+
+

छापामा आज : ‘सी विचारधारा’को नेपाल परीक्षण, असंलग्नताको नीति अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते ६:२७

८ असोज, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र दुई देशका कम्युनिष्ट पार्टीबीच स्थापना भएको भाइचारा सम्बन्धसँग सम्बन्धित समाचार प्राथमिकताका साथ छापिएको छ ।

कान्तिपुर दैनिकले ‘सी विचारधाराको नेपाल परीक्षण’ शीर्षकमा मुख्य समाचार छापेको छ । चीनले सी विचारधारालाई विदेशी भूमिमा वैचारिक अन्तर्क्रिया गर्ने क्रमको थालनी नेपालबाट गरेको र यस किसिमको वैचारिक घनिष्ठता विरलै हुने गरेको समाचारमा उल्लेख छ । दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला यो सम्भव भएको उल्लेख गर्दै कान्तिपुर लेख्छ, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनैको नाममा अगाडि सारिएको कार्यदिशामाथि पार्टीगत अन्तर्क्रिया गरिएको हो ।’

अन्नपूर्ण पोष्ट दैनिकले भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच भएको समझदारीलाई ‘असन्तुलित कूटनीति’ भनेर समाचार टिप्पणी लेखेको छ । अन्नपूर्ण लेख्छ, ‘छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले अर्थपूर्ण र असंलग्नताको अन्त्य भनेका छन् । उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नैपर्छ । … सत्तारुढ दल एकतातिर बढी ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरुको तर्क छ ।’

गोरखापत्र दैनिकले भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच भएको अन्तर्क्रिया कोसेढुंगा बनेको समाचार छापेको छ ।

राजधानी दैनिकले नेपाल भ्रमणमा आउने तयारी गरेका चिनियाँ राष्ट्रपति सी जिनफिङले आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ -बीआरआई)लाई थप जोड दिन सक्ने समाचार लेखेको छ ।

नागरिक दैनिकले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललितानिवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको समाचार लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले प्रधानमन्त्रीकै रुपमा नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोध मात्रै देखिने ठहर गरेपछि प्रक्रिया रोकिएको समाचारमा उल्लेख छ ।

सरकारी ललितानिवासको जग्गा किनबेचमा मन्त्रिपरिषदको २०६७ वैशाख ३१ को निर्णय पनि कारक भएको पूर्वसचिव शारदाप्रसाद त्रिताल छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसबेला नेपाल प्रधानमन्त्री थिए । नागरिकले मुख्य सचिव लोकदर्शन रेग्मीका कारण प्रधानमन्त्री अप्ठेरोमा परेको समाचार पनि छापेको छ ।

अन्नपूर्ण पोष्टले नेपाल वायु सेवा निगमसँग १४ जहाज भए पनि जम्मा ६ वटामात्र उडिरहेको समाचार छापेको छ । दशैंको मुखमा दुई वाइडबडी जहाजमध्ये एउटा ग्राउन्डेड भएको समाचारमा उल्लेख छ । नाइन एन एएलवाई कलसाइनको ‘अन्नपूर्ण’ विमान ग्राउन्डेड भएको हो । तेल धेरै खाएपछि उडाउन रोकिएको निगमका प्रवक्तालाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको मुख्य समाचार छापेको छ ।

यस्तै कारोबार दैनिकले निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगियावस्ती स्थानान्तरण सुरु भएको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?