२५ कात्तिक, काठमाडौं । नेपाली फुटबल टिमका पूर्वडिफेन्डर आदित्य चौधरी मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका छन् ।
मनाङसँग आदित्यले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता गरेको जानकारी दिदै आदित्यले भने, ‘आज भरखरै ६ महिनाको लागि सम्झौता गरेको छु । यो सम्झौता ए डिभिजन लिगको लागि मात्रै हो ।’
आदित्यले यसअघिको २०७५ सालको ए डिभिजन लिग भने खेल्न पाएनन् । एपीएफ क्लबमा आबद्ध आदित्य विभिन्न कारणले गर्दा खेल्न पाएका थिएनन् । यो पटकको ए डिभिजन लिग भने डिफेन्डिङ च्याम्पियन मनाङबाट खेल्न भएका हुन् ।
कुनै बेला राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर आदित्य आफू पुनरागमन गर्ने बताउँछन् । उनी भन्छन्, ‘करिब एक वर्ष जति नै भइसक्यो राष्ट्रिय टिममा नपरेको । यसपछिका कारण पनि छन् । मलाई राष्ट्रिय टिममा फर्किन निकै गाह्रो छ । नयाँ प्रशिक्षक हुनुहुन्छ । उहाँले मेरो खेल हेर्नु भएकै छैन । त्यसैले मेरो खेल देखाउने भनेकै ए डिभिजन लिग हो अब ।’
यही मंसिर २८ गतेबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुँदैछ ।
प्रतिक्रिया 4