपाइप खरीदमा रु पाँच लाख २५ हजार, उपकरणका लागि प्रयोग गरिएका इन्धनका लागि रु दुई लाख पचास हजारका साथै ग्याविन जाली र विविधमा बाँकी खर्च भएको उनको भनाइ थियो । तुलनात्मक हिसाबले प्रतिकिलोमिटर रू ५२ हजार ६३१ खर्च भएको बताइएको थियो ।

उक्त खर्च बाहेक राजमार्ग पुनःसञ्चालनका लागि सांसद मोहन आचार्यले एक स्काभेटर र एक लोडर, गोसाइँकुण्ड गाउँपालिकाले एक स्काभेटर, संविधानसभा सदस्य जनार्दन ढकालले एक जेसिबीका साथै रसुवागढी हाइड्रो पावर कम्पनी र डिभिजन सडक कार्यालयले एक÷एक वटा लोडरका लागि सहयोग गरेका आयोजना प्रमुख भण्डारीले बताए ।

धुञ्चेतर्फ पासाङल्हामु राजमार्ग खण्डको राम्चे नजिक पहिरो गई सवारी साधन पूर्णरूपमा आवतजावत बन्द भएकामा संसद्लगायत स्थानीय तह र स्थानीय प्रशासनसमेतको आग्रहमा चार दिनको साझा प्रयासले गत भदौ ३१ गतेदेखि उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

राजमार्ग खुलेलगत्तै रोकिएका करीब २ सयको हाराहारीमा मालवाहक ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसके पनि ती सवारी साधनका पाङ्ग्रा गाडिन थालेकाले बिहीबार मध्याह्नदेखि पासाङल्हामु राजमार्ग बन्द गरिएकाले राम्चेतर्फको बैकल्पिक मार्ग खुल्ने प्रतिक्षामा सवारी चालक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

रसुवागढीलाई व्यवस्थित पार्न र त्रिदेशीय मार्गका रूपमा विकसित गर्न खोलिएको गल्छीदेखिको नदी किनार राजमार्गको दूरी भने ८२ किलोमिटर छ । आयोजना प्रमुख भण्डारीका अनुसार पछिल्लो नापमा गल्छी त्रिशूली २५, त्रिशूली बेत्रावती आठ, बेत्रावती मैलुङ १३, मैलुङ स्याफ्रुवेंशी १९ किलोमिटर र स्याफ्रुवेंशी रसुवागढी १७ किलोमिटर कायम गरिएको छ ।

सडक सुधार आयोजनाअन्तर्गत गल्छीदेखि स्याफ्रुवेंशीसम्म सुधार गरिने र गल्छीदेखि मैलुङसम्म टेण्डर प्रक्रियाबाट ‘डबल लेन’को बनाउने काम भइरहेको छ । १९ किमी सो मार्ग सुधारका लागि रु दुई अर्ब ५० करोड लाग्नेसमेत आयोजना प्रमुख भण्डारीले जानकारी दिए । यस्तै दुई दिन अगाडि पुनःसञ्चालनमा ल्याइएको मैलुङ स्याफ्रुवेंशी राजमार्गका लागि पछि सोधभर्ना गर्ने गरी रसुवागढी हाइड्रो पावरले डिजेल, सिँचाइ कार्यालयले तार जाली उपलब्ध गराएको थियो

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?