Comments Add Comment

कृष्णबहादुर महराले नहेरेको सेक्सन ३७५

आइतबार साँझ महराको यौन प्रकरण हुनुभन्दा ठीक दुई हप्ता अगाडि एउटा हिन्दी सिनेमा रिलिज भएको थियो, ‘सेक्सन ३७५’। विषय ठयाक्कै महरा प्रकरणसँग मेल खाने ।

यदि रोशनी शाहीलाई दिने समय केही घटाएर पूर्वसभामुख कृष्णबहादुर महराले यो सिनेमा हेरेका भए यो घटना हुने थिएन । किनकि उनको विवाहेत्तर यौन जीवनसँग शायद पूरापूर मेल खाने फिल्मको कथाले उनलाई सजग बनाउँथ्यो ।

सिनेमाको कथासार पस्कनु अघि यसले प्रवाह गर्न खोजेको सन्देशका केही पक्षबारे छोटो विमर्श गरौँ:

‘सेक्सन ३७५’ मा वकिल तरुण सलुजाको भूमिका निभाउने क्रममा अभिनेता अक्षय खन्नाले सिनेमाको शुरुवातमा नै बोलेको डायलग यस्तो छ, जसले सिनेमाको सार बताउँछ–

‘कानूनका साथ प्रेममा कहिल्यै नपर, किनकि यो एउटी त्यस्ती रखैल हो, जसले एकदिन तिमीलाई निराश बनाउने छ ।’

यो डाइलगले उजागर गरेका दुईवटा विषय छन्–

पहिलो, कानूनको परिभाषा र व्याख्या समाजमा भएका परिवर्तनसँगै बदलिन्छन् । त्यसैले कानूनको भर पर्नुहुँदैन । किनकि, त्यसले प्रमाण मात्र हेर्दैन, परिवेशका आधारमा समेत निर्णय गर्छ र आफूलाई समयानुकुल व्याख्या गर्छ ।

दोस्रो, रखैल (अवैध श्रीमती) ले एक दिन निराश बनाउँछे । उनीहरु यति इर्ष्यालु हुन्छन् कि कुनै पनि बेला उनले कानूनले झैँ आफ्नो रुप फेर्न सक्छन् र तपाई निराश बन्नुपर्ने अवस्था आउन सक्छ ।

सिनेमा सकिँदा मुद्दा जित्ने वकिल निराश हुन्छिन् किनकि कानुनले उनलाई धोका दिन्छ । आफ्नै पक्षले जालसाजी गरेको जान्दाजान्दै पनि उनी हार्न सक्दिनन् ।

उता अभियुक्तले रखैलसँग सहमतिमै राखेको यौन सम्पर्क बलात्कारका रुपमा परिभाषित हुन्छ । उनी पनि कानुन र प्रेमिका दुबैबाट धोका पाएर जेल चलान हुन्छन्, निराशा मनोभावमा ।

नेपालमा कानून निर्माण गर्ने बैधानिक निकाय संघीय संसदको प्रतिनिधिसभाका सभामुख रहेकै अवस्थामा कृष्णबहादुर महराले आफ्नै संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार गरेको आरोप लागेसँगै हालसालै रिलिज भएको यो हिन्दी सिनेमाको स्मरण गरिएको हो ।

यताको घटना बुझ्न र यसको प्रकारान्तर कहाँ पुग्ला भन्ने अनुमानका लागि समेत यो सिनेमा सहायक बन्ने देखिन्छ ।

सेक्सन ३७५ को कथासार

एकजना फिल्म निर्देशकलाई उनकै जुनियर कस्ट्युम (पोशाक) डिजाइनरले बलात्कारको आरोप लगाउँछिन् । प्रहरीले उनको उजुरीका आधारमा आरोपीलाई पक्राउ गर्छ र हिरासतमा राखेर अनुसन्धान शुरु गर्छ । अभियुक्त पक्रनुअघि प्रहरीले उनीसँग राम्रै बार्गेनिङ गरेको कुरा पनि फिल्मको अन्त्यमा खुल्छ ।

बलात्कृत महिलाको पक्षमा शहरमा ठूला प्रदर्शनहरु निरन्तररुपमा कायम रहन्छन् । मिडियामा पनि यो प्रकरणले राम्रो स्थान पाइरहन्छ । सबै तथ्य र प्रमाणका आधारमा तल्लो अदालतले अभियुक्तलाई दोषी करार गरेर १० वर्षको जेल सजायँ सुनाउँछ ।

अभियुक्तले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि मुद्दा दायर गर्छन् । बल्ल शुरु हुन्छ, सही अर्थमा सिनेमा ।

शहरका गनिएका वकिल तरुण सलूजा (अक्षय खन्ना) ले अभियुक्तको पक्षबाट वकालत गर्छन् । सरकारवादी मुद्दा भएकाले एक सरकारी महिला वकिलले पीडितको पक्षमा बहस गर्छिन्, जो उनै तरुण सलूजाकी शिष्य पनि हुन् ।

बलात्कारीको पक्षमा वकालत गरेकामा आक्रोशित भिडले सलूजामाथि आक्रमण समेत गर्छ । तथापि, बहस निकै रोचक ढंगले अगाडी बढ्छ ।

बहसकै क्रममा थाहा हुन्छ, प्रहरीले महिलाबाट संकलित भजाइनल स्वाब र घटनास्थलबाट संकलित वीर्यको नमूना पाँच दिनसम्म लापरवाहीपूर्ण तरिकाले प्रहरी कार्यालयमै राखेको हुन्छ । त्यसो गर्नुको कारणबारे अदालतलाई स्पष्टीकरण दिँदै अनुसन्धान अधिकृतले वयान दिन्छन, ‘प्रायः यस्तो घटनामा बलात्कार नभएर आपसी समझदारीमा नै शारीरिक सम्बन्ध भएको र अन्य कारणले आवेशमा उजुरी गरेको भेटिन्छ । एक/दुई दिनमा मिलेर आउँछन् र केश फिर्ता लिन्छन् । त्यही भएर ४/५ दिन फोरेन्सिक जाँचका लागि नपठाएको हो ।’

अन्त्यमा आरोपितले सही वयान दिन्छन् । उनीहरुबीच विगत लामो समयदेखि नै शारीरिक सम्बन्ध रहँदै आएको हुन्छ । निर्देशककी श्रीमतीलाई छलेर उनले छुट्टै फ्ल्याटमा रासलीला रचिरहेका हुन्छन् ।

बिस्तारै ती युवतीले निर्देशकमाथि हक जमाउन र आफ्नो अधिकार खोज्न शुरु गर्छिन् । उनीहरुबीच झगडा हुन्छ । निर्देशकले कामबाट उनलाई निकालिदिन्छन् । तर, दुई दिनपछि नै ती युवतीले माफ माग्दै फेरि काममा फर्कने इच्छा व्यक्त गर्छिन् । निर्देशक पग्लिन्छन् ।

फेरि केही पोशाक लिएर आउने र भेट्ने बहानामा बोलाउँछन् । पूर्ववत उनीहरुबीच सहमतिमा नै यौन सम्पर्क हुन्छ । तर, यसपटक भने युवती उनलाई फसाउने योजनामा हुन्छिन् । आफैंले भित्तामा टाउको ठोकेर महिलाले आफैंलाई घाइते बनाउँछिन् । अनि आफू हाकिमबाट बलात्कृत भएको आरोप लगाउँदै प्रहरीसमक्ष पुग्छिन् ।

महरा प्रकरणसँग तुलना गर्दा छुटाउनै नहुने घटना यो पनि छ कि जब उनी आफू बलात्कृत भएको भन्दै रुँदै घर पुग्छिन्, उनलाई आफ्नै दाजुले बेस्कन पिट्छन्, जुनपछि प्रहरीसमक्ष बलात्कारीले नै पिटेको प्रमाणका रुपमा पेश गरिन्छ ।

अदालतसमक्ष घटनाको यथार्थ विवरण जस्ताको त्यस्तै पेश हुन्छ । सत्य के हो खुल्छ । तर, पनि संयुक्त इजलासले तल्लो अदालतले गरेकै फैसला सदर गर्दै अभियुक्तलाई १० वर्ष जेल पठाउने फैसला गर्छ । फैसलामा भनिन्छ, ‘सहमतिमा नै शारीरिक सम्बन्ध राखिएको भए पनि कानूनअनुसार निर्देशकले आफ्नो पद र पैसाको बलले उनलाई त्यसो गर्न बाध्य पारेको देखिन्छ । त्यसैले यो बलात्कार नै पुष्टि हुन्छ ।’

उल्लेखनीय यो पनि छ कि त्यो फैसला गर्नुपूर्व अदालतको झ्यालबाट न्यायाधिशले बाहिरको भिडको आक्रोश र मागलाई हेर्छन्, सुन्छन् ।

सिनेमाको कथासार यही हो ।

यही सिनेमाको नेपाली भर्सनका रुपमा महरा प्रकरणलाई ब्याख्या गर्न घटनाहरु बीच तुलना पेश गर्नुपर्ने नै देखिँदैन । कथामा मेल छ, त्यसैले फेरि पनि भन्न सकिन्छ कि यदि महराले ‘सेक्सन ३७५’ हेरेका थिए भने रोशनीको रोषको ज्वालामा यसरी जल्नुपर्ने थिएन । अबैध सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने चिन्तन गर्न बाध्य हुन्थे ।

महरा प्रकरण र सिनेमाले उठाएका प्रश्न

भारतमा बलात्कारको परिभाषा दिने धारा ३७५ को नाममा बनेको सिनेमा हो, सेक्सन ३७५ । फिल्ममा एक फिल्म निर्देशकले आफ्नै कस्ट्युम (पोसाक) डिजाइनरलाई बलात्कार गरेको घटना छ । त्यो घटनाको न्याय निरुपणमा केन्द्रित सिनेमामा बलात्कारको घटनामा पीडितले न्याय पाउन र अपराधीले दण्ड पाउन कति समस्या छ ? कस्ता कानुनी र व्यवहारिक जटिलताहरु छन् भन्ने कुरा सुक्ष्मरुपमा केलाइएको छ ।

त्यो सिनेमामा देखाइए जस्तै महराबाट पीडित भएकी रोशनी शाहीले आफूमाथि यौन शोषण उजागर गरेवापत कति समस्या झेल्नुपर्ला भन्ने हामी सहज अनुमान लगाउन सक्छौं । उनले अबको यात्रामा कस्ता–कस्ता तगाराहरु पार गर्नुपर्ने होला ? के अब उनको न्याय खोजीको यात्रा सहज छ ? यस्ता धेरै प्रश्नहरुको जवाफ हाम्रो समाजले अहिले खोजिरहेको अवस्था छ ।

शायद त्यो फिल्ममा देखिएझैँ उनले पनि प्रहरीको अनुसन्धानको क्रममा धेरैपटक थप पीडा भोग्नुपर्नेछ । भर्खरै भएको स्वास्थ्य जाँचबाट शुरु भएको यो सिलसिला अदालतमा घटना विवरण पेस गर्दासम्म पटक–पटक चल्ने पक्का छ ।

यहाँ उठान गर्न खोजिएको बिषय यो हो कि के एक सामान्य महिला यी सबै कुरा भोग्न सक्लिन् ? जो घटना भन्दा अघिदेखि नै आफूमाथि भएको अत्याचारको कारण मानसिक रुपमा कमजोर भैसकेकी छिन् । न्याय खोजीको उनको कदम कति सकसपूर्ण बन्न सक्छ भन्ने हेक्का राखेर दृढता अब उनका लागि सम्भव होला ? शक्ति, सत्ता, पहुँच र पैसाका अगाडि उनको निरीहता कति दिन टिक्न सक्ला ? अहिले २८ वर्षसँगै बिताएका श्रीमानले समेत सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गराइसकेकी उनी कुना मोनोदशामा बाँचिरहेकी होलिन् ?

‘सेक्सन ३७५’ सँग तुलना गर्दा उठ्ने सबैभन्दा अहम् प्रश्न यो हो कि अभियुक्त रोहण खुरानालाई १० वर्षका लागि जेल पठाइरहँदा पीडित अञ्जली दुबे जसरी अपराधवोधसहित खिन्न मुद्रामा हेरिरहन्छिन् ।

के कृष्णबहादुर महराको सभामुख पद खोसिँदा र आमरुपमा उनी छिछि दुरदुरको पात्रका रुपमा सामाजिक सञ्जालमा छाइरहँदा रोशनी शाही पनि शायद अपराधवोध गर्दैछिन् वा वर्षौंको पीडा सार्वजनिक गरेकोमा खुशी छिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment