+
+
Shares

अफताब पक्राउ प्रकरणलाई लिएर प्रहरीभित्र जुँगाको लडाइँ !

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १३:३३

२४ कात्तिक, काठमाडौं । रौतहटको फरदवामा १२ वर्षअघि भएको विष्फोट प्रकरण पछिल्लो समय चर्चामा छ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमलाई मुख्य अभियुक्त बनाएर जिल्ला अदालत, रौतहटमा मुद्दा दर्ता भइसकेको छ ।

चुनावी अभियानका क्रममा तयार पारेको बम विष्फोट भएको घटनालाई लुकाउन प्रहरी प्रशासन समेतको मिलेमतोमा दर्जन बढी घाइतेलाई ईंटा भट्टामा लगेर जलगाइएको अफताबमाथि आरोप छ ।

एकातिर ढिलै भएपछि एउटा नरसंहारका आरोपितलाई गिरफ्तार गरेर कानूनी दायरामा ल्याउन सफल भएको भनेर नेपाल प्रहरीको प्रशंसा भइरहेको छ भने अर्कातिर संगठनभित्रै चाहिँ रोचक दृश्य देखिइरहेको छ ।

प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय, रौतहटबीचको मतभेद सार्वजनिक रुपमा देखिएको छ ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयले महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा आलमलाई पक्राउ गर्न विशेष ब्युरोबाट प्रहरी निरीक्षक कृष्णदेव साह नेतृत्वको टोलीलाई रौतहटमा पठाइएको दाबी सार्वजनिक गरेको छ भने रौतहट प्रहरीले त्यसको खण्डन गर्दै विज्ञप्ति निकालेको छ ।

साह तिनै प्रहरी अधिकृत हुन्, जसलाई मानव अधिकार आयोगले ४ कात्तिकमा निलम्बन गरी मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको थियो । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तत्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेललाई बल प्रयोग गरेर प्रहरीले हत्या गरेको आयोगको निष्कर्ष थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीका अनुसार अदालतमा मुद्दा विचाराधीन भएका वेला अभियुक्तलाई भगाउन खाजेको भन्ने जस्ता विषय आएपछि खण्डन गर्नुपरेको हो । उनी भन्छन्, ‘कति तनावमा काम गरिएको छ, त्यो आफ्नो ठाउँमा छ । प्रोत्साहन गर्नुपर्नेमा उल्टै भगाउन खोजेको भनेपछि विज्ञप्ति निकालिएको हो ।’

विज्ञप्तिमा ‘कानूनी उपचार खोज्ने’ पनि भनिएको छ ।

२ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रद्युम्न कार्की केन्द्र र प्रदेशको काम निर्देशन दिने मात्रै भएको बताउँछन् । ‘मलाई कतैबाट टोली आएको जानकारी छैन’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले अनलाइनखबरसँग भने, ‘जिल्लाको काम जिल्लाले नै गर्छ ।’

हेर्नुस् विज्ञप्ति 

जस लिने होडवाजी !

नेपाल प्रहरीमा पछिल्लो समय कुनै पनि घटनापछि जस लिन होडबाजी चल्ने गरेको देखिने सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् ।

तर, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘हरेक अधिकृतलाई ऐन, नियम र नियमावलीले तत् अनुसारको जिम्मेवारी दिएको हुन्छ । अनुसन्धान अधिकृत तोकिएको छ भने अनुसन्धानको जिम्मेवारी सम्बन्धित व्यक्ति हो । त्यसैले राम्रो काम कसैले गर्छ भने त्यसको जस उसलाई दिनुपर्छ ।’

अहिले मुलुकभर नेपाल प्रहरीका ३५ सय ४ युनिट छन् । जहाँ विभिन्न दर्जाका अधिकृत कार्यरत् छन् । ती अधिकृत, जसले काम गरे पनि अन्ततः सिंगो प्रहरी संगठन, गृह मन्त्रालय र अन्तिममा सरकारले जस पाउने भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

तर, संगठनभित्रकै अधिकृतबीच जस लिने नाममा अस्वस्थ प्रतिष्पर्धा देखिनु दुखद् विषय भएको अधिकृतहरुको टिप्पणी छ ।

यसअघि १५ कात्तिकमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले एक महिलालाई एसिड छ्याप्ने अभियुक्त दिलिपराज केशरीलाई पक्राउ गरी सार्वजनिक गर्दा पनि प्रहरी महानिरीक्षकको निर्देशनमा भएको भनिएको थियो ।

‘बाराका प्रहरी नायब निरीक्षक सागर शम्सेर जबरासहितको टोलीले उनलाई पक्राउ गरेको थियो । उनी स्वयम्लाई पक्राउ गर्न निर्देशन आईजीले पक्कै दिएनन् होलान्’, एक अधिकृतले भने, ‘दिए पनि चेन कमाण्ड हुँदै आयो होला । तर, जे भए पनि यो विषय बाहिर भनिरहनु पर्ने कुरा होइन । प्रहरीले जहाँसुकै गरेको राम्रा र नराम्रा दुवै कामका जस महानिरीक्षकलाई जान्छ । लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?