Comments Add Comment

३२ वर्षदेखि अचार बेचिरहेकी उद्यमी हजुरआमा

बुटबलमा प्रख्यात बन्दै बसन्तीको अचार

२२ असोज, बुटवल । उमेरले ७२ वर्ष पुगिन् बसन्ती खत्री । तर, उनको जोश–जाँगर २७ वर्षिया युवतीको भन्दा कम छैन । उनी बुटबलमा अचार व्यवसायका लागि कहलिएकी छन् ।

सानो उमेरमै बर्मा र भारतमा बस्दा अचार बनाउन सिकेकी बसन्ती बुटवलमा पहिलोपटक अचार उद्योग खोल्ने महिला हुन् । २०४४ सालमा आफ्नै घरबाट उनले अचार बेच्न सुरु गरेकी थिइन् । २०५३ सालदेखि चाहिँ उनले यसलाई सातोतिनो उद्योगकै रुप दिइन् ।

उनको उद्योगमा बाह्रै महिना अचार खरिद गर्नेको घुइँचो नै लाग्छ । उनी आफै पनि कामदार सरह काम गर्छिन् । बुटवल क्षेत्रका होटेल, किराना पसलहरुमा पनि बसन्तीको अचार पुगेको हुन्छ ।

उनको उद्योगबाट २४ थरिका अचार उत्पादन हुन्छन् । हाल माछा र मासुको अचार समेत बनाउन थालेकी छन् उनले । २०६० सालदेखि बुटवलमा लाग्ने औद्योगिक प्रदर्शनी र ब्यापार मेलाहरुमा स्टल राख्न थालेपछि उनको अचार आम उपभोक्तामाझ लोकप्रिय हुन थाल्यो । उनको उद्योगले बनाउने अचार यतिबेला नेपालमा मात्र हैन विदेशसम्म पुग्ने गरेको छ ।

उत्पादनमा कुनै रसायन (केमिकल) नराख्ने र मसला पनि छुट्टै प्रयोग गर्ने बसन्तीको दावी छ । हाल हरेक महिना करिब ५० क्वीन्टल अचार पोखरा र १५ क्वीन्टल अचार नारायणगढ पठाउंछिन् उनी । अचार उद्योग चलाएरै उनले चार छोरी र तीन छोरा हुर्काउन, पढाउन सफल भइन् । श्रीमान् पहिल्यैदेखि विरामी भएकाले घरको आर्थिक जिम्मेवारी समेत वहन गर्दै उद्योगलाई निरन्तरता दिएकी बसन्तीको उद्योगमा ११ जना महिलाले रोजगारी पाएका छन् ।

वर्षमा करिब एक करोड रुपैयां हाराहारीमा अचारको कारोबार हुने बसन्तीको भनाइ छ । ‘धेरै नाफा खान्न, त्यही भएर थोक र खुद्रा ब्यापार धेरै हुन्छ,’ उनले भनिन्, ‘मेरो उद्योगबाट ४० रुपैयाँ प्रतिकेजीमा किनेर तीन सय रुपैयाँप्रति केजीसम्ममा व्यापारीले बेच्छन् ।’

रुपन्देहीमा लाग्ने मेला र औद्योगिक प्रदर्शनीमा उनका आधा दर्जन स्टल हुने गर्छन् । ‘अरुको तुलनामा मेरो अचार सस्तो र फरक स्वादको छ,’ बसन्ती भन्छिन्, ‘हाम्रो आचार विदेशमा पाहुरको रुपमा लैजाने पनि थुप्रै छन् ।’

उनको जेठो छोरो काठमाडौमा बोर्डिङ स्कूलका प्रिन्सिपल छन् भने माइलो छोरा यातायात व्यवसायी हुन् । कान्छो छोरा चाहिँ जापानमा छन् । छोरीहरुको पनि सबैको राम्रो बन्दोबस्त छ । छोराछोरीहरुले आमालाई अब आराम गर्नुस् भने पनि उनी मान्दिनन् । ज्यानले साथ दिउन्जेल काम गर्ने उनको अठोट छ ।

‘पैसाका लागि भन्दा पनि आफ्नो नामका लागि उद्योगलाई निरन्तरता दिएकी छु,’ बसन्तीले भनिन्, ‘उद्योगबाट मनग्य आम्दानी हुने भएकाले यो उमेरसम्म छोराछोरीसँग कहिल्यै पैसा माग्नुपरेन, बरु उनीहरुलाई दिने गर्छु ।’

बसन्तीले उद्योगबाट अहिलेसम्म भएको कमाइको हेक्का राखेकी छैनन् ।

‘कति कमाइयो, बैंकमा कति पैसा छ भनेर हिसाब राखेकी छैन, सबैले करोडपति भइस् भन्छन्,’ उनले सोझो पारामा भनिन् । उनले खाद्य तथा गुणस्तर विभागबाट उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि प्राप्त गरेकी छन् भने औद्योगिक प्रदर्शनी र ब्यापार मेलाहरुमा पनि पुरस्कृत भएकी छन् ।

रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका ५ नं. प्रदेश अध्यक्ष एजाज आलम बसन्तीको उद्यमशील जीवन सबैका लागि पनि अनुकरणीय रहेको बताउँछन् । ‘उहाँको जस्तो काममा लगाव र व्यवसायमा इमान्दारिता हुने हो भने सबैलाई उद्योग÷व्यवसायमा सफलता हात लाग्छ,’ आलमले भने, ‘राज्यले पनि यस्ता पौरखी महिलालाई उचित सम्मान दिनुपर्छ ताकि अरुलाई प्रेरणा होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment