Comments Add Comment

सुरुङमार्गको सन्देश : चीनको प्राथमिकता तातोपानी होइन रसुवागढी

२६ असोज, काठमाडौं । चीनले पहिलोपटक नेपालमा सुरुङमार्ग निर्माणमा लगानी गर्न चासो दिएको छ । केरुङ–काठमाडौंबीचको दूरी घटाउने गरी सुरुङमार्ग सहितको सडक बनाइदिन चीन तत्पर भएको हो ।

भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छोडेको थियो । त्यसकै विकल्पमा रसुवाको केरुङवारिको रसुवागढी नाकालाई चीनले अघि सारेको थियो । तर यो नाकासम्मको सडक बिजोक हलतमा रहेकाले यसको स्तरोन्नति गर्नुपर्ने आवश्यकता चीनलाई भन्दा बढी नेपालाई छ ।

तातोपानी नाकमा बढ्दो तिब्बतीयन गतिविधिलाई ध्यानमा राख्दै चीनले केरुङलाई नेपालसँगको प्रमुख नाकाका रुपमा मात्रै अघि सारेन, तातोपानी पारिको बजारलाई स्थानान्तरण गरेर नाकालाई लासो समयसम्म बन्द राख्यो । ढिला गरी नाका खुले पनि त्यहाँबाट हुने कारोबार खुम्चिएको अवस्था छ ।

चीनले रेलदेखि प्रसारण लाइनसम्मका योजनाहरु केरुङतर्फ केन्द्रित गरेर स्पष्ट सन्देश दिइसकेको छ । आइतबार चीनसँग नेपालले यातायात पूर्वाधार सञ्जाल सुधार योजना अन्तर्गत केरुङ काठमाडौं सुरुङसहितको सडकमार्ग निर्माणको अध्ययन गर्ने समझदारी गरेको छ ।

यो पनि पढ्नुहोस नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी

यो समझदारीले चीनले केरुङलाई दिएको प्राथमिकता झल्काउनुका साथै तातोपानी नाका अब चीनको कम प्राथमिकतामा छ भन्ने स्पष्ट गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए । यसबाट केरुङ चीनसँग नेपालको ‘कनेक्टिीभिटीको हब’ बन्न बाटो खोलेको उनको भनाइ छ ।

‘भूकम्पपछि केही अलमल भए पनि रसुवागढी नाकालाई सुरुङबाट जोड्न सहयोग गर्ने चीनको प्रतिवद्धताले अब सरकारलाई पनि तातोपानीमाथिको चिनियाँ नजर के हो भन्ने थाहा भएको छ,’ ती अधिकारी भने, ‘अलमलमा राख्नुभन्दा यसरी स्पष्ट ढंगबाट आएको विकासको प्रतिद्धतालाई समर्थन गर्नु नै लाभदायक हुन्छ ।’

भलै चीनले तातोपानी–अरनिको राजमार्गलाई स्तरोन्नतिको योजना बनाएको होस्, तर अब केरुङ पुग्ने नाकासम्म सुरुङमार्ग सहितको सडक बनेमा तातोपानी पुनः पहिलेजस्तै गुल्जार बन्न सक्ने छैन । सडक विभागका अनुसार अहिले मालबाहक सवारीलाई रसुवागढीबाट काठमाडौं आइपुग्न १२० किलोमिटरको यात्रा तय गर्नपर्छ । तर, यो १२० किलोमिटर सडक पनि सजिलो खालको छैन ।

उकालो–ओरालो, घुम्तीयुक्त सडकमा पहिलोको जोखिम उच्च छ भने धादिङको गल्छी आईपुग्दासम्म साँघुरा पुल र सडकका कारण सवारीलाई ५ घण्टा बढी समय लाग्छ । चीनले यो सडकलाई त्यतिकै रहन नदिने गरी सुरुङसहित काठमाडौंमा जोड्ने सडकमा लगानी गर्ने इच्छा देखाएको छ ।

यो योजना पुरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दूरी करिब ८० किलोमिटरमा छोटिने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । अब सुरुङसहित दुई लेनको सहज मार्ग निर्माणका लागि विस्तृत अध्ययन हुने उनको भनाइ छ ।

‘सुरुङ र पुलहरु बनाएर नाकासम्मको आवागमनलाई सहज पार्नु नेपालका लागि पनि निकै महत्वको विषय हो, अब अध्ययनले नै कति सहज खालको सडक कसरी बनाउन सकिन्छ भन्ने स्पष्ट गर्छ,’ शर्माले भने ।

यो पनि पढ्नुहोस तस्वीरमा राष्ट्रपति सीको नेपाल दौडाह

प्रारम्भिक अध्ययनले यो आयोजना सम्भाब्य भएको देखाईसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने सुरुङमार्ग करिब चार दशमलव दुई किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको छ । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दूरी घटाउन सकिने विभागको भनाइ छ ।

टोखाबाट थानसिंह फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेंसी खण्डमा जोडिनेछ । सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । सडक विभागले यो सडकलाई यसै वर्षबाट पिच सुरु गर्दैछ । त्यसैमा लगेर टोखाबाट जाने सडकलाई जोडिनेछ ।

स्याफ्रुदेखि रसुवागढीसम्म भने चीनले अहिले सडक विस्तारको लागि काम थालेको छ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक सवारी पनि दुई घण्टामै पुग्न सक्ने महानिर्देशक शर्माले बताए ।

‘अहिले केरुङसम्मको यात्रा निकै कष्टप्रद छ, धुन्चे भएर जाने राजमार्ग अप्ठेरो र जोखिमयुक्त भएकाले मालसमानको ढुवानी लागत पनि उच्च छ,’ शर्माले भने, ‘यदि काठमाडौंसम्म सहज खालको दुई लेनको बाटो बनाउन सकियो भने चीनसँग नेपालको ब्यापार सहजीकरणमा पनि मद्दत पुग्छ ।’

प्रस्तावित सुरुङसहितको सडकमार्ग निर्माण भएपछि समग्र आपूर्ति व्यवस्थामा सुधार आउने र नाकाबन्दीजस्तो असहज अवस्था आएमा विकल्प पनि दिनेछ । नाकाबन्दीका बेला चीनले दिएको तेल केरुङ नाकाबाटै भित्रिएको थियो । तर, सडकको अवस्थाका कारण निकै कष्टप्रद रुपमा ।

केरुङ नाकासम्मको सडकको दुरवस्थाले अहिले पनि पटक–पटक दुःख दिने गरेको छ । सकडमा पहिरो खसिरहने कारण यो सडकमार्गमा दुर्घटनाको जोखिम पनि उच्च छ ।

‘यो सडक कनेपछि भोलि रेलमार्ग बन्ने भयो भने पनि त्यसको मालसमान आपूर्ति गर्न सहज हुनेछ,’ महानिर्देशक शर्माले भने, ‘रेलमार्ग अली समय लाग्ने परियोजना हो, त्यसको निर्माणको लागि सहज सडकमार्गको पहुँच आवश्यक हुन्छ, त्यसैले सुरुङसहित काठमाडौं जोडिने सडकको विशेष महत्व हुनेछ ।’

पछिल्लो समयमा तिब्बतबाट केरुङ नाका भएर नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक पनि बढ्दैछन् । तर, नेपालतर्फका सडकको दुरावस्थाले धेरै पर्यटकलाई स्थलमार्ग भएर आउन रोक्ने गरेको छ ।

रसुवागढीसम्म सहज सडक निर्माण भएमा तिब्बतमा आएका पर्यटक पनि नेपालमा सडकमार्गबाटै आउने क्रम बढ्ने छ । पर्यटन व्यवसायी सुमन पाण्डे चीनसँगका नाकाहरुसम्म सडकमार्गलाई व्यवस्थित गर्दा पर्यटन आगमन बढाउन मद्धत पुग्ने बताउँछन् । उनको भनाइमा केरुङसम्म सहज मार्ग बन्दा त्यसको लाभ चीनले भन्दा कयौं गुणा बढी नेपालले नै उठाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment