Comments Add Comment

दुम्जा दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारद्वारा क्षतिपूर्ती माग

२६ असोज, सप्तरी । काठमाडौंबाट आफ्नो घर राजविराजतर्फ आउने क्रममा गत असोज १८ गते सडक दुर्घटनामा ज्यान गुमाएकी युवतीको परिवारले चालकको लापर्वाहीका कारण दुर्घटना भएको जनाएका छन् । मृतक परिवारले राज्यसँग क्षतिपूर्तीको माग समेत गरेका छन् ।

दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक सिन्धुलीको सुनकोसी गाउँपालिका १ स्थित वीपी राजमार्गको दुम्जामा दुर्घटना हुँदा राजविराज ६ निवासी लक्ष्मी देवसहित तीन जनाको मृत्यु भएको थियो ।

मृतकका परिवारले आईतबार राजविराजमा पत्रकार सम्मेलन गर्दै चालकको चरम लापर्वाहीका कारण दुर्घटना भएको बताए । ‘दुर्घटनामा बसका चालकलाई सामान्य घाउ पनि देखिएको छैन’ मृतकका दाजु चन्द्रनारायण देवले भने, “दुर्घटनाको राम्रोसँग अनुसन्धान गरी क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।” उनले चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग गरे ।

छोराको हत्यारा पत्ता लगाउन माग

दुर्घटनामा परी मृत्यु भएका लक्ष्मी देवका दाजु जितेन्द्रनारायण देवको पाँच बर्षअघि दशैंमा नै हत्या भएको थियो । मृतककी आमा आशा देवले हालसम्म पनि आफ्नो छोराको हत्यारा पत्ता लाग्न नसकेको बताइन् ।

‘आफ्नो छोरालाई किन मारियो ?’ त्यत्ति त बुझन सक्छु नि !’ मृतकका पिता रामशंकर लाल देवले भने, “छोराकै वियोगमा बुहारीको ज्यान पनि गइसकेको छ । अब पनि छोराको हत्यारा पत्ता लागोस् ।”

२०७२ साल असोज ३० गते देशैभरि दशैं मनाइरहँदा जितेन्द्रनारायण देवको हत्या भएको थियो । हत्या भएको अवस्थामा उनको शव बरहीबीरपुर गाविसको नहर छेउमा फेला परेको थियो ।

धार्मिक आस्थाप्रति विश्वास राख्ने देव भलादमी स्वभावका थिए । सिएमए पास गरेका देव रोजगारी नपाएपछि पसल चलाएर गुजारा गरिरहेका थिए । उनको २०७२ सालकै बैशाख १७ गते झापाको शिवगंज निवासी विष्णु माया देवसँग विवाह भएको थियो ।

पतिको वियोगमा बिष्णुमायाको पनि ज्यान गइसकेको छ । हत्या भएको ५ बर्ष बित्दा पनि उनको हत्याको कारण खुल्न सकेको छैन् भने हत्यारा पनि पक्राउ परिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment