Comments Add Comment

सुरक्षित नेपालका लागि राजतन्त्रलाई स्पेस दिनुपर्छ : राप्रपा नेता बोहरा

५ मंसिर, दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले नेपालको सुरक्षित भविष्यका लागि राजसंस्थालाई पनि स्पेस दिनुपर्ने बताएका छन् ।

दाङको क्षेत्र नं ३ (ख) मा हुने उपनिर्वाचनको हापुरेमा आयोजित चुनावी सभामा बोल्दै उनले संविधानको परिधिभित्र रहने राजसंस्थाको पुनःस्थापनाका लागि राजनीतिक शक्तिका बीचमा बहस हुनुपर्ने धारणा राखे ।

उनले देशको स्थायित्व र समृद्धिका लागि राजसंस्था, हिन्दु राष्ट्र र सुदृढ स्थानीय शासनको पक्षधर राजनीतिक शक्ति कहिल्यै पूरातनवादी नहुने जिकिर पनि गरे  । नेता बोहराले भारतले जारी गरेको नयाँ नक्शाबारे सर्वदलीय बैठकले सरकारलाई उच्च मनोबल प्रदान गरे पनि सरकारले खेलाँची गरेको आरोप लगाए ।

राप्रपा उपाध्यक्ष प्रेमबहादुर भण्डारीले नेपालमा जबर्जस्‍ती धर्म परिवर्तन गर्ने ठूलो गिरोह सक्रिय रहेको भन्दै यसले कालान्तरमा धर्मयुद्ध निम्त्याउन सक्ने दावी गरे ।

महामन्त्री राजेन्द्र लिङ्देनले अहिले सरकारको अनुभूति हुन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको गलत क्रियाकलापको भागिदार बनेको आरोप लगाए ।

अर्का महामन्त्री डा. धवलशमसेर राणाले हिन्दु राष्ट्र र राजसंस्था नेपालको स्थायित्वको आधार भएको बताउँदै निहित राजनीतिक स्वार्थका लागि सामाजिक सद्भाव विथोल्न नहुने बताए ।

दाङ क्षेत्र नं ३ को प्रदेशसभा (ख) का उम्मेदवार भुपाल रावतले आफू विजयी भए निर्वाचन क्षेत्रको विकासमा निस्वार्थ भई काम गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment