Comments Add Comment

के तपाईंले बालबच्चा हुर्काउने यस्तो कला अपनाउनुभएको छ ?

आमाबाबुहरु आफ्ना छोराछोरीको स्वास्थ्यको लागि आफ्नो स्वास्थ्यसँग पनि खेलवाड गर्न पछि पर्दैनन् । सन्तानको भविष्यको चिन्तामा आमाबाबुहरुले जतिसुकै खर्च पनि गर्न पछि पर्दैनन् । तर, कतिपय कुराहरु पैसाले मात्रै किन्न सकिँदैन ।

बच्चाहरु भविष्यमा कति सफल हुने भन्ने कुरा उनीहरुको बाल्यकालको जीवनमा आधारित हुन्छ । सबैका सन्तानहरु आफूले सोचेजस्तो हुँदैनन् । तर, त्यसमा पनि अभिभावकहरुको नै जिम्मेवारी महत्वपूर्ण हुन्छ । बच्चाहरु आफूले सोचेजस्तो नहुँदा आमाबाबु नै चिन्ताको शिकार हुने गर्छन् । अभिभावकहरुले सन्तानको मनोविज्ञान नबुझेर आफ्नै निर्णय लाद्न खोज्दा बच्चाहरु झनै आफूले भनेको नमान्ने स्वभावको बन्दै जान्छन् ।

आजको समाज हिजोको जस्तो छैन । समाजको डर मानेर आफ्नो मनमा लागेको कुरा बाँधेर राख्ने स्वभाव आजका बच्चाहरुसँग हुँदैन । त्यसैले बच्चा अवस्थादेखि नै उनीहरुको मनोविज्ञान अनुसार काम नगर्ने हो भने पछि बच्चाहरुलाई सही मार्गमा हिँडाउन नै समस्या हुने गर्छ । त्यसैले आफ्ना सन्तानको स्वभावलाई हेरेर सोही अनुसारको व्यवहार गर्नुपर्छ । एउटा सफल अभिभावकले आफ्ना बच्चाहरुसँग कस्तो व्यवहार गर्ने ? विलक्षण अभिभावकत्व हाँसिल गर्नको लागि के–के गर्न सकिन्छ ?

हेरचाह गर्नु

जुनसुकै बच्चाहरुको पनि बुझ्ने क्षमता ठूला मानिसकोभन्दा सीमित हुने गर्छ । बच्चाहरुले सबै समस्याहरुलाई आफ्ना अभिभावकहरुसँग सुनाउँदैनन् । त्यसैले उनीहरुको समस्यालाई मनोवैज्ञानिक रुपमा बुझेर पनि अभिभावकहरुले व्यवहार गर्नुपर्छ । त्यसैले आफ्ना बच्चाहरुलाई आफैंले बुझेर सोही अनुसार व्यवस्थापन गर्नुपर्छ । विशेषगरी उनीहरुको हेरचाह गर्नको लागि अभिभावकहरुले उनीहरुको मनोविज्ञान बुझ्नु पर्छ । आफूलाई मनपर्ने खेलमा लागेको अवस्थामा बच्चाहरु खानपनि भुल्ने गर्छन् । सरसफाईमा ध्यान दिँदैनन् । यस्तो हेरचाह अभिभावकले धेरै गर्नुपर्छ ।

बच्चाहरुको रफ्तारलाई रोक्न नखोजौं

बच्चा होस् या किशोरावस्थाका मानिसहरु नै किन नहुन् । उनीहरु सधैं स्वतन्त्र रुपमा हिँड्न रुचाउँछन् । तर, आफ्ना बच्चाहरुलाई खुल्ला छाड्दा गलत बाटोमा हिँड्न सक्ने भनेर धेरै आमाबाबुले यसरी हिँड्न दिएका हुँदैनन् । उनीहरु आफ्ना खेलौनाहरु आफैं व्यवस्थापन गर्न सक्छन्, ठूला भएका छोराछोरीहरु आफ्ना कपडाहरुको व्यवस्थापन आफैं गर्न सक्छन् । तर, त्यो स्वतन्त्रता उनीहरुलाई घरबाट दिईँदैन । त्यस्तो अवस्थामा झनै छोराछोरीहरु गलत मार्गमा जाने सम्भावना हुन्छ । त्यसैले काम गर्न सक्ने भएपछि गर्नसक्ने काम आफ्ना सन्तानलाई लगाइराख्नुपर्छ ।

समस्याको आफैं समाधान गर्न दिनुहोस्

कुनैपनि बच्चालाई परेका सानातिना समस्याको समाधान आफैं गर्न दिनुपर्छ । यस्तो हुँदा उनीहरुमा पनि समस्यासँग जुध्नसक्ने आत्मविश्वास बढ्ने गर्छ । बरु त्यसको लागि आफूले स्वतन्त्र रुपमा उनीहरुको काममा निगरानी गर्न सकिन्छ । यस्तो भयो भने उनीहरुले गलत काम गर्न लागेको बेलामा सुझाउन सकिन्छ । अन्यथा बच्चाहरु सानोतिनो समस्या समाधान गर्न पनि हड्बडाउने गर्छन् ।

अनुशासन दण्ड होइन

एउटा सबैले बुझ्नै पर्ने कुरा भनेको अनुशासनमा राख्नु भनेको दण्डित गर्नु होइन । अनुशासनको सीमा भित्र राख्नु भनेको उनीहरुलाई समाजमा कसरी व्यवहार गर्ने भनेर सिकाउनु पनि हो । त्यसैले हामीले बच्चाहरुलाई अनुशासनमा राख्नुपर्छ र उनीहरुलाई पनि अनुशासन दण्ड होइन भन्ने बुझाउनुपर्छ ।

आफ्ना बच्चाहरूसँग खेल्नुहोस्

बच्चाहरुलाई एक्लै खेल्न दिनेभन्दा पनि उनीहरुसँग आफैं खेल्न सक्ने हुनुपर्छ । उनीहरूलाई आफ्नो गतिविधि आफैं छनौट गर्ने अवसर दिनुपर्छ । खेलमा नियमको कुरा नगर्नुहोस् । बच्चाहरुले खेलेको खेललाई नै नियम सम्झिएर रमाइलोको लागि खेल्नु भयो भने साना बच्चाहरु बिस्तारै आफ्ना सबै समस्याहरु सुनाउने गर्छन् ।

हरेक दिन पुस्तकहरू सँगै पढ्नुहोस्

आफ्नो अध्ययन गर्ने या केही बोल्नु छ भने बच्चाकै अगाडि बसेर पढ्ने गर्नुहोस् । बच्चाहरु आफ्ना आमाबाबुको कुरा सुन्न एकदमै मन पराउँछन् । तपाईंको बच्चा र पुस्तकको साथ समातिनु एक महान सम्बन्धको अनुभव हो, जसले उनीहरुलाई जीवनभर पढ्ने हौसला मिल्छ ।

दैनिक विशेष समय तालिका बनाउनुहोस्

तपाईंको बच्चाको लागि एउटा समय र गतिविधिको छनोट गर्नुहोस् । जहाँ तपाईं १० देखि १५ मिनेट कुनै रोकावट बिना बच्चाहरुलाई आफ्नो प्रेम देखाउन सक्नुहोस् । बच्चाहरुलाई आफ्नो प्रेम देखाउनको लागि समय दिनेभन्दा सजिलो अरु कुरा छैन ।

न्यानो सम्झनाहरु बनाउनुहोस्

बच्चाहरुसँग समय समयमा यादगर ठाउँको भ्रमण गराउनुपर्छ । पछिसम्म सम्झना रहने गरी बच्चाहरुसँग कुनै ठाउँमा जाँदा बच्चाहरु लामो समयसम्म आफ्ना बाबुआमासँग त्यही ठाउँको कुरा गरेर नै रमाउन सक्छन् । जसले उनीहरु परिवारप्रति धेरै आत्मीय हुन्छन् । उनीहरु पारिवारिक संस्कारसँग पनि नजिक हुन्छन् । यसबाहेक त्यस्ता सम्झना गराउने कामहरु बिहानसाँझ बच्चाहरुसँग खेल्दा पनि गर्न सकिन्छ ।

बुबाको समय धेरै महत्वपूर्ण हुन्छ

बच्चाहरुलाई बुबाको समय धेरै महत्वपूर्ण हुने गर्छ । बुबासँग नै स्कूल जाने, बुबासँग नै घुम्न जाने, सुत्नेबेलामा पनि बुबासँग नै सुत्ने जस्ता स्वभावहरु बच्चामा धेरै देखिन्छ । बच्चाको लागि एक हिसाबले बुबाहरु रोलमोडल नै हुने गर्छन् । त्यसैले बच्चाहरुलाई एक्लोपनको महसुस हुन दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment