Comments Add Comment

अतिथि सत्कारको महत्व : पाहुना देवता समान 

दशैं आउँदैछ । दशैंमा आफन्त, इष्टमित्र, नातेदार हाम्रो घरमा अतिथि बनेर आइपुग्छन् । यसैगरी हामी पनि मान्यजनको घरमा पाहुना लाग्न पुग्छौं ।

भ्रमण वर्ष पनि सुरु हुँदैछ, आगमी बर्षदेखि । यसक्रममा पनि हामीले देश-विदेशका आगन्तुकलाई स्वागत गर्नेछौं । किनभने उनीहरु हाम्रा अतिथी हुन् । पाहुना हुन् ।

त्यसो त नेपाली संस्कृति अनुसार हाम्रालागि सधैंभरी अतिथि देवता समान हुन्छन् । उपनिषद्हरुले ‘मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवः,’ पछि ‘अतिथि देवो भवः’ भनेको छ । यसको अर्थ हुन्छ माता, पिता र आचार्य (गुरु) पछि अतिथिलाई देवता समान मानेको छ ।

अतिथि सम्मानलाई हाम्रो संस्कारले कति महत्व दिएको छ भन्ने कुरालाई देख्नको लागि नित्य सम्पादन गर्नुपर्ने पञ्चमहायज्ञमा एउटा मनुष्य यज्ञ अर्थात् अतिथिहरुलाई सत्कार गर्ने काम समेत पर्दछ । यसको अर्थ हरेक दिन एक जना अतिथिलाई सकेसम्म आफ्नो घरमा सत्कार गर्नुपर्ने मान्यता पूर्वीय संस्कृतिमा छ ।

अतिथिलाई कसरी सत्कार गर्ने भन्ने विषयमा विभिन्न लोक कथा एवं पौराणिक कथाहरु समेत पाउने गरिन्छ । किनकी अतिथिलाई आफूले भोगिआएको सुविधाभन्दा धेरै सुविधा दिएर जसरी हुन्छ प्रसन्न गराउने प्रचलन हुन्छ । त्यसको लागि हामीले विधि र परम्परा पूर्वक अतिथि सत्कार गर्नुपर्ने हुन्छ । अतिथिको सत्कारमा नै अतिथि र स्वागत गर्ने व्यक्तिको समेत जीवनशैलीको स्तर थाहा हुने भएकोले अतिथि सत्कार आफ्नो सामाजिक प्रतिष्ठासँग समेत जोडिएको छ ।

एक पौराणिक कथाका अनुसार परासर ऋषिले आफूलाई स्वागत गर्ने एक राजालाई उपदेश दिने क्रममा भनेका थिए, ‘राजन ! को कसको उपकार गर्दछ ? र आफ्नो स्वामित्वमा भएको कुरा कसले कसलाई दिने गर्दछ ? यी सारा कार्य प्राणीहरुले आफ्नै लागि गर्ने गर्दछन् । आफ्नो साख्य दाजुभाइले समेत आफ्नो प्रतिष्ठा उच्च बनाएपछि आफ्नै दाजुभाइलाई बिर्सने गर्दछ । अरुको त कुरा परै जाओस् ।

यस्तो अवस्थामा अतिथि सत्कारमा मानिसले कन्जुस्याईं नगर्ने मानिस कमै भेट्न सकिएला ।’  पराशरले थपे, ‘श्रेष्ठ मानिसलाई दिएको दान र श्रेष्ठ मानिसबाट प्राप्त भएको प्रतिग्रह यी दुबै कुराको महत्व एकदमै धेरै हुन्छ । त्यसमध्ये ब्राहृमणले प्रतिग्रह दिनुको तुलनामा दान दिनु अत्यन्त पुण्यमय काम मानिएको छ । तर, त्यस्तो धन धर्मपूर्वक कमाएको र धर्मपूर्वक नै बढाएको हुनुपर्दछ । दान दिनुका साथै त्यस्ता धन धर्मपूर्वक बचाईपनि राख्नुपर्दछ ।

यही नै धर्मशास्त्रको निश्चय हो । धर्म चाहने मानिसले क्रुर कर्मद्वारा धनको उपार्जन गर्नुहुँदैन । आफ्नो शक्तिको अनुसार नै समस्त शुभकर्म गर्नुपर्दछ । केवल धन कमाउने चिन्तामा मात्रै पर्नुहुँदैन । पुण्य कमाउनु मानिसको सबैभन्दा ठूलो ध्येय हुनुपर्दछ । मौसमको विचार गरेर आफ्नो शक्तिको अनुसार प्यासी वा भोका अतिथिलाई चिसो या तातो पानी र पवित्रभावले अन्न अर्पण गर्नु नै सबैभन्दा उत्तम कर्म हो ।’

अतिथि सत्कारको महत्व

महात्मा राजा रन्तिदेवले फल मूल र पत्ताहरुद्वारा एक पटक ऋषिमुनिहरुको पूजन गरेका थिए । यही पूजनबाट पनि उनलाई त्यो सिद्धि मिल्यो । जसको सबै मानिसहरु अभिलाषा राख्दछन् । पृथ्वीपालक महाराज शैव्यले समेत सोही फल र पत्ताद्वारा माठर मुनिलाई सन्तुष्ट गरेका थिए ।

जसका कारण उनलाई उत्तम लोकको प्राप्ति भएको पौराणिक कथाहरुमा उल्लेख छ । प्रत्येक मनुष्य देवता, अतिथि, भरण-पोषणको योग्य कुटुम्बीजन, पितृ एवं आफू स्वयंसँग समेत ऋणि भएर जन्म लिने गर्दछन् । त्यसैकारण मानिसले आफू ती ऋणहरुबाट मुक्त हुने प्रयास गर्नुपर्दछ ।

वेद शास्त्रको स्वाध्याय गरेर ऋषिहरुको, यज्ञकर्मद्वारा देवताहरुको, श्राद्ध तथा दानको माध्यमबाट पितृहरुको तथा स्वागत सत्कार एवं सेवा आदिबाट अतिथिको ऋणबाट मुक्ति पाउन सकिन्छ । यसै प्रकारले वेद वाणीको पठन, श्रवण, मननद्वारा यज्ञ शेष अन्नको भोजनद्वारा तथा जीवको रक्षा गर्नुले मनुष्य आफू स्वयंको ऋणबाट मुक्त हुने गर्दछ ।

कुटुम्बीजनको पालनपोषणले नै उनीहरुको ऋणबाट मुक्ति पाउन सकिन्छ । ऋषिमुनिहरुको साथमा धन नभएपनि उनीहरु आफ्नो प्रयत्नले सिद्ध भएका थिए । उनीहरुले दैनिक अग्निहोत्रको माध्यमद्वारा नै सिद्धिप्राप्त गरेका थिए ।

त्यस्तै, अर्काेतर्फ ऋचीककापुत्र यज्ञमा भाग लिने देवताहरुको वेदमन्त्रद्वारा स्तुति गरेर विश्वामित्रका पुत्र भएका थिए । महषिर् उशनाले देवादिदेव महादेवको स्तुति गरेर महादेवकै शुक्रत्व प्राप्त गरेका थिए । साथै पार्वती देवीको स्तुति गरेर यशस्वी मुनि आकाशमा ग्रहरुपद्वारा स्थित भएर आनन्द भोग्न सफल भए ।

असित, देवल, नारद, पर्वत, कक्षीवान, जमदग्नीनन्दन आदिले मनलाई वशमा राख्नेवाला ताण्डय, वशिष्ठ, जमदग्नि, विश्वामित्र, अत्रि, भरद्वाज, हरिश्मश्रु, कुण्डधार तथा श्रुतश्रवा यी महषिर्हरु एकाग्र चित्त भएर वेदको ऋचाहरुद्वारा भगवान विष्णुलाई स्तुति गरेर उनै बुद्धिमान श्रीहरिको कृपाले तपस्या गरेर सिद्धि प्राप्ति गरे । जो पूजाको लागि योग्य नै थिएनन् । उनी विष्णुको स्तुति गरेर पूजनीय सन्त बन्न सफल भएका थिए । यस लोकमा निन्दनीय आचरण गर्दै कसैलाई पनि आफ्नो अभ्युदयको आशा राख्नु हुँदैन ।

माथिका उदाहरणहरुको पनि कथाहरु अतिथि सत्कारसँग नै जोडिएको छ । अतिथिको रुपमा भगवान समेत समय समयमा आएको पौराणिक किंवदन्तीहरुको आधारमा सबै अतिथिलाई पूर्वीय दर्शनले भगवान सरह मानेको छ । यसलाई वेद र वैदिक ग्रन्थहरुमा समेत महत्वका साथ उल्लेख गर्ने गरिएको छ । अतिथि सत्कारको लागि झकिझकाउ बासस्थान र ८४ व्यञ्जनको आवश्यकता पनि पर्दैन । अतिथिलाई त ओढारमा तपस्या गर्ने ऋषिहरुले समेत स्वागत गरेको प्रमाण पुराण एवं उपनिषद्हरुमा समेत पाउन सकिन्छ । तर, यसको लागि मन भने शुद्ध हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment