Comments Add Comment

माइक्रोबसको यात्रा : ‘लास्ट सिट’ नै प्यारो !

‘भलाइको त जमाना नै छैन !’

माइक्रोबसका कन्डक्टरले छेवैमा आएर बोले ।

बिहान साढे ९ बजे इटहरीबाट पश्चिमतर्फ जाने गाडी कुर्दै आजित भएर बसेकी मैले त्यही माइक्रो भेट्टाएकी थिएँ । माइक्रो भेट्दा म जति खुशी थिएँ, त्योभन्दा बढी कन्डक्टर !

ड्राइभरसँगैका दुई सिटबाहेक माइक्रोका सबै सिट खाली थिए । चढ्नेवित्तिकै कन्डक्टरले भनेका थिए, ‘बस्नुस दिदी अगाडि नै सिट खाली छ ।’

तैपनि म लास्ट सिटमा गएर बसें । ड्राइभर र कन्डक्टर मात्रै होइन, दुईजना यात्रु पनि ट्वाँ परेकै हुन् । ‘कस्तो बटारिएकी केटी रै’छ भन्ने सोचे होलान् भनेर गम्दै थिँए ।

कन्डक्टर भाइले त मुखै खोले – भलाइको त जमानै छैन !

हिजोआज मलाई लास्ट सिटमा बस्नुपर्ने बाध्यता छ । त्यसपछि बल्ल आनन्द महसुस गर्छु । सधैंजसो रुटको मध्यभागबाट गाडी चढ्नुपर्ने भएकाले पहिलो सिटमा बस्ने सौख नै हराइसकेको छ । अन्तिमसिटसँग सामीप्य जो गाँसिएको छ । आकल झुक्कल अगाडिका सिट खाली भेटिए पनि म अन्तिम सिटमै गएर बस्छु ।

हिसाब नै गर्दा पछिल्लो २ महिनामा मैले १७ पटक माईक्रो/बोलेरोेको अन्तिम सिटमा लगातार यात्रा गरिसकेकी रहेछु । त्यसो त यात्राका मैले अन्य सिटमा बसेर धेरै अनुभव बटुलेकी छु । त्यसका धेरै मर्मस्पर्शी कहानी छन् । हिजोआज यस्तो लाग्दैछ, माईक्रो र बोलेरोको लास्ट सिट मेरा लागि बानी परिसकेको छ । र, यो धेरै कहानीहरुको खानी पनि हो ।

यात्रा एक : सिन्धुलीदेखि विराटनगर

सिन्धुलीको ट्राफिक चोकबाट माइक्रोमा लास्ट सिट मात्रै खाली थियो । त्यहीँ कोच्चिनुको विकल्प थिएन । त्यसमा पनि झ्यालतर्फको अरुले नै खरिद गरिसकेका रहेछन् । छेउमा एकजना बहिनी एयरफोन कानमा राखेर झ्यालबाट बाहिरी दृश्यलाई एकटकले नियाल्दै थिइन् । छेउमै गएर म बस्दा पनि उनी बिचलित भइनन् ।

अर्कोतर्फ एकजना दाजु घुर्दै थिए । गाडीमा यत्तिकै बस्दा गाडी लाग्छ, यसो गफ गर्न पाउँदा बाटो कटेको पत्तै पाउँदिनँ । दिउँसै घुरेरै निदाइरहेका दाजुलाई बोलाउनुभन्दा तिनै बहिनीसँग गफिन ठीक लाग्यो ।

कुराकानीका लागि बाटो फुकाउँदै सोेधें ‘बहिनी कहाँसम्म नि ?’ इयरफोन कानमा ठुसेकी उनले सुनिन क्यारे, जवाफ दिइनन् । हातले कोट्याएँ, एकापट्टिको इयरफोन निकालेर उनले पुलुक्क हेरिन् । त्यही प्रश्न दोहोर्‍याएँ । ‘ईटहरी’ । यत्तिभनेर फेरि कानमा इयरफोन कोचिन् । अब भो त ? छ्या आजको यात्रा लास्टै झुर हुने भयो । मनमनै सोचें ।

सायद, गाडीमा रिँगटा चल्नु, बान्ता हुनुमा धेरथोर सोचको भूमिका हुन्छ । गाडीमा कुराकानी गरेर भुल्ने साथी नपाएपछि मलाई रिंगटा चल्न थाल्यो ।

छेउकी बहिनीले वास्ता नगरेपछि कुरा गर्दै बाटो काट्ने रहर पूरा हुन सकेन । बोल्ने मान्छे नभएपछि मलाई बान्ता सुरु भयो । घिनाएको अनुहारले झ्यालको छेउमा बसेकी बहिनी कन्डक्टरलाई ईगिंत गर्दै चिच्याइन् ‘दाइ दाइ यता प्लास्टिक ल्याइदिनु त, यो आन्टीलाई त भमिट सुरु भयो ।’

कन्डक्टर प्लास्टिक बोकेर आइनपुग्दै बान्ता रोकिसकेको थियो ।

बल्ल बहिनीले बोल्न सुरु गरिन् ‘अन्टि झ्यालमा बस्नुहुन्छ त ?

हुन्छ नि । मैले झ्यालमा बस्छु भन्नुको अर्को पनि स्वार्थ थियो, ‘झ्यालबाट बाहिर हेर्न नपाएपछि पक्कै ती बहिनीले मसँग गफ गर्लिन्कि ?’

बढी कठिनले एक घण्टाको बाटो काटिएको थियो । अझै ५/६ घण्टाको यात्रा सहज पार्नु थियो । मेरो अञ्दाज सही सावित भयो । बैनी बोल्न थालिन् ‘हजुरचाँहि कहाँसम्म नि ?’

उनले छोटकरीमा इटहरी भनेजस्तै मैले पनि ‘विराटनगर’ भन्न पनि सक्थें । तर, आफूलाई गफ गर्न साथी चाहिएको थियो । ‘हेर्नु न, बिराटनगर हिँडेको, कहिले पुग्लाजस्तै भैसक्यो । गाडीमा गाह्रो पनि हुँन्छ फेरि आफूलाई… तपाईलाई गाडीमा गाह्रो हुँदैन ?’ उत्तरसँगै प्रश्न तेस्र्याएँ ।

निकै नम्र स्वरमा उनले जवाफ फर्काइन् । ‘मलाई त छाद (वान्ता), आँसु हाँसो केही आउँदैन दिदी ।’

बोलीमा धेरै कुरा लुकाए पनि आँखामा पीडा छर्लंगै देखिन्थ्यो । म पनि गम्भीर भएँछु । ‘किन त्यस्तो भन्नु भएको बैनी ?’ बैनी बोलिनन्, उनका आँखामात्र बोलिरहे । आँखामा आँसु थिएनन् । तर, थकान लुकेको थिएन ।

‘बैनी केही समस्यामा हुनुहुन्छ र ?’ त्यसपछि बल्ल आन्टीबाट दिदी साईनो लागाउँदै उनले पीडाको पोको फुकाइन् ।

‘दिदी मलाई ब्वाइफ्रेण्डले छोडेको ठ्याक्कै ६ महिना पुग्यो । म उसैलाई खोज्दै यसरी भौंतारिएकी छु ।’

यसरी खोजेर भेटिन्छ त ? फोन गरिनौ ?

उनको जवाफ आयो ‘हराएको भए पो भेट्नु । नियत नै भाग्ने भएपछि खै कसरी भेटिएला र ?’

काभ्रे घर बताउने उनीसँग ‘लाष्ट सिट’मा बसेर लामो भलाकुसारी गरेपछि थाहा पाएँ । काभ्रेकै प्रेमी क्षेत्री जातका रहेछन् । उनी कथित दलित रैछिन् । केटाका परिवारले दलित केटीसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि केटालाई लुकाएर कतै राखेको अथवा करकापमा विदेश पठाएको उनको अनुमान । भेटिएला कि भनेर उनी निरन्तर खोज्दै यताउति भौंतारिदी रहिछन् ।

तीन महिनासम्म खोज्दा प्रेमीको अत्तोपत्तो छैन । पोखरा, नेपालगञ्ज, काठमाण्डु लगायत देशका धेरै मुख्य सहरमा प्रेमी खोज्दै पुगिसकेकी । २२/२३ वर्षकै उमेरमा यसरी लगातार घुम्ने, खाने खर्च कहाँबाट कसरी जुटाएकी होलिन् ? यो प्रश्न सोध्ने आँट मैले गरिनँ ।

यात्रा दुई : भोजपुरदेखि इटहरी

टाटा सुमोमा १० जना यात्रु । यसपटक ‘लास्ट सिट’को झ्यालपट्टि म । लेगुबाबाट धनकुटाको हिले नपुगुञ्जेलसम्मको बाटो अहिले सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । झमझम पानी परिरहेको थियो । गाडीको पांग्रै भासिनेखाले हिलो बाटो ।

लाष्ट सिटमा एकजना तराई मूलका पुरुषबाहेक अन्य भोजपुरे महिला । भोजपुर नगरपालिकाबाट धरान हुँदै इटहरीसम्म हाम्रो गन्तव्य ।

हिलाम्मे बाटोमा गाडी यसरी कोल्टियो कि टाउकाले भुई छोलाजस्तै भयो । जीवनमा त्यस्तो बाटोमा कहिल्यै यात्रा नगरेकी मेरो सातो गइहाल्यो । ड्राइभर फसेको गाडी निकाल्न प्रयासरत छन् । घ्यार घ्यार आवाज निकाल्दै झन् भासिँदै छ गाडी । मेरो टाउकाले झ्यालबाट भूँई नै झण्डै छोयो । अब बाँचिन्न भन्ने लाग्यो । अत्तालिँदै ‘म झर्छु बाटो छाड्दिनुस् न भने ।

सुमोमा बीचको सिटका यात्रुले उठेर सिट नकोल्ट्याएसम्म ‘लाष्ट सिट’मा बस्नेले झर्न मिल्दैन । बीचको सिटमा बसेकी महिलाले बाटो दिनुको सट्टा ठूलो–ठूलो आँखा बनाएर हेरिन् । ड्राइभरले सुनेको नसुनै झै गरे । आफ्नो मनमा ढ्याङ्ग्रो बज्न थालिसक्यो ।

गाडी जति निकाल्ने प्रयास गरिरहेका छन्, उति नै भासिँदै गइरहेको छ । अब त तिनको पनि सातो गएछ क्यारे, म झर्न खोज्दा आँखा तर्ने महिला पनि झरिन् । बल्ल मलाई झर्ने बाटो खुल्यो । झरिसकेपछि बाँचियो भन्ने लाग्यो, लामो सास फेरें ।

गाडीबाट झर्दै गर्दा ड्राइभर कड्किए ‘केखालका मान्छे रहेछन्, आजसम्म यस्ता मान्छे गाडीमा चढेका थिएनन् ।’

हाम्रो सुमो फसेपछि पछाडि जाम लागिसकेको रहेछ । अन्य गाडीका ड्राइभर, सहयोगी, यात्रु मिलेर हाम्रो गाडीलाई ठेलेर निकाले ।

म गाडीबाट झरेको मन नपराएका चालकले अलि परै लगेर मात्र रोके । गाडी भेट्टाउन १५ मिनेटजति हिँड्नै पर्‍यो । संँगै सिटमा बसेका महिलालाई सोधें ‘गाडी कोल्टिँदा तपाईहरुलाई डर लागेन ?’ उनीहरुले सहजै उत्तर दिए ‘आ के को डर, यस्तो त कत्ति हुन्छ हुन्छ ! पल्टेकै भए पनि भिर थिएन क्यारे, मरिँदैनथ्यो । बढी भए यसो अलिअलि घाउ चोट त लाग्थ्यो ।’

पहिले–पहिले नुनका भारी बोकेर थकाई मार्ने चौतारी देखाउँदै उनीहरुले मलाई गाडी चढ्न पाउनु भाग्यको कुरा भएको प्रतिक्रिया दिए । जीवनमा कति भारी बोकियो बोकियो, उस्तै परे यही गाडी त बोकिन्छ किन डराउनु ! अगाडि बसेकी एकजना दिदी बोलिन् । ती दिदीहरुको साहस, आत्मविश्वास देखेर म दंग भएँ ! उनीहरु साहासी मात्रै छैनन्, प्रेरणादायी पनि छन् । स्यालुट छ ती दिदीहरुलाई ।

यात्रा तीन : खुर्कोटदेखि खोटाङसम्म

पहिलो सिट नै रोके पनि बीच बाटोमा चढ्नेले अगाडि र बीचतिर बस्न पाइन्छ भने आश मार्दा हुन्छ । प्रायःजसो पहाडी जिल्लाबाट काठमाण्डौ जाँदा गाडीले बिरामी लिएर जान्छन् । फर्किंदा उपचार गरेर फर्किएका, पुरै निको नभएकाहरु गाडीभित्र अनिवार्य जस्तै हुन्छन् ।

ऐया आत्थु गरेर बसिरहेका बृद्धबृद्धालाई पछाडि पठाएर अगाडि बस्न मन मान्दैन । यसपटक तीन नम्बरको सिट कोल्ट्याएर म लास्टको ९ नम्बर सिटमा लागें । एकजना बृद्ध बुवा छेउमै हुनुहुन्थ्यो । उहाँले काठमाण्डौदेखि नै भजन सुनाउँदै आएको थाहा पाएकी थिएँ । ग्वाल्टार कटेपछि भजन फेरि सुरु भयो ।

के देख्नु परेको, के सुन्नु परेको

त्यो पूर्वखोलामा मोल मोल्छन् छोरीको

पान्सौ पच्चसीमा काली लैजा, सात्सौ पचास गोरीको !

अनि के भन्या त बुवा यो भजनले ?’ मैले सोधें । उहाँले यसरी अर्थ्याउनुभयो–

हाम्रातिर पहिले–पहिले विवाह गर्दा गोरी कन्या ल्याउँदा सात सय पचास र काली कन्या ल्याउँदा पाँच सय पचास तिर्न पर्थ्यो । त्यही मोलमोलाईलाई भजनमा उतारिएको रहेछ ।

छोरीसँगै दाइजो लिने चलन मौलाएको आजको समयमा यी कुरा कथाजस्तै लाग्नु स्वभाविक हो । मेरो उत्सुकता अझै बढ्यो । ‘लौ बुवा पहिले पहिले त उल्टै छोरी लानेले पो पैसा तिर्नुपर्ने रै’छ है ? हिजोआज त उल्टै छोरीसँगै दाइजो दिनपर्छ । त्यतिबेलाकै चलन ठीक रैछ बरु । कसरी आयो होला यो छोरी दिँदा दाइजो दिनपर्ने चलन ?

‘आजकालका मान्छेसँग पैसा धेरै छ, दशथरी दिन्छन् नि’ छोटो उत्तर दिएर बुवाले अर्को भजन सुनाउनुभयो–

कहाँ पलायो जलुको, निगुरो, कहाँ पलायो तामा ?

कसकी छोरी हुन् तिम्री आमा, को हुन् तिम्रा मामा ?

लयवद्ध भजनले यसपटकको लामो यात्रा छोटै लाग्योे । बुवाले सुनाएकोे भजन सम्झँदै सोच्छु, हाम्रो समाज अहिलेभन्दा बरु पहिले धेरै व्यवहारिक र सभ्य रहेछ कि कसो ?

यात्रा चार : विराटनगरबाट सिन्धुली

३०/३५ वर्षका हट्टा–कट्टा युवक भान्टाबारीबाट माइक्रोमा चढे । कन्डक्टरले ब्याग माइक्रोको छतमा फाल्नै लाग्दा उनले रोकेर भने ‘ब्याग म आफै बोक्छु ।’ यही कुराले दुवैबीच केहीछिन भनाभन चल्यो । कन्डक्टर ब्याग भित्र राख्दा अरु यात्रुलाई अप्ठ्यारो हुन्छ भन्ने, यात्रु ब्यागभित्र बहुमुल्य सामान भएकाले अन्त राख्न मिल्दैन भन्ने । अन्ततः ब्यागवालाकै जीत भयो ।

ती युवाको जिद्दी हेरिरहेका अर्का यात्रुले सोधे ‘के छ र भाइ ब्यागमा त्यस्तो बहुमुल्य कुरा ? ‘राजीनामा पत्र र नयाँ जागिरको कागजपत्र ।’ युवाले जवाफ फर्काए ।

त्यसपछि ती दुई यात्रुहरुबीच लामो संवाद चल्यो । लाष्टसिटे म लगायत अन्य यात्रु स्रोता बन्यौं ।

उनी लामो समयदेखि ओखलढुंगाको एउटा गाँउमा प्रहरी जवान पदमा कार्यरत रहेछन् । पटक–पटक त्यहाँबाट सरुवा लिएर अन्यत्र जान गरेको प्रयास असफल भएछ । आजित भएर उनले दुबईमा सुरक्षागार्डका लागि आवेदन दिएछन् । त्यसैका लागि मेडिकल जाँच गराउन उनी काठमाडौं हिँडेका ।

टाढा भए पनि सुगम ठाउँमा जागिर खाने उनको अभिलाषा अपुरो थियो । हुँदाखादाँको सरकारी जागिर छाडेर बाहिर जाने कुराले बाँकी यात्रु आश्चर्यचकित थिए । काम गर्ने फिल्ड सुरक्षित बैदेशिक रोजगार ! हामी सकेसम्म स्वदेशमै काम गरौं, जानैपर्ने भए सीप सिकेर, राम्ररी बुझेर मात्रै विदेश जान सल्लाह दिन्छौं ।

बिषय मिल्दोजुल्दो भएकाले मैले पनि उनलाई सम्झाउने प्रयास गरें । उनी आफ्नो अडानबाट टसको मस भएनन् । तुलनात्मक रुपमा पारिश्रमिक राम्रो हुने र सुगम भएकाले दुबईमा गएरै छाड्ने उनको अठोट थियो । नजाने एउटै विकल्प हो उनको सरुवा, जुन हामी माइक्रो बसका पहुँच भन्दा बाहिरको कुरा ।

भनिन्छ, सबै मानिसँग कहानी हुन्छन् । कसैले लेख्छन्, कसैले लेख्दैनन । कोही व्यक्त गर्दछन् त कोही लुकाउँछन् । सोध्ने र लेख्ने मान्छेको कमी अवश्य छ । तैपनि कतिका कहानी कथा बनेका छन् । यात्राका दौरान अनेकौं कहानी त्यसै बिलाउँछन् ।

यसपटक मेरो ‘लाष्ट सिट’ अनुभवका कथा बने । १७ औं पटकको यात्रामा सयौं कहानी, समस्या, सफलता, आशा र भरोसाहरु भेटिए ।

हरेक भोगाइबाट केही न केही सिक्न, बुझ्न र महसुस गर्न सकिने रहेछ । अँ साँच्ची, पहिलो सिटमा बस्नेले आफूलाई अलि भीआईपी ठान्छन् कि के हो, कमै खुल्छन् । पछाडि फर्केर गफ गर्न पनि कठिन नै हुन्छ सायद ।

बाध्यतासँगै सहयात्रीसँग दुःख–सुखका गफ गर्दै बाटो कटाउन सकिने भएकाले मलाई अचेल ‘लास्ट सिट’ प्यारो लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment