Comments Add Comment

निर्माताका समस्याः ‘वितरकको राजनीतिदेखि हलवालाको हेपाइसम्म’

‘निर्माताको मुख्य समस्या निर्माता नै’

वि.सं २०५० सालको सुरुवाती महिनामा चलचित्र ‘संकल्प’ रिलिज भयो । यो चलचित्रमा सो समयका चल्तीका कलाकारहरु शिव श्रेष्ठ, कृष्ण मल्ल, भुवन केसी, कृष्टी मैनाली, शर्मिला मल्ल, सुनिल थापा लगायतको मुख्य भूमिका थियो । श्याम राईको निर्देशनमा बनेको यो चलचित्रलाई लास्साका व्यापारी केदार श्रेष्ठले निर्माण गरेका थिए । केदारले निर्माण गरेको यो पहिलो चलचित्र थियो । चलचित्रबाट राम्रै कमाई गर्ने सोच उनको थियो । सबै चलेका कलाकार भएकाले पनि नाफा कमाउनेमा उनी ढुक्क थिएन । टेबलमा बसेर चलचित्रको लगानीबारे छलफल गर्दा २५ लाखको कुरा भयो । तर, जब चलचित्रको छायांकन सुरु भयो पूर्व निर्धारित बजेटमा चलचित्रको ५० प्रतिशत छायांकन पनि सकिएन ।

त्यो बेला केदारसँग दुई विकल्प थिए । कि लगानी थपेर चलचित्र तयार गर्ने कि हालसम्मको लगानी माया मारेर चलचित्र नै छोडिदिने । केदारले पहिलो विकल्प रोजे । पूर्ण चलचित्र तयार हुँदा ५० लाख बजेट कट्यो ।

यत्तीको लगानी उठ्न सक्ने नेपाली चलचित्रको बजार पनि थिएन । नाफा कमाउन आएका केदारलाई आफ्नो लगानी बचाउनै गाह्रो थियो । उनले आफूलाई ‘डेन्जर जोन’मा राखेर चलचित्रमा लगानी गरेका थिए ।
अन्ततः चलचित्रबाट निर्माताले धेरै घाटा सहनुपर्यो । लगानीको ५० प्रतिशत पनि चलचित्रको उठाउन सकेन । त्यसको नतिजा, निर्माता केदारले आफूलाई नै समाप्त पारे । उनले आत्महत्याको बाटो रोजे ।

चलचित्रको कारण निर्माताहरुले कतिसम्म पिडा खेप्नुपर्छ भन्ने बलियो उदाहरण हुन्, केदार । चलचित्र क्षेत्रले ५० वर्षे यात्रा पार गरीसक्दा पनि यो समस्या अझै जिवित छ । अहिले चलचित्र क्षेत्रमा यस्ता धेरै निर्माता छन्, जो भित्र भित्र मरिरहेका छन् ।

कुरा गरौ, चलचित्र ‘रानीमहल’को । यो चलचित्र ओभर बजेटका कारण पूर्ण हुन सकेको छैन । निर्देशकले दिएको बजेटमा चलचित्रको २० प्रतिशत छायांकन पनि हुन सकेन । डेढ करोड लगानी त २० प्रतिशत छायांकनमा नै सकियो ।

तोकिएको बजेटमा चलचित्रको २० प्रतिशत पनि छायांकन नभएपछि निर्माता बेद प्रसाद भुसालले प्रोडक्सन म्यानेजरमाथि प्रश्न उठाएका थिए । तर, प्रोडक्सन म्यानेजर गणेश सापकोटाले भने आफूले हिनामिना नगरेको दावी गरिरहेका छन् ।

पैसाकै कारण उनीहरुबीच भएको लफडाले चलचित्र पूर्ण हुन सकेन । निर्माताको झण्डै २ करोड पैसा जोखिममा छ । अब, चलचित्र बन्ने संभावना पनि छैन । निर्देशक हिमाल न्यौपानेलाई साथी भएकाले विश्वास गरेर वेद प्रसादले चलचित्रमा लगानी गरेका थिए । लगानी बढी हुनु, पैसा डुब्नुमात्र निर्माताका समस्या होइनन् । कलाकार तथा निर्माता दीपकराज गिरी कलाकारदेखि हलवालासम्मबाट निर्माताहरु पीडित भएको बताउँछन् । उनले भने–‘निर्माताको समस्याहरु धेरै छन् । निर्माताहरु त कलाकार, निर्देशक, वितरकदेखि हलवालासम्मबाट पीडित छन् । निर्माताको समस्या निर्माता नै छन् ।’

निर्माताको समस्या निर्माता नै हुन्’, दीपक भन्छन्–‘फलानो निर्माताले फलानो मितिमा चलचित्र रिलिज गर्दैछ भन्ने थाहा भएपछि अर्को निर्माताले त्यसलाई सिध्याउने भन्दै सोही मितिमा अर्को चलचित्र रिलिज गर्छ । त्यसैले निर्माताको समस्या निर्माता नै हुन् ।’

अरुको लहलैमा लागेर आएका निर्माताहरु पनि वास्तविक निर्माताको घातक भएको दीपक बताउँछन् । ‘उसले खराब चलचित्र निर्माण गर्छ, अनि नेपाली चलचित्रले क्षेत्रले गाली पाउँछ । यसको असर राम्रो बनेका चलचित्रहरुमा पर्छ’, दीपकको भनाई छ ।

दीपकराजको कुरालाई मान्ने हो भने, निर्माताको लागि सबैभन्दा ठुलो खतरा भनेको वितरक हुन् । वितरकले नै हल नदिनेदेखि चलचित्रलाई जुधाउनेसम्म गर्छन् र निर्मातालाई डुबाउँछन् । दीपकले भने–‘विदेशी चलचित्रका वितरक हाम्रो लागि ठूलो समस्या बनिरहेका छन् । हलवालालाई आफूले वितरण गर्ने आगामी चलचित्र नदिने धम्कीले विदेशी चलचित्रको शो बढी लिन्छन् । यस्ता वितरकका कारण नेपाली चलचित्रका निर्माताहरुको पैसा बालुवामा पानी भइरहेको छ ।’

चलचित्र बल्लातल्ल रिलिज भयो । अब हलवालाहरुले निर्माताले पैसा कहिले दिने हो पत्तो हुँदैन । दीपक भन्छन्–‘केही हलहरु यस्ता छन्, जसबाट निर्माताले एक वर्षसम्म पनि पैसा पाउँदैनन् ।’

नयाँ निर्मातालाई लगानीमा नै समस्या हुन्छ । ‘रानीमहल’ जस्तो धेरै चलचित्रहरु छन्, जो तोकिएको लगानी भन्दा बढि लगानी भएको छ । अहिले त सुटिङमा पनि समस्या भएको दीपक बताउँछन् । उनले भने–‘अहिले त जहाँ सुटिङ गर्नुपरे पनि पैसा तिर्नुपर्ने अवस्था आएको छ । खुल्ला बाटोमा खिच्दा पनि कहाँबाट क्लब आइपुग्छ पैसा माग्न ।’ चलचित्र चले सबैलाई फाइदा पुग्छ । चलचित्र नचलेको अवस्थामा निर्माता एक्लै डुब्नु पर्ने अवस्था छ ।’

खरो निर्माताको रुपमा परिचित माधव वाग्ले कास्टिङदेखि रिलिजसम्म निर्माताले धेरै कुरामा समस्या खेप्नुपर्ने बताउँछन् । अझ, सबैभन्दा समस्या कलाकारहरुबाट भइदिने उनले बताए । ‘सुरुमा त कलाकारले चर्को पारिश्रमिक मागिदिन्छन् समस्या यहीबाट सुरु हुन्छ’, वाग्ले भन्छन्–‘त्यसपछि प्री–प्रोडक्सनदेखि रिलिजको प्रचारसम्म कलाकारहरुले समय नै दिदैनन् । कलाकारहरुले साच्चिकै समस्या दिइरहेका छन् ।’
निर्देशकहरुबाट पनि निर्माताहरुलाई समस्या हुने वाग्ले बताउँछन् ।

उनी भन्छन्–‘प्री–प्रोडक्सनमा बसेको समयमा निर्देशकले मागेको कुराहरु हामी उपलब्ध गराउँछौ । तर, कहिलेकाँही उनीहरुले सेटमा पुगेपछि पनि यस्तो चाहियो उस्तो चाहियो भन्दै मागेर हैरान पार्छन् । उनीहरुबाट पनि समस्या नै छ ।’

चलचित्र सम्बन्धी स्पष्ट कानुन नहुँदा समस्या उत्पन्न भएको माधवको तर्क छ । चलचित्र ‘चंगाचेट’मा नक्कली पैसा प्रयोग गर्दा माधव थुनामा परेका थिए ।

‘चलचित्रमा देखाउनको लागि मैले नक्कली नोट बनाएँ । हरेक नोटमा नक्कली नोट भएको उल्लेख पनि गरिएको छ’, आक्रोषित शैलीमा वाग्ले भन्छन्–‘सोही नोटको कारण म हिरासत पुग्नु पर्यो । मलाई त आतंककारी जस्तै व्यवहार गरियो ।’

चलचित्र छायांकनपछि पोष्ट प्रोडक्सनमा पनि धेरै समस्याहरु भएको माधव बताउँछन् । उनी भन्छन्–‘हाम्रो चलचित्रमा साउण्ड, डबिङ, इडिटिङ, भिएफएक्स जस्ता हरेक कुरामा समस्या छ । तीन दिनमा सकिने कामलाई महिनौ लगाइदिन्छन् । हाम्रोमा राम्रो काम गर्न सक्ने मान्छे पनि छैनन् ।’

चलचित्र पूर्ण रुपमा तयार भएपछि सेन्सर गर्न पनि नेपाली चलचित्रलाई समस्या नै भएको माधवको गुनासो छ । ‘विदेशी चलचित्रलाई भने सेन्सरमा कुनै गाह्रो हुन्न’, माधव भन्छन्, ‘नेपाली चलचित्रको सेन्सर गर्नुपर्यो भने विभिन्न झमेलामा पारिन्छ । त्यो पनि समस्या नै हो ।’

दीपकराजले भनेजस्तै निर्माताको समस्या निर्माताहरु आफै पनि भएको वाग्लेको तर्क छ । निर्मातालाई चलचित्रको वितरणमा निकै समस्या परिरहेको हुन्छ । उनले भने–‘यहाँ त मान्छे हेरेर हलले शो दिन्छन् । यो आफैमा गलत हो । जोसुकै निर्माताले बनाएको चलचित्रलाई पनि शो दिनुपर्छ ।’ रिलिज पछि पैसा उठाउन पनि गाह्रो हुनु निर्माताको अर्को समस्या हो ।

मिडियाका कारण पनि निर्मातालाई समस्या हुने वाग्ले बताउँछन् । उनले भने–‘यहाँ त प्रत्येक कलाकारहरुको आफ्नै अनलाइनहरु छन् । त्यहाँ उनीहरुले आफ्नै गुनगान हाल्छन्, हाल्न लगाउँछन् । त्यो पनि हाम्रो लागि पनि समस्या बनिरहेको छ ।’

निर्माता रविन्द्र सिंह बाँनिया निर्माता आफैमा समस्या भएको तर्क गर्छन् । उनी भन्छन्–‘यहाँ पैसा हाल्छु भनेर आउने निर्माताहरु धेरै हुनुहुन्छ । चलचित्र बनाउने ज्ञान लिएर आउने निर्माताहरु कमै हुनुहुन्छ । रमाइलो, मोजमस्ती र आफ्नो स्वार्थको लागि निर्माता बन्नेहरु आफैमा समस्या हुन् ।’

चलचित्र निर्माण गर्न आउँदा निर्माताले सुरुमा टिम छनोट गर्न जान्नु पर्ने बाँनिया बताउँछन् । ‘जब निर्माताले चलचित्र बनाउँछु भन्ने आँट गर्छ तब उसले सर्वप्रथम राम्रो टिम छान्नुपर्छ’, उनले भने, ‘आफूसँग लय मिल्ने राम्रो निर्देशक, राम्रो कथा, राम्रो स्क्रिप्ट र राम्रो कलाकार छानियो भने आधा काम त्यही नै सकिन्छ । यहाँ निर्माताहरु राम्रो टिम छान्न नसक्दा समस्यामा परिरहेका छन् ।’

कलाकारहरुको अनावश्यक पारिश्रमिक पनि निर्माताको अर्को समस्या हो । ‘यहाँ टुरिष्ट निर्माताहरु धेरै आउँछन् । एउटा चलचित्र बनाएर हराउँछन् । ती निर्मातासँग कलाकारले पनि महंगो पारिश्रमिक लिन्छन् । तर, यसको प्रत्यक्ष असर पेशागत रुपमा नै चलचित्र बनाउने निर्मातालाई पर्छ । यो निर्माताको लागि ठूलो समस्या हो ।’ रविन्द्रले भने ।

चलचित्र छायांकनमा प्राविधिकहरुबाट पनि धेरै समस्या खेपिरहेका छन् निर्माताहरु । चर्को पारिश्रमिक लिने तर, कामचोरहरु धेरै भएको रविन्द्र बताउँछन् । उनी भन्छन्–‘तपाईको त यति बजेटको चलचित्र हो । हामीलाई यति दिदा के हुन्छ भन्नुहुन्छ । उनीहरुले पैसा मागे अनुसार काम गर्दिने हो भने हामी पनि खुसी खुसी पैसा दिन तयार छौ । तर, यहाँ ९८ प्रतिशत प्राविधिकहरु आँखा छलेर काम चोर्नेहरु छन् ।’

रविन्द्रले प्राविधिकहरुले छायांकनको समयमा आफूलाई सफाचट राख्नका लागि ध्यान नदिएको समेत गुनासो गरे । भन्छन्–‘पैसाको कुरा गर्ने हो भने डाक्टरको भन्दा बढी पैसा उनीहरुले कमाएका छन् । तर, सफासट भएर हिड्न जान्दैनन् । बल्लतल्ल सुटिङको लागि घर मिलाइएको हुन्छ, त्यहाँ गएर के–के विगार गर्छन् गर्छन् ।’ सिक्छु र आफूलाई बदल्छु भन्ने प्राविधिकहरु निकै कम छन् ।’

आफूले नभोगे पनि निर्देशकको कारण रोएका निर्माताहरु धेरै देखेका छन् रविन्द्रले । निर्माताले चलचित्र निर्माण नगरी पैसाको आडमा चलचित्रको ठेक्का निर्देशकलाई दिदा यस्तो समस्या आएको बाँनियाको तर्क छ । ‘यहाँ निर्देशकहरु ठेकेदार जस्ता छन् । तेरो चलचित्र यति बजेटमा सकिदिन्छु भनेर काम लिन्छन् । पछि पैसा पुग्दै् अनी झगडा सुरु हुन्छ’, यसलाई पनि समस्याको रुपमा सुनाउँछन् रविन्द्र ।

पोष्ट–प्रोडक्सनमा पनि धेरै समस्याहरु छन् । केही मान्छेहरु मात्र छन्, जसले काम जानेका छन् । अरु काम चलाउ नै गरिरहेका छन् । त्यसको बाध्यतामा निर्माताहरु परेका छन् । जसरी हुन्छ काम सक्ने बहानामा निर्माताहरुले राम्रो काम पाएका छैनन् । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को रिलिजमा प्राविधिकको ढिलासुस्तीले समस्या आएको थियो ।

निर्माताद्धय दीपक र माधवको जस्तै वितरण र पैसा उठाउनमा पनि रविन्द्रले समस्या देखेकोबताए । कोही निर्माता चलचित्र निर्माण गर्छु भनेर आउँछ भने आफूलाई भेट्न आग्रह गर्छन् रविन्द्र । उनले भने–‘आउनुहोस्, म तपाईहरुलाई धेरै कुराको जानकारी दिन नसके पनि केही निर्माताले बुझ्नै पर्ने कुराहरुबारे जानकारी दिन्छु । जसको कारण तपाईको समय र पैसा दुबै जोगिन सक्छ ।’

नेपाली चलचित्र समस्या नै समस्याले ग्रसित छ । न त यो बिषयमा कुनै सरोकारवाला निकायलाई नै मत्तलव छ, न त निर्माता आफैले पनि यो बिषयमा खुलेर नै बोल्छन् । अरुलाई पर्दा खुच्चिङ भन्ने निर्माता आफूलाई पर्दा मात्र बोल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment