Comments Add Comment

तेस्रो मुलुकबाट आयातीत मरिच भारत तस्करी, सीमा नजिकै गोदाम

७ मंसिर, विराटनगर । मोरङ प्रहरीले भित्री बाटोबाट भारततर्फ तस्करी हुँदै गरेको १६ बोरा मरिच नियन्त्रणमा लिएको छ । जहदा गाउँपालिका-१ तारिगामाबाट प्रहरीले तीनवटा मोटरसाइकलसहित १६ बोरा मरिच नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको ४ सय २५ किलो मरिचको बजार मूल्य २ लाख ५० हजार रुपैयाँ बराबर छ ।

सो मरिच भारतीय नम्बर डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ को मोटरसाइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । मरिच तस्करीमा संलग्नहरु भने भारततर्फ भागेको उनले बताए ।

मरिच र मोटरसाइकल आवश्यक कारबाहीका लागि प्रहरीले बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

नाकामा ‘स्थायी लेखा नम्बर लिएर तस्करी’

प्रहरीका अनुसार पछिल्लो समय मरिच तस्करी फस्टाएको छ । बिहीबार पनि तस्करीको मोटरसाइकलबाट दुई-तीन पटक लगिसकेपछि मरिच बरामद भएको हो । सो मरिच कसको हो भन्ने नखुलेको उपरीक्षक अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार तस्करको समूहले दुई पटक भारत पुर्‍याएपछि तेस्रो पटकको पालामा गस्तीमा रहेको प्रहरी देखेपछि भागेका थिए ।

मरिच तस्करीका लागि प्रयोग गरिएका मोटरसाइकल ।

नेपालमा भन्दा भारतमा महँगो पर्ने मरिचको तस्करीका लागि सीमा नाकामा तस्करहरुले गोदाम खोलेका छन् । स्थायी लेखा नम्बर लिएर खुलेका साना पसल र गोदाम प्रयोग गर्दै मरिच भारतसम्म पुग्ने गरेको छ । मोरङ प्रहरीको दाबीअनुसार विराटगर बजार क्षेत्रबाट मासिक १० हजार किलोसम्म मरिच बिक्रीका लागि भन्दै सिमावर्ती क्षेत्रका पसलहरुमा पुग्छ ।

प्रहरीले गत असार ४ गते विराटनगरबाट सिमावर्ती क्षेत्र बुधनगर लैजाँदै गरेको ३० बोरा मरिचसहित दुईवटा अटो नियन्त्रणमा लिएर कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको थियो । तर २० दिन अनुसन्धानका लागि राखेको राजस्व कार्यालयले २१ असारमा खरिदकर्ता कञ्चन खरिद बिक्री केन्द्रलाई पत्र काटेर ३० बोरा (७५० केजी) मरिच फिर्ता लैजान भन्यो ।

भारततर्फ तस्करी बढेपछि तेस्रो मुलुकबाट नेपालमा मरिच आयात पनि बढेको छ

‘कञ्चन खरिद बिक्री केन्द्र रहेको स्थान आसपास सानो बस्ती छ । बस्तीलाई १० केजी मरिचले एक वर्षसम्म पुग्छ । तर साढे सात सय किलो मरिच किन लगियो ?’ प्रहरी भन्छ ‘भारतमा तस्करीका लागि ।’

सीमा क्षेत्रमा रहेको कञ्चन खरिद बिक्री केन्द्रले मात्र होइन सीमा क्षेत्रमा खुलेका अधिकांश पसलेको काम भारत मरिच तस्करी गर्ने प्रहरीको दाबी छ ।

स्थायी लेखा नम्बर लिएर बिक्रीका लागि भन्दै सीमा क्षेत्र पुगेको मरिच प्रहरीको आँखा छल्दै भारत पुर्‍याउने गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठ बताउँछन् ।

सीमा नाकाबाट २० मिटरको दुरीसम्म गोदाम सञ्चालनको अनुमति दिइएको छ । सिमाना नजिकै खोलिएका गोदामबाट भारत मरिच तस्करी गर्न सजिलो भइदिएको छ । मोरङको ६३ किलोमिटर क्षेत्र भारतसँग सिमाना जोडिएको छ । सीमा क्षेत्रमा रहेका १६५ भन्दा बढी गोदामको प्रयोग हुँदै भारतबाट नेपाल र नेपालबाट भारतसम्म तस्करीका सामान पुग्छन् ।

सीमा नाका छेउमा खुलेका पसलहरुले पनि भ्याट बिल मार्फत विक्रीका लागि बजारबाट लगेको मरिच भारतको पूर्णियासम्म पुर्‍याउँछन् ।

तस्करीका लागि आयात

सुन र सुपारीपछि अहिले मरिच तस्करी बढेको छ । भारततर्फ तस्करी बढेपछि तेस्रो मुलुकबाट नेपालमा मरिच आयात पनि बढेको छ । भन्सार कार्यालय विराटनगरको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा आयात उच्च छ । आर्थिक वर्ष २०७५-७६ मा विराटनगर भन्सार कार्यालय हुँदै १ अर्ब २५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको ३० लाख ४७ हजार किलो मरिच आयात भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४-०७५ मा १ अर्ब ३० करोड ९२ लाख ८८ हजार बराबरको ३२ लाख ३० हजार २४८ केजी मरिच नेपाल भित्रिएको छ । विसं. २०७३-७४ मा ११ करोड २१ लाख ३३ हजार मूल्य बरावरको एक लाख ४८ हजार एकसय ८६ किलो मरिच  आयात भएको छ । भारततर्फ मरिच तस्करीको लाइन २०७३-७४ मा खुलेपछि आयात एक्कासी बढेको व्यापारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस सुन र सुपारीपछि मरिचको तस्करीः ‘ट्रान्जिट’ बन्दैछ नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment