
काठमाडौँ । वीरगञ्जको मुस्कान खातुनले जिन्दगीको सबैभन्दा विभत्स दिनहरु बाँचेको आज ठ्याक्कै ३७ दिन भयो। यो ३७ दिनका केही दिन रोएर बिते । केही दिन अर्धबेहोशीमै । तर, आजकाल उनले रुन बिर्सिसकेकी छन् । जिन्दगीमा आइलागेको घटना भोग्नैपर्ने यथार्थ बोध भइसकेको छ ।
‘यति सानो उमेर र यो अवस्थामा यत्रो आत्मविश्वास ! कसरी ?’
बलिउड सेलिब्रेटी अमिताभ बच्चनदेखि नेपाली सुपरस्टार राजेश हमालसम्म, क्रिकेट स्टार पारस खड्कादेखि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडासम्मले मुस्कानलाई हौसला दिइसकेका छन् । टिभीमा देखिरहेको आफ्नो ‘आइडल’ सामुन्ने देख्दा र उनीहरुबाटै हौसला पाउँदा उनी दंग छिन् ।
उनी पारस खड्का र राजेश हमालको हौसलाले हौसिएकी छिन् । नीति शाह र श्रृंङ्खला खतिवडाको संगतले आत्मविश्वास पलाएको छ । गायिका आनी छोइङ डोल्मा र दुबै हात नभएकी सरकारी कर्मचारी (नायब सुब्बा) सुशीला ढकालको कुराले केही गर्न सक्छु भन्ने हिम्मत बढेको छ ।
त्यसैले त भेट्न पुग्ने जोकोही सेलिब्रेटीलाई भन्छिन्, ‘म त डाक्टर बन्छु नि….।’
उनको कुरा सुनेर सबै सेलिब्रेटी हौस्याउँदै भन्छन्, ‘हो तिमी सक्छौं । तिम्रो सपना पूरा गर्न हामी सहयोग गर्छौ ।’
गएका ३७ दिनमा २ दर्जनभन्दा बढी नेपाली सेलिब्रेटी मुस्कानलाई भेट्न पुगिसके। बलिउड सेलिब्रेटीहरुले भिडियो सन्देश पठाइरहेका छन् । यो किसिमको प्रतिक्रियाले मुस्कान हर दिन मुस्कुराइरहेकी छिन् । उनी चकित पर्दै भनिरहन्छिन्, ‘म त डाक्टर बन्नलाई जति पनि पढ्छु, उहाँहरुलाई भनिसकेँपछि डाक्टर बनिन भने त लाज हुन्छ ।’
***
मुस्कानको मुस्कान ल्याइरहन अभियन्ता उज्वलविक्रम थापा दिनरात लागिरहेका छन् । उज्वल हरेक दिनजसो सेलिब्रेटी लिएर अस्पताल पुग्छन् । सेलिब्रेटीसँग गफिन पाए मुस्कान मुस्कुराउँछिन् । उज्वल त्यसै खुशी हुन्छन् ।
मुस्लिम समुदायको भए पनि दशैंमा उनले उज्वलको हातबाट टीका थापिन् । टीका लाउन पाउँदा मख्ख पर्दै भनिन्, ‘अब त म हरेक वर्ष दशैं मनाउने…।’
उज्वलले भने, ‘हुन्छ छोरी, हामीसँगै मनाउने है ।’
उज्वल र मुस्कानको नाता अहिले बाबुछोरी जस्तै भएको छ । उज्वल एकछिन ढिलो अस्पताल पुग्दा उनी रिसाउदै बस्छिन् । उज्वल फकाउँदै भन्छन्, ‘मेरो छोरी स्ट्रोङ हो, रिसाउने र रुने कहिल्यै गर्दिनन् ।’
त्यसपछि मुस्कान आफ्नो इच्छा चाहना सुनाउँछिन् । उज्वल त्यो पूरा गर्न लागि पर्छन् । अस्पताल पुग्ने अधिकांश सेलिब्रेटी मुस्कानकै रोजाइका हुन् । उज्वल भन्छन्, ‘सम्भव भएसम्म उसको चाहना पूरा गर्न लागिरहेको छु ।’
उज्वलसँग छोरीको घनिष्टता देखेर मुस्कानका पिता रसुल पनि मख्ख छन् । छोरीको परिवर्तनले तनाव घट्दैछ । मुस्कानले सपना देखिसकेकाले पनि रसुललाई केही ढुक्क भएको छ । छोरीको सपना पूरा गर्न पाए धन्य हुने सुनाउँछन् । भन्छन्, ‘मेरो तर्फबाट म छोरीको सपना पूरा गर्न लागिरहन्छु ।’
जिन्दगीको कालो दिन भुल्दै गएकी मुस्कानसँग सपनाबाहेक विगतप्रति गुनासो छैन । आत्मविश्वास बढ्दै गएको छ । अनेक कुराकानी गरिरहन्छिन् । सेलिब्रेटी भेट्ने बानी परेकाले हरेक दिन कोही न कोही आइदिए हुन्थ्यो भन्ने आश गरिरहन्छिन् । उनको यो स्वाभाव देखेर सबै छक्क परिरहेका छन् ।
***
मुस्कानको चाहना पूरा गर्न लागिरहेका उज्वललाई धेरैले सोध्छन्, ‘यो सब के को लागि ?’
उज्वलको सोझो जवाफ छ, ‘मुस्कानको खुशी र मेरो आत्मसन्तुष्टिको लागि । मेरो कारण कोही मुस्कुराउँछ भने मलाई आत्मसन्तुष्टि मिल्छ ।’
बुधबार मात्रै नेपाली क्रिकेटका स्टार पारस खड्का, गायिका आनी छोइङ डोल्मा र सरकारी कर्मचारी सुशीला ढकाल अस्पताल पुगे । उनीहरु सबैले मुस्कानलाई डाक्टर बन्न सक्छौ भन्दै हौसला दिए । उनी केही समय गफिइन् । केही दिनमा फेरि आउनु भन्दै बिदा गरिन् ।
यस्तै क्षणको लागि आफू लागिरहेको उज्वल बताउँछन् ।
***
पाँच वर्षअघि वसन्तपुरमा एसिड आक्रमणमा परेका सीमा-संगीता हुन् या केही महिनाअघि कालोपुलमा आक्रमणमा परेकी जेनी खड्का । यो बीचमा जे-जति महिला एसिड आक्रमणमा परे, अधिकाशंलाई सहयोग जुटाउन लागिपरेका छन् र थापाको अभियानको नारा छ – एसिड आक्रमणकारीलाई जन्मकैद ।
थापाको अभियानका तीनवटा माग छन् ।
पहिलो- एसिड जथाभावी बेच्नेलाई कारवाही हुनुपर्छ ।
दोस्रो- एसिड प्रहार गर्नेलाई जन्मकैदको सजाय हुनुपर्छ ।
र, तेस्रो- एसिड आक्रमणमा परेका महिलालाई सरकारले भरण पोषण गर्नुपर्छ ।
यी माग पूरा भए एसिड आक्रमणका घटना घट्ने थापाको विश्वास छ । तर, पीडित बढिरहे पनि कानुन निर्माणमा सरकारले ध्यान नदिएको गुनासो गर्छन् ।
मुस्कानलाई भेट्न अस्पताल पुग्ने अधिकाशं सेलिब्रेटी थापाको अभियानसँग सहमत छन् । एसिड आक्रमणकारीलाई जन्मकैद गर्ने कानुन नबनेसम्म यस्ता घटना दोहोरिरहने कुरा हरेक सेलिब्रेटीले दोहोर्याइरहेका छन् । उज्वल भन्छन्, ‘सबैले राज्यलाई दबाब दिएर कानुन बने त यस्ता घटना कम हुन्थे कि ?’
प्रतिक्रिया 4