१८ असोज, बुटवल । दशैं–तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै धेरै ब्यापार होला भन्ने आशामा बसेका बुटवल र भैरहवाका ब्यापारी निराश छन् । उपभोक्तालाई स्थानीय बजारमै किनमेल गराउन बुटवल र भैरहवामा दशैं लक्षित सस्तो बजार सञ्चालन गर्दा पनि नेपाली उपभोक्ताहरु भारतको सुनौली जाने क्रम रोकिएको छैन ।
दशैंको किनमेल गर्न सीमावर्ती भारतीय बजार सुनौलीमा हुलका हुल जाने परिपाटीले रूपन्देहीको मुख्य बजार बुटवल र सदरमुकाम भैरहवामा चहलपहल छैन, बरु सुनसान जस्तै छ ।
चाडपर्वमा उपभोग्य र सौन्दर्यका साधन तथा खाद्यान्न र कपडा खरिद गर्न नेपाली उपभोक्ताहरु सुनौली जाँदा त्यहाँको बजार गुल्जार भएको छ । रूपन्देही मात्र नभई नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची लगायत जिल्लाका उपभोक्ता किनमेल गर्न भारतको सुनौली र नौतनवासम्म पुग्छन् । नेपाली उपभोक्ताहरुले नै सुनौली बजार भरिभराउ हुन्छ ।
दशैं तिहार जस्ता ठूला चाडपर्वमा बेलहिया नाका हुँदै दैनिक करिब पाँच हजार नेपाली उपभोक्ताहरु सामान किनमेलका लागि सुनौली पुग्ने गरेको अनुमान छ । सुनौली बजारका ९५ प्रतिशत ग्राहक नेपाली उपभोक्ता हुन् ।
‘चाडबाडमा अलि धेरै व्यापार होला भन्ने आशा थियो तर उल्टो हुंदै गएको छ, हरेक वर्ष ब्यापार घट्दो छ,’ बुटवल ट्राफिक चोकका व्यवसायी चण्डि शाहले भने, ‘एकातिर सपिङ कम्प्लेक्स, अर्कोतिर सुनौलीले गर्दा अब दोकान बन्द गर्नुपर्ने अवस्थामा पुर्याइसक्यो ।’
महंगो घर भाडा, सरकारलाई तिर्नुपर्ने चर्को कर, अधिकांश किराना सामान भारतबाटै ल्याएर बेच्नुपर्ने बाध्यता र सुनौलीसँग मूल्यमा प्रतिस्पर्धा गर्नुपर्दा व्यावसायमा टिक्न नसक्ने अवस्थामा पुगेको शाहले खुलाए ।
उता सुनौली व्यापार मण्डलका अध्यक्ष सुभाष जयसवालका अनुसार सुनौलीमा दैनिक करिब चार करोड रुपैयाँको कारोबार हुन्छ । ‘उपभोक्ताले चाहेअनुसार भेराइटी र नेपालभन्दा सस्तो पनि भएकाले नेपालीहरु यहाँ आउँछन्,’ जैसवालले दावी गरे, ‘बुटवल–भैरहवाकै ग्राहकले सुनौली बजार धानिएको छ ।’
नेपाली उपभोक्तालाई लक्षित गरी सुनौलीमा किराना, कपडा, श्रृंगार, मोबाइल आदिका आठ सय बढी पसल सञ्चालनमा छन् । नेपाली उपभोक्ताहरु सुनौली मात्र होइन सुनौलीभन्दा ८ किलोमिटर टाढा नौतनवासम्म पनि किनमेल गर्न पुग्छन् ।
तर सस्तो खोज्दा नेपालीहरु ठगिने गरेको नेपालका अगुवा व्यवसायी बताउँछन् । ‘सुनौलीमा सस्तो हुन्छ भन्ने भ्रममा नेपाली उपभोक्ताहरु चाडपर्वका बेला मात्र हैन अरु बेला पनि ओइरिन्छन्, बुटवल र भैरहवाका बजार सुनसान हुन्छन्’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपाने भन्छन्, ‘कैयौं सामान सुनौलीभन्दा नेपालमै सस्तो र गुणस्तरीय पाइन्छ, चिनी सस्तो पाइए पनि अरु सामानमा ठगिन्छन् तर पनि नेपालीले यो कुरा बुझ्न सकेका छैनन् ।’
चिनी सस्तो पाइने लोभमा टाढाबाट बस भाडा खर्च गरेर सुनौली जाँदा नेपालीहरु उल्टै ठगिने गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको तर्क छ । सरकारले संक्षिप्त प्रज्ञापनपत्र लागु नगर्दा र भन्सार नाकामा कडाइ नगर्दा नेपाली उपभोक्ताहरु निर्वाधरुपमा भारतीय बजारमा किनमेलका लागि जाने परिपाटी बढेको हमालले औंल्याए ।
भन्सार नाकामा चेकजांच नहुँदा नेपाली उपभोक्ताहरुले दश हजारसम्मको सामान सजिलै भित्राउने गरेका हमाल बताउँछन् । सरकार स्वदेशी व्यवसायीलाई संरक्षण र प्रवद्र्धन गर्नेभन्दा पनि कर मात्रै असुल्ने ध्यानमा रहेकाले पनि त्यसको फाइदा भारतीय व्यापारीले लिन पुगेको हमालको तर्क छ ।
भारतीय बजार सुनौलीमा चिनी र कपडा सस्तो पाइन्छ भन्ने उपभोक्ताहरुमा छाप छ । तर भारतीय चिनी गुणस्तरीय नहुने नेपाली व्यवसायीहरुको दावी छ । चिनीबाहेक अरु सामान किन्दा नेपालीहरु ठगिने गरे पनि त्यसलाई रोक्न नसक्नु नेपाली पक्षकै कमजोरी रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारी बताउँछन् ।
रूपन्देहीमा मात्र नभई तराईका अधिकांश जिल्लाका नेपाली बजारहरु सीमावर्ती भारतीय बजारका कारण मारमा परेका तिवारी स्वीकार्छन् । ‘सुनौलीमा चिनी मात्रै सस्तो पाइने रहेछ, त्यो पनि अरु सामान किनेपछि पाइने,’ तिलोत्तमाको दीपनगरबाट सामान किनमेल गर्न सुनौली पुगेकी अम्बिका घिमिरेले भनिन्, ‘आउँदा–जाँदाको बस भाडा, खाजा खर्च, समय सबै जोड्दा त सुनौली धाउनुभन्दा बुटवल–भैरहवा नै ठीक लाग्यो ।’
चाडपर्वका बेला नेपाली बजारमा उपभोग्य सामानहरुको मूल्य बढाइनु, कालोबजारी र कृत्रिम अभाव सिर्जना जस्ता समस्याले उपभोक्ता भारतीय बजारमा आकर्षित हुने गरेका उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष नर्बु लामा बताउँछन् ।
नेपाली उपभोक्तालाई आफ्नै स्थानीय बजारमा किनमेल गराउन भन्सार नाकामा नीतिगत सुधारसँगै नेपाली व्यवसायीहरु पनि सच्चिनुपर्ने लामा सुझाउँछन् । ‘नेपाली ब्यापारीहरु पनि सुध्रिनु उत्तिकै जरुरी छ, मनपरी महंगो मूल्य भनेपछि ग्राहक त सस्तो जहाँ पाइन्छ, त्यही गइहाल्छन् नि, ’ लामाले भने, ‘हरेक पसलमा अनिवार्य मूल्यसूचि, गुणस्तरीय सामानको उपलब्धता, २० प्रतिशतभन्दा बढी नाफा नलिने हो भने नेपाली सबै बजार गुल्जार हुनसक्छन् ।’