Comments Add Comment

कोशीटप्पुको नयाँ सदस्य कुसाहाकली !  

११ असोज,  विराटनगर । हात्तीसार वरपर मान्छे देख्नै हुँदैन, कुदेर आउँछ । नथाकेसम्म ओल्लो सार, पल्लो सार कुदिरहन्छ । गलेपछि आमाको छेउमा पुगेर थचक्क बस्छ । भोक लागे दूध चुसेर फेरि उही दैनिकीमा फर्कन्छ ।

यो दौडधुप कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको हात्तीसारमा हुर्कदै गरेकी छावा कुसाहाकलीको हो । तीन महिनाअघि जन्मिएकी कुसाहाकलीले हातिसारका लागि नयाँ खुसी लिएर आएकी छन् । यता-उता कुदिरहने कुसाहाको उपद्रो बढी छ । तर, हात्तीसारका माहुते कुसाहाकलीको उपद्रो देख्दा रिसाउँदैनन् ।

हुर्कंदै गरेको नयाँ सदस्य फुर्तिलो हुन्छ हुनेमा आशावादी छन् माहुतेहरु । ‘यता उता कुदिरहने हाती ठूलो भएपछि फुर्तिलो हुन्छ,’ माहुते रामगुलाव चौधरी भन्छन्, ‘सानामा अल्छि गर्ने बच्चा पछि पनि सुस्त हुन्छन् ।’

कुसाहाकली १० वर्षीया लक्ष्मीकलीकी पहिलो सन्तान हो । लक्ष्मीकलीको छेउमा राखिएको दमदमकलीकी ११ महिने छावा कोशीकली पनि छन् । तर, कोशीकलीको स्वभाव कुसाहाकलीको जस्तो छैन । अल्छी स्वाभावको कोशीकलीलाई तालिम दिन माहुतेले बाँधेर राख्ने बानी गर्दैछन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षणको हात्तीसारमा हुर्कदै गरेका दुई छावाले माहुते र हेरालुलाई पनि व्यस्त बनाएका छन् । हात्तीसारमा पाँचवटा माउ र दुई छावा गरी सातवटा हात्ती छन् ।

हुर्कंदै गरेका दुई छावासँगसँगै माहुतेको ध्यान १६ वर्षे सरस्वतीकलीतर्फ पनि केन्द्रित हुन्छ । सरस्वतीकली गर्भवती छिन् । ०७७ साल कात्तिक महिनामा ब्याउने सरस्वतीको स्याहारमा कुनै कमी हुन दिएका छैनन् माहुतेहरुले ।

हात्तीसारका माहुतेको ध्यान बच्चा स्याहार्न र गर्भवतीको हेरचाहमा केन्दि्रत भएको रामगुलाव बताउँछन् । ‘गर्भवती अवस्थामा भारी बोकाउन मिल्दैन । सामान्य अवस्थामा भन्दा बढी ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘हात्ती गर्भवती हुँदा हाम्रो काम थपिन्छ ।’

हातीको हेरचाहका लागि ९ जना माहुते र हेरालु छन् । उनीहरुको दैनिकी हात्तीको स्याहार सुसारमा बित्ने चौधरी बताउँछन् ।

हात्तीको छावा हुर्केपछि तालिम दिनमात्र दुई वर्षसम्म समय लाग्छ । ३३ वर्षयता हात्तीलाई तालिम दिने काम गर्दै आएका रामगुलाव चौधरी नयाँ सदस्यलाई तालिम दिएपछि आवश्यक परेको स्थानमा पठाउन सकिने बताउँछन् ।

प्रदेश १ मा पर्ने कोशीटप्पु आरक्षमा हात्तीसार छ । कोशीटप्पुमा हात्तीसार सुरु भएको २०५२ सालदेखि हो । नेपालको सबैभन्दा ठूलो हात्तीसार भने चितवनको सौराहमा छ ।

सात वर्षदेखि ‘मकुना’ले पुर्‍याएको सहयोग

कोशीटप्पुको हात्तीसारमा पाँचवटा पोथी हात्ती छन् । भाले चाहिँ जंगली हात्ती हो । माहुतेहरुले भाले जंगली हात्तीको नाम ‘मकुना’ राखिदिएका छन् ।

मकुना नयाँ पाहुना भने होइन । सात वर्षयता निरन्तर हात्तीसारमा आइरहेको मकुनाकै सन्तान हुन् कुसाहाकली र कोशीकली । दुवै ‘बलात्कार’बाट जन्मिएको बच्चा भएको चौधरी बताउँछन् । कोशीटप्पु आसपासको क्षेत्रमा उपद्रो मच्चाउँदै आएको मकुना वर्षमा २/३ पटक कोशी टप्पुको हात्तीसार आसपासमै हुन्छ ।

आरक्षको सुरक्षाका लागि विद्युत्तीय तारबार गरिएको छ । तर, आरक्षका कर्मचारीले हरेक बेलुका मकुनाका लागि बाटो खाली गर्न बिजुलीको तारमा करेन्ट रोकिदिन्छन् । ताकि उसले हात्तीसारका पोथी हात्तीसँग यौनसम्पर्क गर्न पाओस् । ‘मकुना प्रायः राति आउँछ,’ चौधरी भन्छन्, ‘पोथी तयार नभए जबरजस्ती गरेर फर्कन्छ ।’

उनका अनुसार सरस्वतीकली पनि मकुनाले जबरजस्ती गरेर गर्भवती भएकी हुन् । हात्तीसारमा भाले हात्ती नभएका कारण जंगली हात्तीलाई प्रवेश गर्न दिइरहेको उनले बताए ।

हात्तीसारमा आउने माकुनाको उपद्रो पनि उस्तै छ । हात्तीको हेरचाहका लागि बनाइएका माहुते र हेरालु बस्ने टहरामा क्षति पुर्‍याइदिन्छ । तर, माकुनाले दिने दुःखको भन्दा सन्तान उत्पादनमा पुर्‍याउदिँदाको खुसी कयौं धेरै छ ।

ठाउँ चिनाउन हात्तीको नाम

हात्तीसारमा सबैभन्दा पुरानो हात्ती शोभाकली हो । ०५२ सालतिर चितवनबाट ल्याइएको शोभाकलीको उमेर ६० वर्ष हाराहारी छ । आरक्षण रहेको अमेरिकनकलीको उमेर पनि ५५-६० वर्ष छ ।

सरस्वीकली र दमदमकलीको उमेर १६-१६ वर्ष भने लक्ष्मीकलीको उमेर १० वर्ष पुग्यो । हात्तीसारमा हुर्कँदै गरेका छावाको नाम भने स्थान विषेशका आधारमा राखिएको छ । कुसाह कोशी टप्पु क्षेत्रको बस्तीको नाम हो । नयाँ सदस्यको नाम टप्पुको स्थानको पहिचानसँग जोडेर राखिएको चौधरी बताउँछन् ।

हात्तीले बुझ्ने भाषा बेग्लै

३३ वर्षयता हात्तीलाई तालिम दिँदै आएका चौधरी हात्तीलाई सिकाउने र बुझाउने भाषा बेग्लै भएको बताउँछन् । जमिनको ठूलो प्राणी हात्तीलाई चलाउन कतिपय अवस्थामा इशारा काफी हुन्छ । तर, माहुते ढाडमा नचढेसम्म बोल्ने भाषा बेग्लै भएको उनले बताए । ‘हात्तीमाथि चढेपछि कोट्याएर निर्देशन दिन सकिन्छ,’ उनी भन्छन्, ‘हात्तीमाथि चढ्नुअघि भने बेग्लै भाषा बोल्नुपर्छ ।’

उनका अनुसार हात्तीलाई बसाउनका लागि ‘बैठ’ भन्ने शब्द प्रयोग गर्नुपर्छ । बसेको हात्तीलाई उठाउँदा भने ‘मैल’ शब्द प्रयोग गर्नुपर्छ । अगाडि बोलाउनु पर्दा ‘अगत’ र पछाडि पठाउन ‘छौं’  भन्ने शब्दको प्रयोग गुर्नपर्छ । माहुते काँधमा चढेको अवस्थामा भने यात्रा तय गर्दा कानमा खुट्टाले कोट्याउनु पर्ने उनी बताउँछन् ।

सौराहालाई बिर्साउने पर्यटकीय गन्तव्य

आरक्षको अवलोकनका लागि गत वर्ष १८ हजार भन्दाबढी पर्यटक आएको रेञ्जर लक्ष्मण महतो बताउँछन् । हात्ती र अर्ना अवलोनका लागि विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने गरेको उनले बताए ।
चितवनपछिको ठूलो हात्तीसार भएको कोशी टप्पु हात्ती सफारीका लागि सौराहा भन्दा कम छैन । कोशी टप्पु आरक्षण अर्ना अवलोकनसँगै हात्ती सफारीका लागि पनि प्रचलित छ । तर, यहाँको प्रचार प्रसार भने सौसाहाको जस्तो हुन सकेको छैन ।

गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर ५ को लुम्बिनी र चितवनको सौराहाभन्दा कोशी टप्पुको पर्यटनलाई आकर्षक बनाउन सकिने भए पनि सरकारले यहाँको पूर्वाधार विकासमा खासै ध्यान दिन नसकेको स्थानीयबासी र पर्यटन व्यवसायीहरुको गुनासो छ ।

कोशी टप्पु र यसको आसपासमा हात्तीसार र जंगल सफारीमात्र होइन, चतरा धाम, बराहक्षेत्र र कोशी नदीमा चल्ने बोट पनि पर्यटकीय आकर्षणहरु हुन् ।

वि.सं २०३२ सालमा अर्ना संरक्षणका लागि घोषणा गरिएको कोशीटप्पु वन्यजन्तु आरक्षणको क्षेत्र १७५ वर्ग किलोमिटरमा फैलिएको छ । नेपालमा रैथाने अर्ना पाइने एकमात्र आरक्ष क्षेत्रमा २०५२ सालदेखि हात्तीको संरक्षणकालागि हात्तीसार पनि सञ्चालन गरिएको हो ।

हात्ती प्रजनन केन्द्रको रुपमा स्थापित कोशीटप्पु प्रदेश १ को प्रमुख पर्यकटकीय गन्तव्य पनि हो । आरक्ष क्षेत्रमा अर्नासँगसँगै जंगली हात्ती पनि छन् ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लालाई छोएको आरक्षणमा शैक्षिक, अध्ययन अनुसन्धानका लागि विभिन्न क्षेत्रबाट मानिसहरू कोशी टप्पुमा आउने गरेको मध्यवर्ती क्षेत्र उपभोक्ता समिति श्रीपुर-हरिपुरका अध्यक्ष दयाशंकर झा बताउँछन् ।

आरक्षण खुला विश्वविद्यालयका रुपमा स्थापित भएको झा बताउँछन् । उनका अनुसार आरक्ष संरक्षणमा जनसहभागिताका लागि सुनसरी र सप्तरीमा ४/४ वटा र उदयपुरमा एक मध्यवर्ती क्षेत्र उपभोक्ता समिति गठन गरिएको छ । आरक्षण संरक्षणका लागि बनेको मध्यवर्ती क्षेत्रको क्षेत्रफल पनि १७३ वर्गकिलोमिटर छ ।

वि.सं ०४४ सालमै रामसार सुचीमा सुचीकृत आरक्षमा ४८९ प्रजातिका चराहरू र २२० भन्दाबढी अर्ना पाइन्छ ।

ठूलो सिमसार क्षेत्र रहेको आरक्षणमा साइबेरियाबाट घुमन्ते चराहरू आउँछन् । कोशीटप्पु आरक्षमा लोपोन्मुख अवस्थामा रहेका अर्नाका साथै हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदरलगायत जंगली जनावर पाइन्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment