Comments Add Comment

फिल्म खिच्नलाई लोकेशन पाउनै मुश्किल

प्रसंग १ः केही समय अगाडि एउटा चलचित्रको छायांकन हुँदै थियो । चलचित्रका लागि काठमाण्डौमा एक आकर्षक घरको समेत चाँजोपाँजो मिलाइएको थियो । चलचित्रका निर्देशक नयाँ थिए । घर धनीले घर नै छाडेर सुटिङका लागि उपलब्ध गराएका थिए । तर, चलचित्रका निर्देशक घरको आकर्षक सोफामा उपरखुट्टी लगाएर बसे । सोही समयमा घरमा आएका घर धनीले किन यसरी बस्नुभयो भनेर सोधे ? निर्देशकले उल्टै, तपाई को हो भनेर घर बेटीलाई प्रश्न गरे ? निर्देशकको यो शैलीले घर धनीले घर नदिने अडान लिए र सो घरमा चलचित्रको छायांकन नै हुन सकेन ।

प्रसंग २ः केही समय अगाडि पोखराको एउटा होटलमा नायक भूवन केसीले चलचित्र ‘ड्रिम्स’को छायांकन सके । तर, चलचित्रको छायांकन सकेपछि पनि निर्माताले घर धनीलाई पैसा दिएनन् । यसपछि, होटल संचालकले चलचित्र छायांकनका उपकरण नै होटलमा राखिदिएका थिए ।

प्रसंग ३ः चलचित्र ‘साँइली’ र कबड्डी कबड्डी कबड्डी’को छायांकनका लागि धम्पुसमा पुगेका निर्माता मणिराम पोखरेलले पनि यस्तै समस्या भोगे । उनी पुग्नु अगाडि छायांकन भएका केही चलचित्रका निर्माताले घर प्रयोग गरेपनि पैसा नतिरी हिडे । स्थानिय क्लबहरुलाई केही पैसा हेरौला भनेर दिएको आश्वासन पुरा गरेनन् । जसले गर्दा, यी दुई चलचित्रलाई छायांकन गर्न समस्या भयो । निर्माता पोखरेलले, केही निर्माताले गर्दा धेरै निर्मातालाई समस्या भएको गुनासो गरे ।

यी त केही प्रसंग मात्र हुन् । अहिले, नेपाली चलचित्रको छायांकन लागि लोकेशनको समस्या बढ्न थालेको छ । नेपाल सरकारले सुटिङ स्टूडियो बनाउने भनेर विभिन्न स्थानमा करोडौ रकम खर्च गरेपनि अहिलेसम्म यो प्रक्रियाले कुनै गती लिन सकेको छैन । काठमाण्डौमा नै सुटिङ स्टूडियो बनाउने घोषणा बजेटमै भैसकेको छ । तर, चलचित्रकर्मीलाई भने चलचित्र खिच्नका लागि समस्या पर्न थालेको छ ।
छायांकनको लागि राम्रो इनडोर स्टुडियो नुहँदा चलचित्रकर्मीले ठूलै समस्या भोगिरहेका छन् । एकातिर इनडोर छायांकन गर्ने स्थान नहुनु, अर्कोतिर केही चलचित्रकर्मीको बदमासीका कारण यस्ता लोकेशन पाउन नै मुश्किल हुनु, चलचित्र खिच्नका लागि समस्या पर्न थालेको छ ।

यसको प्रत्यक्ष अनुभव खेपेका छन्, प्रोडक्सन डिजाइनर सुरज आचार्यले । चलचित्र ‘अन्जली’को छायांकनको लागि एउटा घर पक्का भयो । त्यस घरको सुटिङ सेड्युल ५ दिनको थियो । दुई दिनसम्म त घर धनीले सुटिङ गर्न दिए । तर, तेस्रो दिन गेटमा नै ताला लगाइदिए ।

त्यो कुरालाई सम्झिदै सुरज भन्छन्–‘हाम्रो घर भित्र भएको सबै सामान बाहिर कम्पाउन्डमा राखेर घर धनीले ताला नै लगाइदिए । त्यहाँ त कन्टिन्युटी नै बिग्रियो नी ।’ यो समस्या सुरजले मात्र खेपेका हैनन् । यो समस्या खेप्नेहरुको संख्या चलचित्र क्षेत्रमा धेरै भएको उनले बताए ।

एउटा खोजेजस्तो घर मिलाउनको लागि झुकेर नमस्कार गर्नुपर्नेदेखि हरेक बाहना बनाएर फकाउनु पर्ने सुरजको अनुभव छ । उनले थपे–‘यो कुरा उपत्यकामा मात्र हैन, उपत्यका बाहिर पनि उस्तै छ । आफन्त वा चिनेजानेको भएमात्र राम्रो घर पाइने हो ।’

सुटिङको लागि कथाले खोजेजस्तो लोकेशन नपाउदा धेरै चलचित्रहरुलाई असर परेको सुरजको भनाई छ । ‘चलचित्रले सरकारी कार्यलयको दृष्य मागिरहेको छ भने हामीले यसका लागि सेट नै लगाउनुपर्छ । आदालतको होस् वा अरु कुनै मन्त्रायल, सबैको सेटमा काम गर्नुपर्छ’, गुनासो गर्दै उनी थप्छन्–‘यदि सरकारले केही शुल्क लिएर खाली समयमा छायांकन गर्न दिने हो भने चलचित्र पक्कै राम्रो र वास्तविक बन्ने थियो ।’

अर्का प्रोडक्सन डिजाइनर शंकर पाण्डेको गुनासो पनि यस्तै छ । आउटडोर खिच्न भन्दा पनि इनडोर खिच्न बढी समस्या भएको उनी गुनासो गर्छन् । उनले भने–‘हामीलाई इनडोर खिच्नुपर्यो भने साच्चिकै तनाव हुन्छ । कहिले भव्य घर चाहिएको हुन्छ । कहिले हस्पिटल । त्यो मिलाउन निकै गाह्रो पर्छ ।’

घर पाइहाले पनि फकाएर खिच्न निक्कै मुश्किल छ । उनले थपे–‘भव्य घर धनी मान्छेहरुको नै हुन्छ । उहाँहरुलाई २०–३० हजार रुपैयाँको मतलब नै हुँदैन । यसैले, पैसा दिएर फकाउने कुरा त सम्भव नै हुदैन । त्यहाँ हामीले उहाँहरुलाई फकाएर सुटिङ गर्नुपर्ने हुन्छ ।’ उनी धनीलाई फकाउन अनेक उपाय लगाउँछन् । ‘तपाईहरुले सहयोग नगरे चलचित्र क्षेत्र कसरी अगाडि बढ्छ भन्नेदेखि झुकेर नमस्कारसम्म गर्नु पर्छ’– शंकर भन्छन् ।

काठमाण्डौ बाहिर छायांकन गर्न पनि अहिले निकै मुश्किल भएको उनले बताए । चलचित्रको काम भन्ने बित्तिकै जो कोहीले पनि पैसा माग्ने गरेको उनको अनुभव छ । उनले थपे–‘अहिले पानी फोटोको सुटिङमा काम गरिरहेको छु । नयाँ ठाउँ भएका कारण मलाई एक जना भाईले केही सामान्य सहयोग गरिरहनुभएको छ । उहाँले पनि मसँग हरेक दिन रिचार्ज माग्नुहुन्छ ।’

बाहिर पुगेर छायांकन गर्दा हरेक कुरामा ध्यान दिनु जरुरी हुने शंकर बताउँछन् । सुटिङमा जानु पूर्व होमवर्क गर्नुपर्ने कुरामा पनि शंकर विशेष जोड दिन्छन् । उनले भने–‘यदि सुटिङमा जानु पूर्व हामीले सम्पूर्ण तयारी गरेर गएनौँ भने हामी चिप्लिन सक्छौँ ।’

चलचित्रको छायांकन भन्ने वित्तिकै लोकेशन उपलब्ध गराउन सम्बन्धित स्थानका धनीहरु हच्किने गरेका छन् । यसको पछाडि, केही चलचित्रकर्मीको काम गर्ने शैली पनि कारण हो । कतिपयले होटलको पैसा नै नदिने त कतिपयले बाँचा गरेको रकम नतिरी हिड्ने गरेका कारण यस्तो समस्या अन्य चलचित्रकर्मीले भोग्ने गरेका छन् ।

प्रोडक्शन डिजाइनर सुरज आचार्यले भने–‘पोखराका होटलवालाहरुले त मलाई फोन गरिरहनुहुन्छ । यस्तो मान्छेहरु आउनु भएको छ के गरौँ भन्नुहुन्छ । म मान्छे चिनेर हुन्छ वा हुन्न भनिदिन्छु ।’ आफूले आजसम्म होटलको पैसा नतिरी हिड्न नपरेको आचार्य र पाण्डेको दावी छ ।

राम्रो टिममा काम गर्न पाएकाले पनि त्यो झमेलामा आफू नपरेको शंकरले बताए । ‘पहिला पहिला दुःख पाएँ होला’, शंकरले भने, ‘तर, अहिले मैले काम गर्ने टिम एकदमै प्रोफेशनल टिम हुन्छ । त्यसैले त्यो झमेला खेप्नु परेको छैन ।’

इनडोर सुटिङको समस्यालाई चलचित्र विकास बोर्ड, निर्माता र प्रदर्शकहरुले मिलेर समाधान गर्नुपर्ने शंकरको बुझाई छ । चलचित्रकर्मीहरु अहिले इनडोर छायांकन लागि समस्या भोगिरहेका छन् । झुकेर नमस्कार गर्दै घर मिलाएर समस्याको समाधान लामो समयसम्म हुँदैन । यसका लागि इनडोर छायांकनका लागि सरकारी तबरबाट नै समाधानको उपाय खोजिनुपर्छ । होइन भने, एकातिर केही चलचित्रकर्मीको बदमासीका कारण सिंगो चलचित्र क्षेत्र नै बदनाम भैरहने क्रम घट्नेछैन भने अर्कोतिर, चलचित्रकर्मीहरुले कथाले मागे अनुसारको लोकेशन नपाउने समस्या भोगिरहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment