११ मंसिर, काठमाडौं। जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर लुटपाटको आतंक मच्चाउँदै हिँडेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका २५ वर्षीय निकेश विक, सोही ठाउँका २५ वर्षीय सुरज विक र बागलुङको ढोरपाटन नगरपालिका–३ का २५ वर्षीय बालकृष्ण गैरे छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरुबाट २ थान पेस्तोल र त्यसको म्याग्जिन बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए।
पक्राउ परेकाहरुको पृष्ठभूमि पनि आपराधिक देखिएको प्रहरीले बताएको छ । निकेशविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा मुद्दा रहेको पाइएको छ । उनीविरुद्ध नारायण सापकोटाले ११ माघ २०८१ ठगी, आराधिक लाभको कसुरमा जाहेरी दिएका थिए । यो कसुरमा उनी फरार हँदै आएको देखिएको छ ।
त्यस्तै निकेश ५ भदौ २०८१ मा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा चोरी सम्बन्धी कसुरमा जाहेरी परेर फरार हुँदै आएको देखिएको छ ।
अहिले पक्राउ परेका निकेश र सुरजले ५ मंसिर २०८२ मा राति २ बजेतिर बागबजारको भोज डिलको फुड डेलिभरी गर्ने निरज चौधरीलाई पेस्तोल देखाउँदै नगद तथा जिन्सी सामानहरु लुटपाट गरेको पाइएको प्रहरीले बताएको छ । यो कसुरमा उनीहरुविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा उजुरी समेत परेको थियो ।
अहिले त्यही पेस्तोलसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उक्त पेस्तोल जेनजी आन्दोलनको क्रममा उनीहरुले प्रहरीबाट लुटेको खुलेको छ ।
प्रतिक्रिया 4