Comments Add Comment

बालाजु औद्योगिक क्षेत्रमा थुपारिएका २ लाख माला वैध कि अवैध ?

८ कात्तिक, काठमाडौं । तिहार नजिकिँदै गर्दा नेपाली फूल व्यवसायीहरु भने केही दिनदेखि सरकारी अड्डा धाइरहेका छन् । व्यवसायीहरूको संगठन फ्लोरिकल्चर एसोसिएसनले मंगलबार जिल्ला प्रशासन कार्यालयमा एउटा निवेदनसमेत दर्ता गरायो ।

काठमाडौंमा भारतबाट अवैध रूपले लाखौं माला भित्रिएको भन्दै निवेदनमा छानबिनको माग गरिएको थियो । व्यवसायीका अनुसार भारतबाट अवैध रूपमा ल्याइएका माला बालाजु औद्योगिक क्षेत्रमा स्टोर गरिएको छ । यसरी स्टोर गरिएका मालाको तस्वीरसमेत खिचेर व्यवसायीले सरकारलाई बुझाएका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र ललितपुर, भन्सार विभाग र वाणिज्य विभागमा पनि व्यवसायीको निवेदन परेको छ ।

बालाजु औधौगिक क्षेत्रमा स्टोर गरिएको मालाको वैधता जाँँच्न र अन्य भारतबाट आयातीत फूल र मालाको गुणस्तर परीक्षण गर्न आग्रह गरिएको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । अवैध माला भित्रिएको सूचनापछि एसोसिएसनको टोलीले गोप्य अनुसन्धान गरेको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आएको दुई लाख थान माला बालाजु औद्योगिक क्षेत्रभित्र कोल्डस्टोरमा थुपारिएको भेटियो । त्यसरी ल्याइएको मालाको फाइटो स्यानेटरी प्रमाण पत्र, भन्सार पासजस्ता वैद्यताको प्रमाण छैनन् । त्यसैले त्यसलाई सरकारले जफत गर्नुपर्छ ।’

अवैध भित्रिने ठूलो परिमाणको मालाले नेपाली पुष्प व्यवसायीहरू मारमा परेको उनी बताउँछन् । भन्सार विन्दुमा सरकारी अधिकारीहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै श्रेष्ठले भने, ‘बालाजुमा भित्रिएको माला भारतको कोलकत्ताबाट ल्याइएको हाम्रो अनुमान छ । हाम्रो आग्रह सरकारले नसुने एसोसिएसनले युवाहरुको कार्यादल बनाएर भारतीय मालाको बिक्री गर्न रोक्नेबारे छलफल भइरहेको छ ।

प्लान्ट क्वारेन्टाइनको ताकेता

तिहारलक्षित फूलको आयात बढ्न थाल्ने भन्दै कात्तिक ३ गते देशैभरका प्लान्ट क्वारेन्टाइन कार्यालयहरुलाई फाइटो स्यानेटरी प्रमाणपत्र (स्वस्थता र विषादीरहित प्रमाणपत्र) मा कडाइ गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले परिपत्र गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसहित देशैभरका १४ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालयलाई आइतबार विभागले परिपत्र गरेको विभागका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए ।

चाडपर्वको समय भन्दै स्वस्थता प्रमाणपत्र नभएका अवैध फूल नेपाल भित्रिन सक्ने भन्दै मातहतका कार्यालयहरुलाई सचेत गराइएको उनले बताए ।

‘तिहारमा फूलको अभाव होला भन्ने ठानेर खुकुलो नपारियोस भन्न परिपत्र गरिएको हो,’ हुमागाईले भने ।

विभागका अनुसार कुनै पनि कृषि र वनस्पतिजन्य वस्तु एक देशबाट अर्को देशमा आवाजावत गराइँदा स्वस्थता र कुनै पनि खाले हानिकारक किरामुक्त भएको प्रमाण पत्र (फाइटो सेनेटरी सर्टिफिकेट) अनिवार्य हुन्छ । भारतलगायतका मुलुकबाट नेपालमा बर्सेनि करोडौं रुपैयाँको फूल आयात हुन्छ । अझ तिहारजस्ता ठूला पर्वमा फूलको आयात झनै बढ्ने हुनाले अवैध र अस्वस्थ फूलको आयात रोक्न विभागले कडाइ गरेको बताएको छ ।

सरकारी तथ्याङ्कअनुसार, आर्थिक वर्ष ०७४/७५ मा १० करोड बराबरको फूल आयात भएको थियो । यस्तै ०७५/७६ मा १९ करोडको फूल आयात भएको थियो ।
यसपालि पनि तिहार नजिकिएसँगै सीमा नाकाबाट भारतीय सयपत्री फूल आयात बढ्न थालेको छ । झापाको काँकडभिट्टा र रूपन्देहीको भैरहवा नाका भएर र लाखौं रुपैयाँ बराबरको सयपत्री फूल र माला आयात हुन थालेको ती नाकाका वनस्पति क्वारिन्टिन कार्यालयहरुले जनाएका छन् ।

कात्तिक १ गते देखि ७ गते बिहानसम्म काँकडभिट्टा नाका भएर फाइटो स्यानेटरी प्रमाणपत्र (स्वस्थता र विषादीरहित प्रमाणपत्र) ल्याएका १५ मेक्ट्रिक टन सयपत्रीको माला नेपाल भित्रिएको छ । भारतीय व्यपारीहरुले भित्र्याएको फूलको प्रतिकिलो मूल्य ८० रुपैयाँ नेपाली उल्लेख गरेको वनस्पति क्वरिन्टिन कार्यालय काँकडभिट्टाका बाली संरक्षण अधिकृत सुरेशकुमार शाहले जानकारी दिए ।

भैरहवा नाका भएर दैनिक ५० देखि ६० किलोका दरले सयपत्रीका माला नेपालतर्फ भित्री रहेको वनस्पति क्वारेन्टाइन कार्यालय भैरहवाले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ वनस्पति सुरक्षा अधिकृत विष्णुप्रसाद काफ्लेका अनुसार अन्य कट फ्लावरसहित सयपत्रीका माला यो नाका भएर भित्रिएका छन् ।

आयातीत फूल स्वस्थ र विषादीरहित भएको प्रमाणपत्रका आधारमा पास गरिने गरेको उनले बताए । यस्तै, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज नाका भएर अहिलेसम्म माला फूलजन्य वनस्पति नभित्रिएको त्यहाँका क्वारेन्टाइन कार्यालयहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment