Comments Add Comment

मर्न हिँडेको मान्छे !

६ असोज, काठमाडौं । ‘म त मर्न हिँडेको मान्छे’, तिलबहादुर कार्की खुट्टा समाउँदै फ्याट्ट बोल्छन् । घुँडाभन्दा तल सुकेको छ । पाइतला विपरीत दिशातर्फ फर्किएका छन् । दुई पाइतालामा १२ औँला छन् ।समाउने हातका पञ्जामा पनि १२ औँला । पैतालाले भुँई टेक्न सक्दैनन् ।

नौ वर्षमा मर्न हिँडेको मान्छे १२ वर्षदेखि गोकर्णमा ज्वाइन्ट डीसएवल युनिटी आवाज सेन्टर हाँकेर बसेको छ । ४९ अविभावकविहीन बालिबालिकाले तिलबहादुरलाई ‘बा’ भन्दै बोलाउँछन् । उनीहरु एल अकारको टिनको छानामुनि बस्छन् । हेर्दा स्कुलजस्तै देखिन्छ । यो स्कुल नभएर घर हो । तिलबहादुरको सबथोक ।

अहिले, तिलबहादुर पनि यहीँ छन् । गेटबाट छिरेपछिको पहिलो कोठा । यो उनको बेडरुम हो । बेडरुमको पर्खाल पुरस्कार र सम्मानपत्रले भरिएको छ । सिरानीको छेउनेर ह्वीलचियर छ । तिलबहादुर ह्वीलचेयरलाई नियाल्दै भन्छन्, ‘यस्तो गरिन्छ भनेर कहाँ सोचेको थिएँ र । म त मर्न हिँडेको मान्छे पो ।’

त्यतिबेला मर्न नहिँडेको भए कहाँ सहाराविहीनको सहारा बन्न सक्थे र तीलबहादुर । ‘म त्यो गाउँबाट नहिँडेको भए, गाउँलेले कुटेर पनि मार्न सक्थे’, यो उनको अनुमान हो ।

यसबीचमा तिलबहादुरले मर्छु भन्दै उडुसको औषधी नचाखेका होइनन् । तर, मुखमा पर्नासाथ उनले लामै समय वान्ता गरे । त्यसपछि मुखमा त्यो औषधी राख्ने आँट नै आएन

तर, यो ४७ वर्ष बाँच्न उनले थुप्रै रुपहरु बदल्नुपर्‍याे । यस्ता रुपहरु कि आम मानिसलाई पत्याउन गाह्रो पर्छ । उनी खुट्टा खुच्याउँदै जहाँसम्म आइपुगे, त्यहाँसम्मका यात्रा सम्झँदा तिलबहादुर आफैंलाई विश्वास लाग्दैन । र, ती सम्झनाले उनको आँखालाई शान्त रहन सक्दैन ।

०००

तिलबहादुर आफैं हिँड्न सक्दैनथे । कसैले अडाइदिनुपथ्र्यो । खुट्टाले टेक्नै सक्दैनथ्यो । यसमा उनको के दोष ? उनकी आमा हर्कमायाको के दोष ? तर, समाजले दोषजति उनकी आमामाथि थोपर्‍याे ।

समाजकै डरले आमाले एक वर्षसम्म तिलबहादुरको अनुहार मात्र देखाइन् । तर, एकदिन त वास्तविकता छताछुल्ल हुन्थ्यो नै । त्यही दिनदेखि समाजले भन्न थाल्यो, ‘अलच्छिनी ।’

तिलबहादुर र उनकी आमाले घरमा बास पाइनन् । गोठको गाईभैंसीसँगै पालीमुनि रात कटाउनुपर्‍याे ।

हर्कमाया एकाविहानै पधेरोँमा पानी भर्न जान्थिन्, त्यहीँ मुखभरिको जवाफ सुनेर आँखाभरि पानी बोकेर आउँथिन् । कति गाउँलेले भनेको उनका कानले नै सुनेका थिए, ‘यो अलच्छिनाका आमाछोरालाई गाउँ कटाउनुपर्छ ।’

जब तिलबहादुरले थाहा पाउने भए, आमाको आँखा कहिल्यै ओभानो देखेनन् । हुन्, त तिलबहादुरका हजुरबा पञ्चायतका अध्यक्ष थिए । उनीहरुले आफ्नी आमालाई ढाडस दिएको कहिल्यै सुनिनन् ।

तिलबहादुर स्कुल जाने उमेरका भए । आमाले एकाबिहानै मकै भटमास भुटेर झोलामा राखिदिइन् । त्यसदिन तिलबहादुरको शरीरमा नयाँ कपडा थियो । हर्कमायाले स्कुल पुर्‍याइदिइन् । दुर्गा माध्यमिक विद्यालय, झापा ।

स्कुलमा साथीहरु उनीसँग तर्कन थाले । कतिले उनको टोपी खोसेर सिँगान पुछिदिए । तानेर कपडा नै च्यातिदिए । उनी नजिकै आएर साथीहरुले भन्थे, ‘ओए, योसँग छोइनुहुँदैन । फेरि हामी पनि यस्तै हुन्छौँ रे, आमाले भन्नुभएको ।’

बेलुकी घाम अस्ताएपछि तिलबहादुरकी आमा स्कुलमा झुल्किइन् । आमालाई देख्नासाथ उनी जोड–जोडले रोए । आमाले आँशु पुछ्दै घरसम्म पुर्‍याइन् ।

एकदिन तिलबहादुरले भने, ‘म एक्लै स्कुल जान्छु ।’ उनले कालोपाटीसँगै एउटा बोरा बोके । बोरामा खुकुरी, कम्बल र उडुस मार्ने औषधी पनि राखे । लड्खडाउँदै स्कुल नजिकै पुगे । नजिकै उनले बोरा र सामाग्रीहरु लुकाए । अनि स्कुल प्रवेश गरे ।

उनीमाथि साथीहरुको अत्याचारको सीमा नाघेको थियो । छुट्नै बस्नुपथ्र्यो । हाफछुट्टीमा कतिले ढुंगाले हान्थे, कतिले टोपी र हात्तिछाप चप्पल खोसेर फालिदिन्थे ।

चार बज्यो । छुट्टी भयो । सबै घर फर्किए उनीचाहिँ फिरेनन् । नजिकै लुकाएको बोरा बोके र बाटो लागे । ‘मेरी आमाले कति दुःख पाउनुभयो । गाउँलेले हामीलाई देखी नसहने’, उनी नोस्टाल्जिक बन्छन्, ‘योभन्दा त मै मरेपछि मेरी आमालाई सुख होला भनेर म मर्न हिँडें ।’

हिँड्नु तिलबहादुरको लागि सहज थिएन । तैपनि कनीकुथी पाइला सारिरहे । कहाँसम्म पुगिन्छ, उनलाई थाहा थिएन । तर, एउटा कुरा निश्चित थियो, पक्कै मरिन्छ ।

तर, मर्न कहाँ त्यति सजिलो छ र ! रात छिप्पिसकेको थियो । उनी हिँड्न सकेनन् । रुँदै एउटा घरमा पुगे र भने, ‘मलाई बस्न दिनुस् ।’ उनले बास पाए । खाना पनि ।

अर्को दिन कोही नउठ्दै बाटो लागे । हातमा लौरो थियो, काँधमा बोरा । त्यो दिन पानीको भरमा बित्यो । तर, साँझपख उनले रमाइलो दृश्य देखे ।

बिहे पो रहेछ, खुब रमाइलो गरिरहेका थिए । उनले तगारोमा बसेर टुलटुल हेरिरहे । एकजनाले टपरीमा भात लिँदै भने, ‘विचरा यस्तो मान्छे रहेछ ।’

तिलबहादुरले एक टपरी भात एकै सासमा खाए । त्यो हुलमा बास माग्ने आँट उनीमा थिएन । पेट टम्म गराएर हिँडे । एउटा झाडीलाई सहारा बनाएर रात बिताए ।

बाफ्रे झाडीमा सुत्न डर लाग्ने । अहिले तिलबहादुरको मुखबाट प्रश्न जन्मिन्छ, ‘मर्न हिँडेको मान्छेलाई केको डर ?’

यसबीचमा तिलबहादुरले मर्छु भन्दै उडुसको औषधी नचाखेका होइनन् । तर, मुखमा पर्नासाथ उनले लामै समय वान्ता गरे । त्यसपछि मुखमा त्यो औषधी राख्ने आँट नै आएन ।

उनी यसैगरी हिँडिरहे । हिँड्डा हिँड्दा खुट्टा रगतपच्छे भए । र, पनि रोकिएनन् । कहिले घर नै भेटिँदैनथ्यो । जंगलै जंगल हिँड्थे । भोकै सुत्थे । ‘कहिले खोलामा मान्छे पोल्दै गरेको देख्थे । त्यहीँ खान पाउँथे’, उनी कल्पनाजस्ता वास्तविकताबारे बताउँदैछन्, ‘चियानघारीमा पनि सुतेँ । मर्छु भनेर मात्र मरिँदो रहेनछ ।’

मर्न हिँडेको मान्छे त झापा दमकमा पो आइपुगे ।

दमक आइपुगेपछि उनले एउटा बस देखे । मान्छेहरु भन्थे, ‘राजाको गाउँ जाने बस ।’

तिलबहादुरलाई पनि राजाको गाउँ जान मन लाग्यो ।

बस रोकेको बेला उनी पछाडिबाट सिँधै छतमा सुटुक्क उक्लिए र त्रिपालमुनि गुजुमुज्ज परे । घाँटी भिजाउने पानीसम्म थिएन । र, पनि उनी काठमाडौं आइपुगे । सहायक चालकले भन्दै थिए, ‘पुरानो वसपार्क रत्नपार्क, पुरानो बसपार्क रत्नपार्क ।’

सबैजना गाडीबाट ओर्लिएजस्तो लाग्यो । उनी पनि बल्लतल्ल भुँईमा झरे । ‘त्यतिबेला मात्र सहचालकले देखे’, उनी सम्झन्छन्, ‘यो केटालाई त कतै देखेजस्तो लाग्यो भन्दै थियो, म टाँप कसिहालें ।’

तिलबहादुरलाई काठमाडौं आइपुगेको मिति याद छ, ‘२०३८ साल पुस १५ गते ।’

अहिले १२ पास गरेर एक टोली विद्यार्थी संस्थाबाट निस्किसकेका छन् । जसलाई तिलबहादुरले जागिर दिलाएका छन् । बेला–बेला तीन पांगे्र स्कुटर चढेर तिलबहादुर उनीहरुलाई भेटन् पुग्छन् । असल मान्छे बन्न सुझाइरहन्छन्

ठूलठूला घरहरुले उनको दिमाग रन्थन्याएको थियो । बाटाको दृश्यले उनलाई अर्कै लोकमा प्रवेश गरेजस्तो लाग्यो । बोरा बोकेर बाटोमा खच्याउँदै गर्दा उनले सुने, ‘पशुपति गौशाला, पशुपति गौशाला ।’

तिलबहादुरलाई पनि पशुपति गौशाला जान मन लाग्यो । तर, असैह्य भोकले उनको डेक नै चलेको थिएन । बानेश्वर पुगेछन् । निकै ठूलो घर देखे बानेश्वरमा । एकछिन त्यो घरलाई हेरे अनि त्यहीँ पछाडिको एउटा सानो होटेलमा छिरे । अनि भने, ‘खान दिनुस् न !’

साहुजीले ढोकाबाट घचेट्दै भने, ‘खाएर भाँडा माझ्न सक्लास् जस्तो पनि छैन । उता जा… ।’

उनी रुँदै पशुपतिको खोजीमा लागे ।

उनले गज्जबका सफा कपडा लगाएको जमातलाई देखे । त्यही दिन स्थापना भएको रहेछ वडा प्रहरी कार्यालय गौशाला । भोज चल्दै थियो, । उनले एकजनाको अगाडि पुगेर सोधे, ‘पशुपति काँ हो ?’ उसले पनि प्रश्न गर्‍याे, ‘तिम्रो घर काँ हो ?’

तिलबहादुरले भने, ‘मेरो कोही पनि छैन ।’ प्रहरीले उनलाई लड्डु दियो । र, भन्यो, ‘उ त्यो पशुपति जाउँ, खान लाउन पाउँछौ । भक्तजनले पैसा पनि दिन्छन् ।’

तिलबहादुर बाटो लागे । नजिकै खोलाको किनार देखे । र, त्यहाँ मान्छे पोलिरहेका थिए । तिलबहादुर जिउँदै आर्यघाट पुगे । यो तिलबहादुरका लागि काठमाडौं दोस्रो दिन थियो । त्यहाँ उनले खान पनि पाए र सत्नु पनि । भएन त मस्ती !

०००

उनले धेरै मानिसहरु पशुपति मन्दिरअघि माग्न बसेको देखे । उनले पनि खुट्टा देखाए र घरबाट लिएको बोरा थापेर माग्न बसे ।

मान्छेहरु आउँदै फुत्त गाई पैसा खसाल्न थाले । दुई दिनमै दुई सय ५५ रुपैयाँ उनको बोरामा पर्‍याे । राति आर्यघाटको छेउमा सुतेका थिए । रातको बाह्रबजे साथीहरुले सबै पैसा खोसिदिए ।

तिलबहादुरलाई झाेंक चल्यो । अर्को रात १२ बजे जयवागेश्वरीको जंगलमा पुगे र खुकुरीले खाल्डो खन्न थाले ।

तिलबहादुर निकै रोमाञ्चक कुरा सुनाउँदै छन् ‘निकै दिन लगाएर गहिरो खाल्डो खनेँ, अनि बोरा र पैसा त्यही खाल्डोमा राखेँ ।’ अब के को डर !

समय बित्दै जाँदा तिलबहादुरको माग्ने शैली पनि विस्तारै परिवर्तन हुन थाल्यो । उनी पशुपतिको पुलपारि मन्दिरमा बस्न थालेका थिए । बिहान चार बजे नै उठेर पशुपतिको पश्चिम गेटमा पैसा माग्न शुरु गर्थे । १२ बजेपछि बजारमा पैसा माग्न हिँड्थे । कहिले ठमेल, कहिले बौद्ध, कहिले विशालनगरसम्म । पैसा माग्न कहाँ–कहाँ पुगे तिलबहादुर, आफंैलाई थाहा छैन ।

पैसा जम्मा गरेर पशुपति फर्कन्थे । अनि हातमा चरप्प अठ्याएर निदाउँथे । पैसा राख्न खाल्डोमा एक्लै पुग्थे ।

यसरी पैसा माग्दा उनका खुट्टा पाकेर फत्रक्कै हुन्थे । तर, उनी थाक्थेनन् । उनलाई अझ बढी पैसा जम्मा गर्ने चाह बढ्थ्यो । खान त पाइहाल्थे – सडे गलेको । शरीरलाई तातो, चिसोबाट पनि मरेका मानिसका कपडाले चलिहाल्थ्यो ।

उनले सोचेका थिए, ‘यो पैसाले केही राम्रो काम गरौलाँ । भेटें भने आमालार्ई दिउँला ।’ तर, पैसा कति जम्मा भयो, उनलाई थाहा थिएन ।

केही वर्षपछि तिलबहादुरले भेष बदले ।

लामो जटा पाले, कानमा मुद्रा लगाए र पहेलो, कालो कपडा पहिरिए । जोगीजस्तै बनेर जोगीहरुसँगै माग्न हिँडे । मर्न हिँडेको मान्छे यति बेला न्वरानदेखिको बल लगाएर माग्न हिँडिरहेको छ ।

यसैगरी उनले माग्न थालेको २५ वर्ष पुगिसकेछ । ०६३ सालको एकदिन उनी माग्दै बौद्ध पुगेका थिए । साँझ पर्‍याे । त्यहीँ गुम्बामा सुते ।

उनी प्रायः यसरी बाहिर बस्दैनथे । जति नै अबेर भए पनि हिँड्दै आर्यघाटमै बास बस्न पुग्थे । किनकि त्यहाँ आगो ताप्न पाइन्थ्यो ।

तिलबहादुर त्यस दिनको सपनाबारे कुरा गर्दैछन् ।

‘राति सपनामा एक जना बुढीआमा आउनुभयो र भन्नुभयो तै‌ंले अहिलेसम्म मागेर जम्मा गरेको पैसाले तँजस्तै मान्छेलाई उद्धार गर । उनीहरुलाई आश्रय दे ।’

तिलबहादुर ब्युँझिए । त्यो बिहान उनलाई अर्कै संसारमा पुगेजस्तो भयो । उनले मान्छेहरु नै अर्कै देखे । तिलबहादुर प्रायः गौशाला प्रहरीमा गइरहन्थे । त्यसदिन उनले प्रहरी कार्यालयमा पुगेर भने, ‘मैले मागेको पैसा खाल्डोमा गाडेको छु । म एक्लै निकाल्न सक्दिनँ, तपाईहरुले निकाल्दिनुपर्‍याे। त्यो पैसाले मजस्तै मान्छेलाई आश्रय दिने काम गर्छु ।’

गौशाला प्रहरी बृत्तका इन्स्पेक्टर थिए, ‘जयराज सापकोटा ।’
प्रहरी खाल्डोमा पुग्यो र पैसा निकाल्न थाल्यो । अनि प्रहरी कार्यालयमा ल्याएर गन्न थाल्यो । ‘एक र दुई रुपैयाँका नोटजति झुत्रिइसकेछन् । गाई पैसा, एक र दुई रुपैयाँका ढक थिए’, तिलबहादुर हाँस्छन्, ‘त्यो पुरै पैसा गन्न प्रहरीलाई ३ दिन लाग्यो ।’

तिलबहादुर माग्नेबाट सिधै लखपति बने । तिलबहादुरको दाबी छ– त्यसरी गनेको पैसा पैसा भयो, पाँच लाख ५१ हजार २५ रुपैयाँ थियो । यो धेरैवर्षसम्म मागेर जोरजाम गरिएको रकम थियो ।

प्रहरीले बैंकबाट पैसा साटेर लियो र तिलबहादुरका अगाडि राखिदियो । जब तिलबहादुरले त्यो बिटो देखे, सिधै ढले । थाहा पाउँदा उनी त्रिवि शिक्षण अस्पतालको बेडमा थिए । उनलाई पुरै निको हुन सात दिन लाग्यो ।

अब के गर्ने ? बैंकमा राखौँ, नागरिकता छैन । संस्था स्थापना गर्नका लागि पनि त नागरिकता चाहियो । जयराजले तिलबहादुरलाई नागरिकता बनाउन सघाइदिए । र भने, ‘यो पैसाले घर बनाउनु, परिवार जोड्नु र राम्रोसँग बस्नु ।’

(तिलबहादुरले नाम लिएका गौशालाका तत्कालीन इन्स्पेक्टर जयराज सापकोटा अहिले काभ्रेका प्रहरी प्रमुख छन् । हाल उनी नेपाल प्रहरीका एसपी हुन् । तिलबहादुर गौशाला प्रहरीचौकीमा बेलाबखत आइरहने गरेको र त्यहीँ आसपास बसेर माग्न हिँड्ने गरेको एसपी सापकोटाले सम्झिए । सानो किशोरले मागेको पैसा पशुपतिको जंगलमा राखेको छु भनेपछि आफूले एकजना प्रहरी पठाएर गन्न लगाइदिएको र सहयोग गरेको भएता पनि कति रकम थियो भन्ने आफूलाई सम्झना नभएको एसपी सापकोटाले अनलाइनखबरलाई बताए । )

००००

लखपति बनेका तिलबहादुरले आफूजस्तैलाई आश्रय दिनु थियो । त्यसका लागि संस्था खोल्नुपर्‍याे। तिलबहादुरले संस्थाबारे धेरै पहिले बुझेका थिए । त्यसबेला उनले एउटा संस्थामा पुगेर भनेका थिए, ‘मलाई पनि पढ्ने मन छ, यहीँ बस्छु पढ्छु ।’ तर, उनलाई गेटबाटै ढलको पानी छ्यापेर धपाइएको थियो ।

उनै तिलबहादुरले ०६३ मा संस्था जन्माए – ज्वाइन्ट डिसएवल युनिटि आवाज सेन्टर ।

‘त्यो पैसाले शान्तिनगरमा फल्याट भाडामा लिएँ । बेड, ओड्ने ओच्छ्याउने, भाँडाकुँडा र ग्यासचुलो किनेँ’, उनी भन्दै जान्छन्, ‘त्यसपछि असहाय बालबालिका खोज्नका लागि ट्याक्टर चढेर कालिकोट, हुम्ला जुम्ला, अछाम, दैलेखसम्म पुगेँ ।’


तिलबहादुर ११ जना बच्चा बोकेर काठमाडौं छिरे । जसका बाबा–आमा थिएनन् । तिलबहादुर नै ती बच्चाका बाबा–आमा बने । खाना खुवाए, स्कुल पठाए ।

विस्तारै तिलबहादुर अखबार र टेलिभिजनमा छाउन थाले । टेलिभिजनमा छोराको अनुहार देखेपछि बाबा–आमाको अनुहारबाट चिट्चिट पसिना छुट्यो । तिलबहादुर भन्छन्, ‘पहिले नै घरमा धागो बाँधेको चिठी पुगिसकेको रहेछ । मेरो काजक्रिया सक्काइसकेका रहेछन् ।’

तर, २८ वर्षपछि बाबाआमा रुँदै तिलबहादुरलाई भेट्न आइपुगे । ‘जिन्दगीमा यस्तो होला, कहिल्यै सोचेकै थिइनँ’, तिलबहादुर भन्दै जान्छन्, ‘भेटेपछि हामी निकैबेर रोयौँ ।’

त्यसपछि तिलबहादुर घर हिँडे । तर, सिधै घर त के, खोला पनि प्रवेश गर्न पाएनन् । पण्डित लिएर आमाले जन्माएको मिति र समय हेरियो । तिलबहादुरलाई घ्याम्पो फुटाएर निकालियो । आमालाई नौ दिनसम्म सुत्केरी बनाएर कुनामा राखियो । त्यसपछि बल्ल तिलबहादुर बने सबैभन्दा कान्छो छोरा ।

०००

संस्था स्थापना भएको केही महिना भएको थियो । उनीसँग भएका सबै रकम सकियो । उनी निकै अप्ठ्यारोमा परे । अनि एउटा जुक्ति निकाले – पसल–पसलमा मुठीदान अभियान ।
तिलबहादुर भन्छन्, ‘थुप्रै पसलमा मुठी दानका लागि कन्तुरो राखिदिएँ । त्यही पैसाले बालबच्चा पढाएँ ।’

तिलबहादुरले जसरी तसरी आफ्ना कर्म छोराहरुलाई भोकै राखेनन् । पढाइमा तल्चा लगाएनन् ।

दुई तीन ठाउँ परिवर्तन गरेर अहिले तिलबहादुर गोकर्ण पुगेका छन् । त्यहाँ १० वर्षका लागि  ६ रोपनी जग्गा भाडामा लिएका छन् । बालबालिकालाई खुवाउनका लागि त्यसैमा कृषि फर्म छ । मासिक ७ लाखको खर्च छ । उनी भन्छन्, ‘दुःखसुख गरेर दैनिक खर्च जुटाएकै छु ।’

देशका ठूला सेलिव्रिटीदेखि सर्वसाधारण अहिले तिलबहादुरकहाँ जन्मदिन मनाउन पुग्छन् र केही सहयोग गर्छन् । कहिले विदेशबाट सहयोग रकम पठाइदिन्छन् । तिलबहादुर भन्छन्, ‘संस्थाका लागि जग्गा किन्न सकें भने म मरे पनि यी बालबालिका मर्ने थिएनन् ।’

अहिले १२ पास गरेर एक टोलीमा ७ जना विद्यार्थी संस्थाबाट निस्किसकेका छन् । जसलाई तिलबहादुरले जागिर दिलाएका छन् । बेला-बेला तीन पांग्रे स्कुटर चढेर तिलबहादुर उनीहरुलाई भेटन् पुग्छन्, ‘मैले नपढे पनि तिमीहरु पढेर ठूलो मान्छे बन्नु, नराम्रो बाटोमा नलाग्नु ।’

अब तिलबहादुर सीएनएन हिरोका लागि तयारी गर्दैछन् । उनी भन्छन्, ‘भोट दिएर सबैले सहयोग गरे बन्न पनि हिरो सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment