
१९ कात्तिक, रौतहट । राजपर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा लगाएको आरोपमा पक्राउ परेका मो. अफ्ताव आलमको बयान भएको छ ।
सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको भोलिपल्ट जिल्ला अदालत रौतहटमा बयान सुरु भएको हाे । केही घन्टासम्म चलेको बयानका क्रममा न्यायाधीश दीपक ढकालले ९ वटा प्रश्न गरेका थिए । समय अभावका कारण न्यायाधीशले उनीमाथि लागेको अभियोगका सन्दर्भमा भने कुनै प्रश्न सोध्न भ्याएनन् ।
यस्तो छ बयानको प्रश्नाेउत्तर
१. न्यायाधीश – तपाईंको नाम थर वतन के हो ?
आलम – मेरो नाम मोहम्मद आफताब आलम हो । मेरो घर राजपुर हो ।
२. वारदात भएको मिति २०६४ चैत्र २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आलम – त्यस बखतको मोबाइल नम्बर मलाई सम्झना छैन ।
३. तपाईंको जन्म मिति कति हो ? अहिले कति वर्षको हुनुभयो ?
आलम – म २०१९ सालमा जन्मेको हुँ । अहिले ५७ वर्षको भएँ ।
४. तपाईंको स्थायी ठेगाना कहाँ हो ?
आलम – म राजपुर नगरपालिका -४ मा बस्छु ।
५. तपाईंले कुन विद्यालय कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ ?
आलम – मैले बिएस्सीसम्मको अध्ययन गरेको छु ।
६. तपाईं के काम—पेसा व्यवसाय गर्नुहुन्छ ?
आलम – मैले ०३६ देखि नै राजनीति गरेको छु । मेरो अन्य पेसा व्यवसाय छैन ।
७. तपाईं र तपाईंको अंशबण्डा नभएका परिवार को–को सदस्यका नाममा के–कति चलअचल सम्पत्ति छ ?
आलम – मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनहरुको समेत नाममा जोडेर २२ बिघा जति जग्गा छ । चल सम्पति खासै छैन ।
८. तपाईंको स्वास्थ्य अवस्था के छ ? प्रहरी हिरासतमा कुनै किसिमको यातना दिएको छ कि छैन ?
आलम – मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको बिरामी हुँ । प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन ।
९. तपाईंले कानून व्यवसायी नियुक्त गर्नु भएको छ कि छैन ? यदि छैन भने तपाईंले निःशुल्क रुपमा कानूनी सहायता पाउन सक्नुहुन्छ भन्ने जानकारी तपाईंलाई छ कि छैन ?
आलम – मैले आफ्नो कानून व्यवसायी नियुक्त गरेको छु । उहाँहरुले नै मेरो मुद्दा लड्नुहुन्छ ।
प्रतिक्रिया 4