Comments Add Comment

कांग्रेस आत्तियो, अब नेकपा सच्चिएला ?

९ असोज, काठमाडौं । नेकपा केन्द्रीय कार्यालयको रेकर्ड हेर्ने हो भने वर्षमा कम्तिमा एक दर्जन साना–ठूला प्रतिनिधिमण्डल चीन गएको भेटिन्छ । चीनमा ७० वर्षदेखि शासन गरिरहेको कम्युनिस्ट पार्टी र ७० वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीबीच त्यहीबेलादेखि नै भाइचारा सम्बन्ध रहँदै आएको छ ।

नेकपा स्थापनाको चार वर्षपछि नै तत्कालीन महासचिव मनमोहन अधिकारीले चिनियाँ कम्युनिस्ट पार्टीको पाहुना बनेर महिना होइन, वर्ष नै चीनमा बिताएका थिए ।

तत्कालीन एमालेको स्थापना माओ विचारधारा मानेरै भएको थियो भने तत्कालीन माओवादीले त माओवाद नै मानेको हो । एमालेले माओ विचारधारा छाडेको करीब ३० वर्षपछि माओवादीले माओवादी स्थगन गरेर नेकपा एकीकरण भएको हो ।

नेकपा एकीकरणको डेढ वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग भएको नयाँ सम्बन्धको लिखित समझदारी र दुई पार्टीबीचको विचारधारात्मक छलफलले नेपालको राष्ट्रिय राजनीतिमा भने ठूलै तरंग सिर्जना गरेको छ ।

जनवादी क्रान्तिमार्फत कम्युनिस्ट सत्ता स्थापना भएको ७० औं वर्ष मनाउँदै गर्दा चीनले सी जिनपिङ विचारधाराको प्रचार विश्वभर गर्न चाहेको छ । छिमेकको नेपालमा कम्युनिस्ट पार्टीले सत्ता चलाइरहेका बेला विदेश विभाग प्रमुखलाई नै पठाएर दुई पार्टीबीच विचारको छलफल गरिएको छ ।

तर, नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारीले अब नेपालको असंलग्न परराष्ट्र नीति नै खल्बलियो वा नेकपा चिनियाँ कम्युनिस्ट मोडलमा जाने भयो भन्ने आशंका व्यक्त भएका छन् । खासगरी यस्तो प्रचारबाजीमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरु र ऊ निकट बुद्धिजीवीहरु बढ्ता मुखर भएको देखिन्छ ।
यो पनि पढ्नुहोस चीनका कम्युनिस्ट नेता फर्किए, विचारको छलफल शिक्षाप्रद रहेको नेकपाको ठहर

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच यस्ताखाले अन्तरतक्रिया र भ्रमणहरु नयाँ चाहिँ होइनन् । तर, आयोजकले ठूलो विषयका रुपमा नेपालमा यस्तो कार्यक्रम तय गर्नु र मूलधारका मिडियाले अन्तर्राष्ट्रिय परिघटनाकै ढंगले ‘कभरेज’ दिनुले पनि विपक्षी तत्कालाई बढ्ता उत्तेजित बनाएको नेकपाका नेताहरु बताउँछन् । उनीहरुका अनुसार कांग्रेस झस्किनुपर्ने र कांग्रेस स्कुलिङको बौद्धिक तप्का तरंगित हुनुपर्ने तहको परिघटना यो थिएन ।

नामबाहेक अन्य मौलिक विशेषतामै फरक दृष्टिकोण राख्ने नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध कुनै नयाँ होइन । उनीहरु लामो समयदेखि बैचारिक बहस, छलफल र भातृत्वपूर्ण सम्बन्धमा थिए । एमाले र माओवादी एकीकरणपछि बनेको नेकपासँग चिनियाँ कम्युनिस्ट पार्टीकै प्रस्तावमा नयाँ लिखित समझदारी गरेर सम्बन्धलाई उनीहरुकै भाषामा ‘अझ उचाइ’मा पुर्‍याइएको मात्र हो ।

काठमाडौंमा आयोजित पछिल्लो दुईदिने प्रशिक्षण वा विचारधारात्मक छलफल जे भने पनि त्यो यसअघि बेइजिङमा भएकै कार्यक्रमको निरन्तरता भएको नेकपा नेताहरु बताउँछन् । गत वर्ष चीनको औपचारिक भ्रमणमा रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागको कार्यालयमै पुगेर प्रवचन दिएका थिए ।

जसरी राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं आएर विदेश बिभाग प्रमुख सोङ ताओले सी विचारधाराबारे अन्तरक्रिया गरे, त्यसै गरी ओलीले पनि नेपाली कम्युनिस्ट आन्दोलनको मौलिक विचारधाराबारे बेइजिङमा अनुभव सुनाएका थिए । यसको अर्थ, न चीनले मदन भण्डारीको जबज अवलम्वन गर्ने, न त नेपालले नै सी विचारधारा अँगाल्ने नेकपाका नेताको तर्क छ ।

आज संघीय संसदमा ६४ प्रतिशत जनमतसहित दुईतिहाइ बहुमतको सरकार चलाइरहेको नेकपाले ७ मध्ये ६ प्रदेशमा पनि दुई तिहाईकै सरकार र बहुसंख्यक स्थानीय तहमा सत्ता चलाइरहेको छ । जनतामा सुशासन र पार्टी पंक्तिमा अनुशासन नेकपा नेतृत्वका लागि चुनौति बनेका बेला चीनको ७० वर्षको अनुभवबाट नेकपा पंक्ति सच्चिने मौका मिल्छ भने किन नदिने

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल चीन र नेपालका कम्युनिस्ट पार्टीको विचारधारात्मक छलफलपछि व्यक्त भइरहेका प्रतिक्रियालाई नियालिरहेका छन् । कम्युनिस्ट पार्टीबीच हुने वैचारिक अन्तरक्रिया र छलफलबाट विपक्षी तप्का आत्तिएको हो वा उत्तेजक बनेको हो भन्ने रिजालले ठम्याउन सकेका छैनन् ।

त्यसो त नेकपा विदेश विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपालले मंगलबार नै कांग्रेस र कांग्रेसको छहारीमा रहेका लेखक बुद्धिजिवीहरुलाई नेकपा सी विचारधारामा नजाने भन्दै नआत्तिन आग्रह गरेका थिए । उनले अनलाइनखबरको अन्तर्वार्तामा कांग्रेस पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग मैत्रीपूर्ण सम्बन्धमा रहेको स्मरण गराएका थिए ।

बहुपक्षीय सम्बन्ध

त्यसो त चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको सम्बन्ध द्वीपक्षीय रुपमा मात्र होइन, साझा अन्तर्राष्ट्रिय संगठनमा पनि छ । तत्कालीन एमाले र हालको नेकपा संसारभरका कम्युनिस्टहरुको साझा मञ्च इन्टरनेशनल मिटिङ फर कम्युनिस्ट एण्ड वर्कर्स पार्टी (आइएमसीडब्ल्यूपी) को सदस्य पनि हो । यो संगठनमा चीन र नेपालसहित विश्वका एक सयभन्दा बढी देशका कम्युनिस्ट पार्टीहरु सदस्य छन् ।

नेकपाले गत वर्ष कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसर पारेर विश्वभरका कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गरेको थियो । त्यो सम्मेलनमा चीन, भियतनाम लगायतका देशका मन्त्री तहकै नेता सहभागी थिए । नेकपा साम्राज्यबाद विरोधी वामपन्थी फोरमहरुमा पनि सहभागी छ ।

जसरी नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेशनलको संस्थापक सदस्य हो, त्यसैगरी नेकपा पनि कम्युनिस्ट फोरमहरुको सदस्य छ । कांग्रेस र नेकपा दुवै एशियाली राजनीतिक पार्टीहरुको संगठन आइक्यापका सदस्य छन् ।

कांग्रेसले अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरुसँग अन्तरक्रिया गर्दा नेकपाले कहिल्यै विरोध नगरेको स्मरणसमेत पूर्वप्रधानमन्त्री नेपालले गराएका छन् ।

नेकपाले भोगेको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको पार्टीमा तलदेखि माथिसम्म अनुशासनहीनता र भ्रष्टाचार हो । चिनियाँ कम्युनिष्ट पार्टीमा हरेक वर्ष थपिने २० लाख सदस्य व्यवस्थापन गर्दै ९ करोड पार्टी सदस्यहरुलाई कसरी फलामे अनुशासनमा राख्न सकेको छ ? नेकपाको मुख्य सरोकार यसमा छ ।

आज संघीय संसदमा ६४ प्रतिशत जनमतसहित दुईतिहाइ बहुमतको सरकार चलाइरहेको नेकपाले ७ मध्ये ६ प्रदेशमा पनि दुई तिहाईकै सरकार र बहुसंख्यक स्थानीय तहमा सत्ता चलाइरहेको छ । जनतामा सुशासन र पार्टी पंक्तिमा अनुशासन नेकपा नेतृत्वका लागि चुनौति बनेका बेला चीनको ७० वर्षको अनुभवबाट नेकपा पंक्ति सच्चिने मौका मिल्छ भने किन नदिने ?

नेकपाको स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीसँग आग्रह गरेरै अनुशासन पालनाका सन्दर्भमा चिनियाँ नेताको कार्यपत्र दुईदिने प्रशिक्षणमा मुख्य छलफलको विषय बनेको थियो । ९ करोड सदस्यलाई अनुशासनमा राख्ने चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव ९ लाख सदस्य भएको नेकपाले कसरी सदुपयोग गर्छ, त्यो उसको आन्तरिक पाटो भयो ।

सुशासन र तीव्र आर्थिक विकासका सन्दर्भमा चिनियाँ नेताले प्रशिक्षण नै दिए पनि मुलुकका लागि हानिकारक छैन । नेपालका कम्युनिस्टमाथि निजी सम्पत्ति थुपारेको, दलाल पुँजीवादको घेरामा परेको र कम्युनिस्ट आचरणबाट च्युत भएको आरोप लागिरहेका बेला उनीहरु चीनबाट सिक्न खोज्छन् भने कांग्रेस आत्तिनुपर्दैन भन्ने उनीहरुको तर्कलाई स्वाभाविकैमान्न सकिन्छ ।

जहाँसम्म सी जिनपिङ विचारधाराबारे नेकपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको भनिएको छ, त्यसलाई नेकपाले खण्डन गरिसकेको छ । उनीहरुले यसलाई विचारधारात्मक छलफल भनेका छन् । जुन छलफलको उद्घाटन समारोहमा नेकपा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले नेपालको बहुदलीय जनवाद र चीनको सी बिचारधारा भनेर सन्दर्भ खुलाएका थिए ।

नेपालमा माओवादी शान्ति प्रक्रियामा आएदेखि नै चीनले एमाले र माओवादीलाई सहकार्य गर्न सुझाव दिएको ओपन सेक्रेट विषय हो ।नेकपा एकीकरणप्रति चीनले संस्थागतरुपमै प्रशन्नता व्यक्त गरेको विषय पनि लुकेको छैन

माओ विचारधारा र माओवादी त्यागिसकेको नेकपाले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नेबाहेक विचार, व्यवहार र कार्यशैली सबै क्षेत्रमा मौलिक कम्युनिस्ट सिद्धान्त त्यागिसकेको छ । आफैंले बनाएको संविधानभन्दा बाहिर गएर नेकपाले कम्युनिस्ट एकदलीय सत्ताको अभ्यास गर्न न त चाहेको छ, न त सम्भव नै छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई नेकपा सरकारले उच्च प्राथमिकता दिएको लुकेको छैन । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएदेखि सीलाई नेपाल ल्याउन निकै पहल भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजकीय सम्मान दिएर सीले नेपालको परिवर्तित सत्ताप्रति आफ्नो सहानुभूति लुकाउन नसकेको सत्य हो ।

अहिले सीको भ्रमणको पूर्वसन्ध्यामा उनीसँग विदेश सम्बन्धबारे नियमित सल्लाह गर्ने हैसियतमा रहेका विदेश विभाग प्रमुख तथा पाका कुटनीतिज्ञ सोङ ताओ नेपाल आएका बेला प्रधानमन्त्रीले विशेष महत्व दिनु अश्वाभाविक होइन । त्यसमाथि प्रधानमन्त्री ओली नेकपाको पहिलो बरियताका अध्यक्ष पनि हुन् ।

दुई पार्टीको कार्यक्रममा उनको मुख्य भूमिकाले सरकारको परराष्ट्र नीतिलाई दख्खल दिइनु हुँदैन । केही दिनअघि मात्र चीनका विदेशमन्त्री वाङ यी नेपाल आए । उनी पनि कम्युनिस्ट पार्टीका बरिष्ठतम नेता हुन् । उनले सरकार र कम्युनिस्ट पार्टीका अध्यक्षसँगमात्र होइन, प्रमुख विपक्षी नेतासँग पनि शिष्टाचार भेट गरे ।

वाङ यीलगत्तै नेपाल आएका सोङ ताओ पार्टीको विदेश विभाग प्रमुख भएकाले नेकपाको अतिथि थिए । उनले पार्टीगत कार्यक्रम र सम्झौता गरेर फर्किए । चीन र नेपाल नेपाल कम्युनिस्ट पार्टीको सम्बन्ध बुझ्नेहरुका लागि पछिल्ला दुई दिनका कुनै पनि घटनाक्रम नयाँ होइनन् । यद्यपि दुई पार्टीबीच बिचारधारात्मक बहसको शुरुआत भने नयाँ शिराबाट भएको छ ।

नेपालमा माओवादी शान्ति प्रक्रियामा आएदेखि नै चीनले एमाले र माओवादीलाई सहकार्य गर्न सुझाव दिएको ओपन सेक्रेट विषय हो । पछिल्लो समय दुई पार्टी एकीकरणमा चीनको भूमिकाका बारेमा अनेकखाले अड्कलबाजी भइरहेका छन् । तर, नेकपा एकीकरणप्रति चीनले संस्थागतरुपमै प्रशन्नता व्यक्त गरेको विषय पनि लुकेको छैन ।

चीनले नेपालमा सधैं स्थायित्व चाहेको हो । नेपालमा राजनीतिक स्थायित्व हुने शर्तमा उसले राजाको शासनलाई पनि साथ दिएको हो । पछिल्लो पटक आम निर्वाचनबाट कम्युनिस्ट पार्टीले बहुमत ल्याएर स्थायी सरकार बनाएपछि उसले नेपालको विकास र सम्वृद्धिमा सहयोग बढाउन खोजेको छ ।

सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा सरकारी तहबाट र सत्तारुढ पार्टीहरुका तहबाट भएका छलफल तथा अन्तरक्रियाहरुबाट आत्तिने भन्दा पनि मुलुकको फाइदाका लागि विपक्षी दललाई समेत सत्तापक्षले विश्वासमा लिनु उपयुक्त हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीका अनुभवबाट नेपालका कम्युनिस्ट ‘सच्चिन्छन्’ भने त्यो मुलुकका लागि हितकर नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

Advertisment