Comments Add Comment
मेरो कथा :

जुडोसँग बसेको मेरो प्रेम

म जुडोसँग ‘प्रेम’मा परेको ठ्याम्मै १२ वर्ष भयो । यो एक प्रकारले ‘लभ एट फर्स्ट साइट’ जस्तै थियो । अब भने ‘लभ फरएभर’ मा परिणत भइसक्यो ।

सुरुमा ‘फर्स्ट साइट’ लभको कुरा गर्छु ।

एक दिन साथीहरुसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला घुम्न गएकी थिएँ । जुडो हलमा साना–साना बच्चाहरु खेलिरहेको देखेँ । पहिलो नजरमा नै मलाई यो खेल मन पर्‍यो । बच्चाहरुले एक–अर्कालाई उचालेर पछारेको चौपट्टै स्वाद लाग्यो ।

त्यस दिनदेखि म जुडो हेर्न नियमितजस्तो रंगशाला जान थालेँ । विस्तारै खेलाडीहरुसँग पनि परिचय भयो । त्यहाँ मुख्य प्रशिक्षक चन्द्रकुमार डंगोल हुनुहुँदोरहेछ । एक दिन उहाँले मलाई यस्तो अफर गर्नुभयो, जसलाई मैले नकार्ने कुरै थिएन ।

मेरो ठूलो ज्यान देखेर खेल्न सक्छे जस्तो लागेछ क्यारे । मलाई भन्नुभयो, ‘पढाउनेदेखि सबै हेरविचार जुडोले गर्छ, तिमी खेल्छौ ?’ मलाई त ‘के खोज्छस् …..’ भनेजस्तो भइहाल्यो । घरको आर्थिक अवस्था नाजुक थियो । विहान खाएपछि बेलुका के खाने भन्ने स्थिति हुन्थ्यो । मलाई पढाउन आमालाई निकै सकस परिरहेको बेला आएको अफरमा मैले तत्कालै ‘हुन्छ’ भनिहालेँ ।

अर्को दिनदेखि डंगोल गुरुले जुडो सिकाउन थाल्नुभयो । उहाँको प्रशिक्षणमा चाँडै निखारिएँ पनि । उहाँले मलाई खेलाडी बनाउन यतिसम्म मेहनत गर्नुहुन्थ्यो कि विरक्त लागेर म खेल्न नगएको दिन घरमै लिन समेत आइपुग्नुहुन्थ्यो ।

०००

प्रशिक्षणसँगै जुनियर प्रतियोगितामा भाग लिन थालेँ । सिनियरबाट भने सन् २०१६ मा पहिलोपटक भाग लिएकी हुँ । भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नै मेरो पहिलो अन्तर्राष्ट्रिय अनुभव हो ।

सिनियर टिममा परेपछि मैले भारतकै भूपालमा करिब डेढ महिना अभ्यास गर्ने अवसर पाएको थिएँ । भारतका सिनियर खेलाडीहरुसँगै अभ्यास गर्ने क्रममा खेलाडीलाई यति राम्रो सुविधा हुँदोरहेछ भन्ने थाहा पाएँ । नेपालमा त त्यस्तो छैन । तै पनि मलाई गुरु र सिनियर दाइदिदीहरुले सबैको हौसला दिइरहनुभयो ।

अन्ततः १२औं साग सुरु भयो । म त सानै थिएँ । अनुभव पनि थिएन । मन डराएको थियो । त्यसैले मेडल त धेरै परको कुरा, सहभागिता नै मेरो लागि ठूलो थियो ।

तर श्रीलंका र बंगलादेशका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्न सफल भएँ । त्यसभन्दा अगाडि चाहिँ यात्रा बढ्न सकेन । भारतकी बलियो प्रतिस्पर्धीसँग म सेमिफाइनलमा हार्न पुगेँ । त्यो बेला १–० को स्कोरमा पराजित भएको थिएँ । त्यसबेला अन्तिम १० सेकेन्ड रोक्न नसक्दा म हारेँ ।

म हार्नुको कारण चोट पनि थियो । मेरो दाहिने हातको कुहिनाको जोर्नीको हड्डी सरेको थियो । त्यसैले राम्ररी लड्न सकिनँ । दुःख लाग्यो । मलाई केही नभएको भए नतिजा फरक आउन सक्थो । कम्तिमा फाइनलमा पुग्थेँ जस्तो लाग्छ ।

०००

दुई वर्षअघि थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा पनि म स्वर्णको नजिक पुगेर चुकेँ । ३५ राष्ट्रले भाग लिएको त्यो प्रतियोगिताको फाइनलमा म थाइल्यान्डकै खेलाडीसँग हारेकी थिएँ । त्यसपछि भुटानमा भएको अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा चाहिँ म स्वर्ण पदक जित्न सफल भएँ ।

यो मेरो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो ।

यो बीचमा मैले सन् २०१५, २०१६ र २०१८ गरी तीनवटा जुनियर एसियन च्याम्पियनसिप खेलेँ । २०१८ मै इन्डोनेसियामा भएको एसियन गेम्समा पनि भाग लिएँ । मैले खेलेको प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रतियोगिता यही हो ।

केही दिनअघि मात्रै चीनमा भएको विश्व मिलिटरी च्याम्पियनसीपमा भाग लिएँ । जाने बेलामा पनि मलाई यो त्यति ठूलो प्रतियोगिता जस्तो लागेको थिएन । तर पुगेपछि थाहा भयो कि विश्व च्याम्पियन खेलाडीहरुले भाग लिने रहेछन् ।

म सहभागी तौल समूहमा २१ राष्ट्रका प्रतिस्पर्धी थिए । मैले पहिलो खेलमा बेलारुसका खेलाडीलाई हराएँ । दोस्रो खेलमा रसियाका खेलाडीसँग पराजित भएँ । तेस्रो खेल नेदरल्यान्ड्ससँग पर्‍यो । मैले लिड गरिरहेको थिएँ तर टेक्निकमा चुकेँ र हार्न पुगेँ । यो खेल जितेको भए मैले कास्यका लागि प्रतिस्पर्धा गर्न पाउने थिएँ । तर विदेशी खेलाडी र नेपाली खेलाडीमा निकै फरक हुँदोरहेछ । हामीमा क्षमता र प्रतिभा छ तर अनुभव र टेक्निकमा कमजोर रहेछौं ।

त्यसैले चार वर्षपछि फ्रान्समा हुने प्रतियोगिता चाहिँ पदक जित्ने लक्ष्य बोलेर फर्किएको छु ।

०००

अहिले अर्को महिना नेपालमै हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा छौं । जेठ १५ गतेदेखि तयारी थालेका थियौं । हिजो बिहीबारबाट मंगोलिया यात्रा सुरु भयो । सागमा मेरो लक्ष्य भनेको स्वर्ण पदक नै हो ।

सजिलो त छैन तर जित्छु भन्ने आत्मविश्वास छ । नेपालमै गत वर्ष भएको साउथ एसियन जुडो च्याम्पियनसिपमा स्वर्ण जित्नबाट चुकेको पीडा भुलाउन चाहन्छु ।

त्यसबेला फाइनलमा भारतका खेलाडीसँग पराजित भएकी थिएँ । धेरै अन्तरले हारेको पनि होइन । अन्तिम समयसम्म बराबरीमै थियौं । हामी दुबै जनाको २–२ नेगेभिट प्वाइन्ट थियो । गोल्डेन स्कोरमा मैले नै नेगेभिट प्वाइन्ट पाएँ र हारेँ ।

सबैले स्वर्णको आशा राख्नुभएको थियो । एउटा समूहबाट पाकिस्तान, बंगलादेश र श्रीलंकाका खेलाडीलाई पराजित गर्दै म फाइनलमा पुगेको पनि थिएँ । तर भारतीय खेलाडीसँग फाइनल पर्‍यो । त्यसबेला थोरै डर पनि कलागेको थियो । उनी पनि मसँग डराइरहेकी रहिछन्, पछि थाहा भयो । खेल जितेपछि उनले भनेकी थिइन्, ‘तिमीसँग खेल्दा जतिको कठिन कसैसँग भएन ।’

साग खेलकुदमा मैले प्रतिस्पर्धा गर्ने ७८ केजी तौल समूहमा हो । भारतबाट उनी पनि आउनेछिन् । त्यसैले बदला लिने मौका छ । त्यो भन्दा पनि ठूलो कुरा स्वर्ण जितेर आफ्नो देशको इज्जत बढाउनु छ । हुन त भारत मात्रै होइन, अरु देशका खेलाडी पनि राम्रा छन् । तर उनीहरुलाई पराजित गर्छु जस्तो लाग्छ ।

सुरुमा म ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्थेँ । त हरेक प्रतियोगितामा सेमिफाइनलमा पराजित हँुदै गएँ । त्यसपछि तौल समूह परिवर्तन गरेर खेल्ने सोच बनाएँ । सबैले माथिल्लो तौल समूहमा खेलेको राम्रो हुन्छ भन्नुभयो । त्यसका लागि तौल बढाउनुपर्ने भयो । मैले धेरै खान थालेँ । गुरुले मोटाउने खानेकुरा खुवाउनुभयो । नभन्दै तौल झण्डै १५ केजी बढ्यो र ७८ केजी तौल समूहबाट खेल्ने भएँ । परिणामहरु पनि सुखद आउन थाल्यो, सिनियर दिदीहरुलाई जित्दै गएँ । विरेन्द्र रञ्जितदेखि देबु थापा गुरुले धेरै सिकाउनुभयो ।

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उमेर सानो भएर खेल्न पाइनँ । सातौं भने खेलेँ । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय र नेपालगञ्जमा भएको आठौंमा पनि स्वर्ण जिते ।

घरेलु प्रतियोगिताहरुमा स्वर्ण पदक जित्दा सबैभन्दा कठिन भएको मलाई आठौंमा नै हो । धेरै गर्मी थियो । त्यसमाथि जस्तापाता तातेर खेल्नै गाह्रो भएको थियो । आफ्नो क्षमताअनुसार खेल्न सकिनँ । तर पनि स्वर्ण पदक भने जितेँ ।

अब मेरो सपना भनेको सागमा स्वर्णसँगै ओलम्पिक नै हो । गुरुहरु पनि ‘राम्रो गर्दै जाऊ, तिमीले ओलम्पिक खेल्न सक्छौ’ भन्नुहुन्छ । त्यसका लागि अहिलेदेखि नै मिहिनेत गरिरहेको छु । जापानमा हुने २०२० को ओलम्पिक खेलकुदमा नै त खेल्न पाउँदिन होला, तर त्यसपछिको ओलम्पिक खेल्ने मेरो लक्ष्य हो ।

००००

यो त भयो मेरो जुडोमा संघर्ष, सफलता र लक्ष्यका कुरा । तर यतिले मात्र मेरो कथा सकिने छैन । मेरी आमालाई नसम्झिएसम्म मेरो कथा अधुरै रहनेछ ।

म चार वर्षको हँुदा चितवनको पुर्ख्यौली घर छोडेर आमाबुवासँग काठमाडौं आएकी हुँ । तर बाबाले घर छोडेर हिँड्नुभयो । कहाँ जानुभयो हामीलाई थाहा भएन ।

त्यसपछि मेरी आमाले काठमाडौंमा गरेको संघर्षको कथा लामो छ । लाग्छ, संघर्ष के हो ? दुःख कस्तो हुन्छ ? यो मेरीभन्दा अरुले बयान गर्न सक्नुहुन्न । मेरी आमाले काठमाडौंका गल्लीहरुमा धेरै पसिना बनाउनु भएको छ । अरुका घर सफा गर्नुभयो, होटलहरुमा भाँडा माझ्नुभयो । तर हामीलाई पढाउनु भयो ।

त्यसैले म आफ्नी आमालाई भगवानकै एक रुप मान्छु ।

अहिले दिदी दुबईमा हुनुहुन्छ । १४ वर्षको भाइ कक्षा आठमा पढ्दैछ । म चाहिँ ११ कक्षामा पढ्दैछु ।

आजभन्दा तीन वर्षअघिको कुरा हो । बजार जाँदा आमालाई कसैले बुवाको नराम्रो खबर सुनाएछ । ‘तिम्रो श्रीमान मर्‍यो’ भनेर कसैले सुनाएपछि उहाँ निकै विक्षिप्त बन्नुभयो । म भारतको केरलामा खेल्नु जानभन्दा एक दिन अघिको कुरा थियो त्यो ।

आमाले मलाई त्यो दुःखद खबर सुनाउनुभयो । पछि केरला पुगेपछि थाहा पाएँ, बाबा दुर्घटनामा परेपछि अस्पतालमा उपचार गर्दैगर्दा बित्नुभएको रहेछ । तर उहाँको वास्तविकता के हो मलाई थाहा छैन । आमाले पनि कहिल्यै भन्नुभएन ।

साथीहरुलाई बुवाले पुर्‍याउन ल्याएको र लगेको देख्दा मलाई पनि बाबाको न्यास्रो भने निकै लाग्थ्यो । मनमा कुरा खेल्थ्यो, मेरो पनि भइदिएको भए आर्थिक अभाव झेलेका बेला ‘ला… छोरी’ भन्नुहुन्थ्यो होला । तर के गर्नु भाग्यमा नभएपछि …. ।

००००

कमाउने आमा एक्लै, खाने मुख धेरै । त्यसैले हामीले आर्थिक अभाव कस्तो हुन्छ राम्ररी बुझेका छौं । कहिलेकाहीँ त आमाले भन्नुहुन्छ, ‘भयो अब नखेल, विदेश जाऊ ।’ तर मेडल जितेर ल्याउँदा फेरि भन्नुहुन्थ्यो जति सक्छौ खेल ।

मैले एसएलसी पास गरेपछि भने आमाले निकै आग्रह गर्नुभएको थियो विदेश जान । हुन पनि आमाको उमेर ढल्किँदै थियो । हाम्रो भविश्यको चिन्ता लागेको थियो होला । थुप्रै खेलाडी आर्थिक अभावका कारण विदेश गएको सुन्नु भएको होला । त्यो देखेर आमालाई म पनि विदेश गए हुन्थ्यो भन्ने लाग्दो हो ।

हो पनि, धेरै खेलाडीको जीवन अभाव र दुःखबाट गुज्रिएको छ । त्यो देख्दा एक मनले विदेश गइदिऊँ जस्तो लाग्छ । फेरि अर्को मनले भन्छ नजा, पैसा सबथोक होइन । अहिले भने घरमा भनेको छु, अझै केही बर्ष मलाई दबाव नदिनु । म जुडोमै केही गर्न चाहन्छु ।’ गुरुहरु, दाइ–दिदीले पनि आमालाई बेलाबेला सम्झाउने गर्नुहुन्छ । आमा पनि विश्वस्त हुनुभएको छ ।

तर समस्याको चाङले ग्वार्लम्म थिच्दा अब त विदेश नगई हुन्न कि क्या हो जस्तो भने लागिरहन्छ । तर जुडोलाई चटक्कै माया मारेर कसरी विदेश जान सक्छु र । जुडोसँग मेरो ‘लभ एट फस्र्ट साइट’ अब ‘लभ फरएभर’ मा परिणत भइसक्यो ।

प्रस्‍तुति : सरोज तामाङ

तस्वीर : चन्द्रबहादुर आले

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला  ‘मेरो कथा’को ६१ औं अंकमा यो हप्ता  जुडो खेलाडी पुनम श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment