Comments Add Comment

रामपुरमा एसियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन सुरु

३ कात्तिक, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन आइतबार आइतबारबाट सुरु भएको छ ।

विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा सुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रा सम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ ।

कात्तिक ६ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन राष्ट्रियसभाकी सांसद पार्वती रावलले गरिन् । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरिका, क्यानडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेशिया, बंगलादेश, फ्रान्स र केन्या देशका बाख्रा विषेशज्ञ सहभागी छन् ।

सम्मेलनमा खाद्य तथा पोषणको श्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृखला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि सम्बन्धी ७ वटा विषेशज्ञ, २१ वटा आमन्त्रित, ३५ वटा मौखिक एवम् ५२ बढि पोष्टरहरु गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने सम्मेलनका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीका रुपमा रहेको पीपीआर रोग र त्यसको नियन्त्रण जस्ता विभिन्न विषयमा समूहगत छलफल गरिने डा. भट्टराईको भनाइ छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एशोसिएसनका अध्यक्ष डा. वेथ मिलर, आगामी वर्ष हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलन २०२० को आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेवई कृषि विश्वविद्यालय डीन प्रा.डा.यिङ्गजी झाङग, जापानको मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासीलगायतका विषेशज्ञहरुको सहभागिता छ ।

विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

नेपालमा बाख्राको व्यवसाय

पशु सेवा विभागको तथ्याङ्कअनुसार नेपालका चौपाया पशुहरुको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै करिब १ करोड १६ लाख रहेको अनुमान छ ।

विश्वमा करिब ३५१ प्रजातिका बाख्रामध्ये एसिया महादेशमा मात्रै १४६ प्रजातिका बाख्रा पाइन्छन् ।

नेपालमा ४ प्रजातिका रैथाने बाख्रा छन् । हिमाली भेगमा २ देखि ३ प्रतिशत च्याङग्रा, उच्च पहाडी भेगमा सिनहाल १५ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ५० प्रतिशत खरी र बाँकी तराई बाख्रा तराई क्षेत्रमा पाइने गरिन्छ ।

नेपालमा पाइने बाख्राको ३५ प्रतिशत उन्नत जातका बाख्रा छन् । पछिल्लो समयमा नेपालमा सानन् जातका बाख्रा दूध र चीजका लागि प्रयोग गर्न पाल्न थालिएको छ । यस्तो बाख्राले दिनमा २.५ लिटरदेखि ३ लिटरसम्म दूध दिन्छ ।

नेपालमा बोयर जातको बाख्रालाई व्यवसायिक रुपमा पाल्ने अभियान चलेको छ । यसबाट बढी फाइदा हुने भएकोले व्यवसायिक किसानहरु यसतर्फ आकर्षित हुन थालेका छन् ।

विश्वको कूल बाख्राको संख्याको करिब ९२.५ प्रतिशत एसिया र अफ्रिका महादेशमा पाइने बाख्रा विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए ।

विश्वव्यापी बाख्रापालनको तथ्याङ्क हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौं स्थानमा छ । पहिलो स्थानमा चीन र दोस्रोमा भारत पर्दछन् ।

व्यापार तथा निर्यात प्रर्वद्धन केन्द्रको २०७४/०७५ को तथ्याङकलाई हेर्दा नेपालमा गत वर्ष मात्रै भारत, मलेशिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्याण्ड र जर्मनीलगायतका देशबाट करिब ५ अर्व बराबरका जीउँदा बाख्रा र मासु आयत गरेको देखिन्छ । जसमध्ये ३ अर्व २९ करोड बराबरका जीवित बाख्रा र १८ करोको मासु र १ अर्व ८३ करोड बरावरको माछा आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment