Comments Add Comment

कपिलवस्तु घटनामा स्थानीय प्रशासनको मुख्य कमजोरी

कहाँ चुक्यो प्रशासन ? के छ दीर्घकालीन समाधान ?

१५ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा बढेको विवादपछि स्थानीय प्रशासनले कपिलवस्तुको कृष्णनगरमा लगाएको कर्फ्यू  शुक्रबार पनि हटेन । स्थिति सामान्य भएपछि कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका थिए ।

कफ्र्युकै बीचमा बिहीबार प्रहरीको गोलीबाट सुरज पाण्डेको मृत्यु भएको छ । सरोकारवालाहरू भने जनधनको क्षति हुने गरी विवाद बढ्नुमा स्थानीय प्रशासनकै प्रमुख कमजोरी रहेको औंल्याउँछन् ।

कपिलवस्तु–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप साह प्रशासन बेलैमा सचेत हुन नसक्दा विवादले उग्र रुप लिएको बताउँछन् । उनी भन्छन्, ‘विवाद गर्न चाहनेहरू नभएका होइनन् । तर, प्रशासनले शुरुमै ध्यान दिन सकेको भए स्थिति नियन्त्रण लिन गाह्रो हुँदैनथ्यो ।’

अधिकारकर्मीहरू पनि दुई समुदायबीच झडप गराउन खोज्नेको नियतमाथि स्थानीय प्रशासनले बेलैमा निगरानी राख्न नसकेको बताउँछन् । मधेस मानव अधिकार गृह (माहुरी–होम)ले ‘स्थानीय प्रशासनले कृष्णनगरको संवेदनशीलतालाई ध्यानमा राखेर उच्च सतर्कता नअपनाउँदा एकजनाको ज्यान गएको’ निश्कर्ष निकालेको छ ।

माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुर प्रशासनले कपिलवस्तुको संवेदनशीलता बुझ्न नसक्दा घट्ना नियन्त्रणमा आउन ढिलो भएको बताउँछन् ।

कहाँ चुक्यो प्रशासन ?

दुई समुदायबीच विवाद सिर्जना गर्न खोजिएको यो नै पहिलोपटक होइन । गत वर्ष दुर्गा मन्दिर विसर्जनका क्रममा पनि विवाद झिकेर झडप गराउने प्रयास भएको थियो । २०६४ मा पनि दुईथरी भिडियो बनाएर समुदाय–समुदायबीच झडप गराएको तथ्य सार्वजनिक भइसकेको छ ।

यसपटक पनि मूर्ति विसर्जनका क्रममा विवाद गराउने समूह सक्रिय हुने प्रबल सम्भावना थियो । तर, यसतर्फ स्थानीय प्रशासनको पर्याप्त ध्यान जान सकेको नसकेको कृष्णनगरवासीको भनाइ छ ।

यो पनि पढ्नुहोस कृष्णनगरको तनाव साम्य, मूर्ति विसर्जन, शव उठाइयो

मूर्ति विसर्जनका क्रममा प्रशासनले स्थानीय सरकारसँग समन्वय गरेको थिएन । घटना भइसकेपछि मात्रै कृष्णनगरका मेयर रजतप्रताप शाहको घरमा बैठक बोलाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कफ्र्यु आदेश जारी ग¥यो । तर, प्रशासनले माइकिङ गरेर कफ्र्यु लागेको जानकारी नदिएको स्थानीयको गुनासो छ ।

सुरज पाण्डेको मृत्यु पौने बाह्र बजे भएको देखिन्छ । माहुरी होमका अध्यक्ष ठाकुर भन्छन्, ‘गोली लागेका पाण्डेलाई कफ्र्यु लागेको जानकारी नहुन सक्छ ।’

बिहीबार भएको सहमतिको पहिलो बुँदामा नामै उल्लेख गरेर घटनाका दोषीलाई कारवाही गर्ने भनिएको छ । गत वर्ष पनि झण्डै यस्तै व्यवहोराको सहमति भएको थियो । ‘तर कसैलाई कारवाही भएन’ सांसद साह भन्छन्, ‘दोषीलाई पक्राउ गरेर कारवाही गरेको भए यस्तो घटना दोहोरिँदैनथ्यो कि ?’

मूर्ति विर्सजनका लागि जाने टोलीलाई जमाल साह, रियाज साह, अफताब आलम लगायतले त्यो बाटो प्रयोग नगर्न भनेपछि विवाद शुरु भएको देखिन्छ । अर्कोपक्षले जसरी पनि त्यही बाटो जाने अडान लिएका थिए ।

झगडा गर्न तम्सिने दुबै पक्षकालाई बेलैमा नियन्त्रणमा नलिँदा घटनाले चर्को रुप लिएको अधिकारकर्मीहरूको भनाइ छ । माहुरी होमका अध्यक्ष ठाकुर भन्छन्, ‘विर्सजनका लागि जाने र रोक्ने दुबै पक्षका आपराधिक मानसिकता भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिनु पर्दथ्यो ।

जे गर्नुपर्थ्यो, त्यही गर्‍यौं  : प्रहरी

स्थिति भड्काउन तम्सिएका दुबै पक्षका जमातलाई प्रहरीले संयमित हुन आग्रह गरेका थिए । प्रहरीले अनुनय गरिरहेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

कपिलवस्तुका सांसद अभिषेकप्रताप शाह भन्छन्, ‘अनुनय गरेर बस्नुको सट्टा दोषी जुनसुकै समुदायको भएपनि प्रहरीले तुरुन्तै नियन्त्रणमा लिनु पर्दथ्यो ।’ स्थानीय संस्कृतिबारे पुरापुर जानकारी नहुँदा पनि प्रहरी प्रशासनलाई काम गर्न गाह्रो भएको हुनसक्ने उनको आशंका छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपशमशेर जबरा भने प्रशासनकै सक्रियताका कारण घट्नामा न्यून क्षति भएको बताउँछन् । सतर्कताका अपनाउँदा अपनाउँदै घट्ना हुन पुगेको जबराको दाबी छ ।

‘हामीले समयमै सुरक्षा प्रबन्ध मिलाउन नसकेको भए अझै ठूलो क्षति हुनसक्थ्यो’ जबरा भन्छन्, ‘सुरक्षा निकायको सक्रियता र संयमताले स्थिति समयमै नियन्त्रणमा आउन सकेको हो ।’

कपिलवस्तु जिल्ला प्रहरी प्रमुख रहीसकेका एक प्रहरी अधिकृत चाडवाडका बेला सुरक्षा व्यवस्था मिलाउन बाहिरबाट देखिए जस्तो सजिलो नभएको बताउँछन् । ‘स्थानीय नेताहरू र जनप्रतिनिधिहरू पनि हामीसँग एउटा कुरा भन्थे, गर्नेबेलामा अर्कै गर्थे’ ती अधिकारीले आफ्नो अनुभव सुनाउँदै भने, ‘मेरो कार्यकालमा कतिपयले दुई समुदायबीचको झडपलाई आफ्नो भोट बढाउने औजारको रुपमा प्रयोग गरेको पाएँ ।’

अनागरिक’ को मृत्यु !

बिहीबार गोली लागेर सुरज पाण्डेको मृत्यु भएपछि उनकी आमाको होश खुलेको छैन । उनका बुबाको तीन वर्ष पहिला नै मृत्यु भइसकेको छ । शव बुझिसकेपछि मृतकका हजुरबुबा र काकाले मानवअधिकारकर्मी गुहारेका छन् ।

मानव अधिकारकर्मी रवि ठाकुर मृतक पाण्डेसँग नेपाल र भारत दुबै देशको नागरिकता नभएको बताउँछन् । ‘सुरजको जन्म २० वर्ष पहिले कृष्णनगरमै भएको र यही व्यवसाय गरेर बसेको देखिन्छ’ उनी भन्छन्, ‘कुनै देशको नागरिकता नभएकाले उनी एक हिसाबले अनागरिक थिए ।’

सञ्चार माध्यममा भारतीय नागरिक भनेर समाचार आएपछि त्यसको तरंग सीमावारि र सीमापारि दुबैतिर देखिएको एक सुरक्षा अधिकारी बताउँछन् । ती अधिकारी भन्छन्, ‘दुबैतिरकाले कुन देशको नागरिक हो भन्ने कुरालाई निहुँ बनाउन खोजको सूचना पाएका छौं ।’

दुबै देशका जिल्ला तहका अधिकारीहरूबीच समन्वय गरेर समस्याको समाधान खोज्न लागिएको पनि उनले अनलाइनखबरलाई जानकारी दिए ।

दीर्घकालीन समाधान

गत वर्ष दुर्गा पूजाको मूर्ति सेलाउने क्रममा भएको विवाद टुँगिएपछि पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पुष्पराज मल्लले अनलाइनखबरसँगको कुराकानीमा भनेका थिए, ‘भविष्यमा यस्तो घट्ना दोहोरिन दिँदैनौं ।’

तर, दोहोरियो । किन त ? ‘हामीले कपिलवस्तुको संवेदनशीलता बुझेर दीर्घकालीन समाधान खोज्ने प्रयास नै गरेनौं’ सांसद साह भन्छन् ।

खासगरी पूर्वी र पश्चिमी कपिलवस्तुलाई सुरक्षाका हिसाबले संवेदनशील क्षेत्र मानिन्छ । गलत तत्वले एक गिलास पानी र एक कुरिया सलाईलाई विवादको कारण बनाउने प्रयास गरिरहेका हुन्छन् । मूर्ति विसर्जन विवाद पनि त्यसैको निरन्तरता हो ।

मूर्ति सेलाउने रुट संघीय सरकारको गृह मन्त्रालयले नै निर्धारण गर्नु उचित हुने सांसद साहको भनाइ छ । उनी भन्छन्, ‘सरोकारवालासँग परामर्श गरेर गृह मन्त्रालयले नै रुट तोक्ने हो भने बारम्बार यस्तो विवाद आउँदैनथ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment