Comments Add Comment

पहिलो त्रैमासिक रिपोर्ट : आयात घट्यो, साँघुरिदै व्यापार घाटा

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि –असोजसम्मको अवधि) मा देशको वैदेशिक व्यापार सुधारको बाटोमा देखिएको छ । यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा साँघुरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भयो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

विभागको तथ्याङ्कअनुसार यस वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३४ प्रतिशतले आयात घटेको छ । अघिल्लो दुई महिनामा वस्तु आयातमा १.२२ प्रतिशतले कमी आएको थियो । चालु आवको पहिलो महिनामा पनि आयात घटेको थियो ।

निर्याततर्फ यस वर्ष पहिलो तीन महिना १४.४१ प्रतिशत वृद्धि भएको छ । २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँको निर्यात व्यापार भएको छ । अघिल्लो वर्ष तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

सुधारिएको व्यापार घाटा

आयात घट्नु र निर्यात बढ्नुले समग्र वैदेशिक व्यापार घाटामा थोरै सुधार आएको देखिन्छ । तथ्यांकअनुसार कूल वैदेशिक व्यापार घाटा चालु आवको तीन महिनामा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवको यही अवधिमा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । यसअनुसार चालु आवमा कूल व्यापार घाटा ८.८६ प्रतिशतले सुधार भएको छ ।

अर्थ मन्त्रालयका अनुसार अहिले विलासिताको सामान आयातमा कडाइ गरिएको छ । नेपालमै उत्पादन हुने वस्तुको आयातमा भन्सारका दरसमेत बढाइएको छ । त्यसको सकारात्मक प्रभाव समग्र वस्तु आयातमा देखिन थालेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

वस्तु आयातमा आएको कमीले समग्र वैदेशिक व्यापार नै घटेको छ । तीन महिनामा ३ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्ष ३ खर्ब ९७ अर्ब ३३ करोड व्यापार भएको थियो ।

बढ्दैछ निर्यातको हिस्सा

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा उकालो लागेको छ । यस वर्षको पहिलो तीन महिनामा कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.५ प्रतिशत पुगेको छ ।

अघिल्लो आवको पहिलो तीन महिनामा निर्यातको हिस्सा ६ प्रतिशत मात्र रहेको थियो । यस वर्ष निर्यातको हिस्साको वृद्धिदर २५ प्रतिशत रहेको छ । आयातको हिस्सा भने ९२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तीन महिनामा आयातको हिस्सा ९४ प्रतिशत रहेको थियो । यस वर्ष आयातको हिस्सा १.६२ प्रतिशतले ओरालो लागेको छ ।

१२२ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार

तथ्यांक अनुसार अहिले नेपालले १ सय २२ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्छ । त्यसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतबाट २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात हुँदा १७ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

भारतसँग १ खर्ब ८९ अर्ब ५४ करोड बराबरको व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ । चीनबाट ५९ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ । त्यसबाहेक इन्डोनेसिया, अमेरिका, क्यानडा, यूएइ, फ्रान्स, साउदी अरेविया, थाइल्याण्ड, दक्षिण कोरियालगायत मुलुकबाट धेरै वस्तु आयात हुने गरेको छ ।

नीतिगत परिवर्तनको प्रभाव हो : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सरकारको नीतिअनुसार नै आयात घटिरहेको बताउँछन् ।

‘हामीले व्यापार घाटामा सुधार गर्नु नै छ,’ उनले भने, ‘त्यसक्रममा एकातर्फ आयात घटाएर स्वदेशी उत्पादनको खपत बढाउने र अर्को निर्यात प्रवद्र्धन गर्ने नीति नै हो ।’

आयात घट्दा त्यसले राजस्व संकलनमा भने चाप पार्ने उनको भनाई छ । ‘राजस्व संकलनको चूनौति त हुनेछ’, उनी भन्छन्, ‘तर आयात घट्दै व्यापार घाटा कम हुनु अर्थतन्त्रका लागि सकारात्मक संकेत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment