Comments Add Comment

स्वास्थ्यमाथि यसरी गरिन्छ खेलाँची, औषधि पनि गुणस्तरहीन

१० प्रतिशत औषधि  गुणस्तरहीन, प्रयोग गर्न नजान्दा धेरै जोखिम

औषधि मानव-स्वास्थ्यसँग जोडिएको संवेदनसिल कुरा हो । रोगबाट बच्न एवं रोग निर्मुल बनाउन औषधि सेवन गरिन्छ । तर, त्यही औषधि गुणस्तरहीन छ भने ?

पक्कैपनि हाम्रो स्वास्थ्यमाथि खेलाँची हुनेछ । सामान्य खाद्यपदार्थको गुणवत्ता त कडाइका साथ परीक्षण गर्नुपर्ने हुन्छ भने औषधिको गुणवत्तामा आँखा चिम्लनु कति गैर-जिम्मेवार हो ? जानी-जानी कसैको स्वास्थ्यमाथि खेलबाड गर्नु कहाँसम्मको हेलचेक्राई हो ? यस्तै हेलचेक्राई र गैर-जिम्मेवारपूर्ण काम गरिरहेका छन् औषधि उत्पादक र वितरकहरु ।

नेपालमा खपत हुने १० देखि १२ प्रतिशत औषधिहरु गुणस्तरहीन हुने गरेको भेटिएको छ । राष्ट्रिय औषधि प्रयोगशालाले गर्ने परीक्षणको क्रममा यो संख्यामा औषधि गुणस्तरहीन हुने गरेको भेटिएको हो । प्रयोगशालाका प्रमुख शैलेश झाका अनुसार हरेक वर्ष नेपाली र विदेशी गरी १० देखि १२ प्रतिशतसम्म बजारमा गएका औषधिहरु गुणस्तरहीन रहेको भेटिएपछि फिर्ता गर्ने गरिएको छ ।

प्रयोगशालाले एलोपेथिक, भेटेरिनरी, आयुर्वेदिक र हर्वल क्याटागोरीका मेडिसिनहरुको गुणस्तर परीक्षण गर्ने गर्छ । औषधि ऐनको दफा १२ ले प्रत्येक औषधि तोकिएको स्तर कायम रहने गरी जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनु पर्ने उल्लेख गरेको छ । सोही ऐनले बिक्री-वितरणको लागि बजारमा आइसकेको औषधि दफा १२ बमोजिम जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएमा उत्पादन गर्ने व्यक्ति वा निजको प्रतिनिधिले त्यस्तो औषधि बिक्री-वितरण गर्ने व्यक्तिबाट फिर्ता लिनु पर्ने उल्लेख छ । औषधिहरु गुणस्तरयुक्त छन् कि छैनन् ? भन्ने बारेमा प्रयोगशालाले कुनैपनि औषधि उत्पादकले उत्पादन गरेको औषधिहरु बजारमा जानु पूर्व र बजारमा गइसकेपछि समेत औषधिको परीक्षण गर्ने गरेको छ ।

स्वास्थ्य क्षेत्रका जानकारहरु बजारमा प्रयोगशालाले भनेकोभन्दा धेरै गुणस्तरहीन औषधिहरु प्रयोग भइरहेको बताउँछन् । प्रयोगशालाले औषधिमा आवश्यक पदार्थको मात्रा कत्तिको पुगेको छ भनेर मात्रै परीक्षण गर्ने भन्दै प्रयोग गर्न नजानेर धेरै औषधिको गुणस्तर कम भइरहेको समेत उनले बताए । औषधिको महत्वको बारे प्रयोगकर्ताहरु जानकार नभएका कारण धेरै औषधिले साइड इफेक्ट गर्ने गरेको समेत भेटिएको जानकारहरु बताउँछन् ।

स्वास्थ्य क्षेत्रमा विविध अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शिवराज अधिकारी बजारमा गुणस्तरहीन औषधिका साथै प्रयोग गर्न नजानेर औषधिको गुणस्तर कम हुने अवस्था समेत धेरै रहेको बताउँछन् । उनले प्रयोगशालामा केवल औषधिको परीक्षण मात्रै हुने भएपनि बजारमा यसको अवस्था त्योभन्दा बढी समस्याग्रस्त रहेको बताए ।

अधिकारीका अनुसार औषधि केसँग खाएको छ ? औषधिलाई खरिद गरिसकेपछि कस्तो वातावरणमा राखिएको छ ? भन्ने जस्ता विषयले पनि औषधिको गुणस्तरलाई असर गर्ने गर्छ । हामीहरु औषधि किनेर घाममा सुकाएर राख्ने गर्छाैं । औषधि भण्डारण गर्दा अत्यधिक चिसो र गर्मीको सन्तुलन पनि मिलाउने गरिएको छैन । त्यसैले औषधिको गुणस्तर हेर्नको लागि प्रयोगशालाको परीक्षण मात्रै पर्याप्त नभएको उनको बुझाई छ ।

आम मानिसलाई गुणस्तरीय औषधिको व्यवस्था गर्ने जिम्मा पाएको प्रयोगशालासँग व्यवस्थित सूचना प्रणाली समेत नहुँदा प्रभावकारी रुपमा गुणस्तर परीक्षण हुने गरेको छैन । प्रयोगशालासँग नेपालमा औषधि उत्पादकहरुको पूर्ण विवरण समेत छैन । झा नियामक निकायको रुपमा रहेको औषधि व्यवस्था विभाग हुँदाहुँदै आफूहरुले सो विषयमा विवरण अद्यावधिक गरिरहनु आवश्यक नरहेको बताउँछन् । अहिलेसम्म यति नै परीक्षण भयो भन्ने विषयमा पनि विभागले नै तथ्यांक राख्ने भएकोले प्रयोगशालामा तथ्यांक समेत पूरा नरहेको उनले स्वीकारे ।

त्यसो त प्रयोगशालामा भएका यस्ता कमजोरीको विषयमा हरेक वर्ष महालेखा परीक्षकको कार्यालयले कमजोरी औल्याउने गरेको छ । तर, यो विषय सुधारिएको छैन । राष्ट्रिय औषधि प्रयोगशालामा नेपालमा उत्पादन हुने औषधि उद्योगहरुको विवरण समेत नभएको चौमासिक दरमा ८ वटाका दरले २४ औषधि उत्पादन गर्ने उद्योगको औषधि प्रयोगशाला परीक्षण गर्ने लक्ष्य लिएकोमा कतिवटामा परीक्षण गरियो ? भन्नेबारेमा समेत यकीन नगरी एक्कैपटक शतप्रतिशत प्रगति उल्लेख गरिएको आरोप ३ वर्ष अघिदेखि महालेखाले लगाउँदै आएको छ । यो विषयमा पनि झाले विभागले कुनैपनि औषधि या प्रयोगशालाको परीक्षण गर्न आग्रह गरेपछिमात्रै आफूहरु परीक्षण गर्न जाने बताए ।

औषधि खपतको तथ्यांक नै अनुमानित

औषधि व्यवस्था विभागसँग पनि औषधि उत्पादन र बिक्री वितरणको विषयमा कुनै आँकडा छैन । विभागले बजारमा खपत हुने औषधिको हिस्सा पत्ता लगाउनको लागि नेपाल औषधि व्यवसायी संघको तथ्यांकलाई आधार मान्ने गरेको छ । सो तथ्यांक अनुसार अनुमानित ५० देखि ५५ अर्ब रुपैयाँसम्मको औषधि खपत हुने गरेको छ । औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षत्रीले औषधि खपतको यकीन विवरण आफूहरुसँग नभएको स्वीकारे ।

औषधि व्यवस्था विभागमा कूल एलोप्याथी तर्फ स्वदेशी ७३ वटा औषधि र विदेशी ३७३ वटा औषधि उत्पादक कम्पनीहरु सूचीकृत भएका छन् । त्यस्तै, भेटेरिनरी तर्फ स्वदेशी १२ र विदेशी १६ कम्पनीहरु सूचीकृत भएका छन् । आयुर्वेद/हर्बलहरुमा भने विदेशी ३५ वटा र स्वदेशी ८० उद्योगहरु सञ्चालमा छन् । ती सबै उद्योगका प्रयोगशालाको परीक्षण गर्ने जिम्मेवारी राष्टि्रय औषधि प्रयोगशालाको हो ।

नेपाली र विदेशी औषधिमा गुणस्तरको बहस

केही समयदेखि नेपाली र विदेशी कम्पनीका औषधिहरुमा गुणस्तरको बहस चल्ने गरेको छ । विदेशी भन्दैमा सबै औषधि गुणस्तरीय नहुने भन्दै केही समयदेखि नेपाली औषधि उत्पादकहरुले नेपाली औषधिहरु विदेशीभन्दा गुणस्तरयुक्त हुने तर्क गर्ने गरेका छन् । उनीहरूले नेपालमा जति पनि औषधि उद्योगहरु छन् ती सबै अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरको हुने भएकोले विदेशी औषधि भन्दैमा नेपालीभन्दा राम्रो हुन्छ भन्ने सोचाई नराख्न आग्रह गर्छन् ।

यो तर्कमा सह-प्राध्यापक अधिकारी समेत सहमती जनाउँछन् । ‘विदेशबाट आएका केही औषधि ज्यादै कम गुणस्तरका छन् ।’ अधिकारी भन्छन्, ‘ती औषधिले बिरामीमा राम्रो प्रभाव नपार्दा उपचार नै महँगो हुने गरेको छ ।’ उनले अनुसार कूल गरिबीको २ प्रतिशत मानिसहरु औषधिका कारण गरिब भएको एक अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment