Comments Add Comment

शतबीज छर्ने दिन : यस्तो छ किम्बदन्ती

काठमाडौं । हिन्दु संस्कृति मान्नेहरुले आफ्ना दिवंगत पूर्खाहरुको मुक्तिको लागि शतबीज छर्ने गरिन्छ । हिन्दु संस्कृति अनुसार कुनैपनि दूर्घटना या अकाल मृत्यु भएका मानिसहरु पूर्णरुपमा स्वर्ग या नर्कमा तर्न सक्दैनन् । जीवन जिउने क्रममा उनीहरुले पूरा गर्न नसकेका विभिन्न कर्म पूरा नभएसम्म मृतात्मा बैतर्नी तर्दैनन् भन्ने मान्यता छ ।

यसरी अकालमा मृत्यु भएका र राम्रोसँग मृत्युकर्म गर्न नसकिएका पितृहरुको लागि सम्पन्न गर्नुपर्ने नियम पुरागर्न नसकेमा मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ ।

यसरी शतबीज छर्नको लागि पिता/माता, पितामह(हजुरबुबा) या मातामह(हजुरआमा), सातपुस्ता भित्रका १३ दिने जोकोहीको पनि जुठो बार्ने या बराखी लाग्नेहरुको नाममा छर्ने गरिन्छ । तर, पछिल्लो समय पिता माताको नाममा मात्रै शतबीज छर्ने गरिन्छ ।

के-के छरिन्छ शतबीजमा ?

शतबीज छर्नेक्रममा विभिन्न किसिमका ७ अन्नहरुको प्रयोग गरिन्छ । यसलाई सप्ताधानयुक्त शतबीज पनि भनिन्छ । यसमा धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ आदि पर्छ । यी अन्नहरु ठाउँ अनुसार फरक पनि हुने गर्छ । जस्तो कुनै कुनै ठाउँमा चना, तील, मकैका साथै कागती, निबुवा, बिमिरो, सुन्तला, स्याउ, उखु, अम्बा, केराको समेत प्रयोग गर्ने गरिन्छ ।

कसरी छरिन्छ शतबीज ?

यस्ता शतबीजहरु हिन्दु धर्मको आस्था जोडिएका विभिन्न जंगलहरुमा छर्ने गरिन्छ । जस्तो पशुपतिको कैलाश डाँडा, श्लेष्मान्तक वन र अन्य आस्था जोडिएका वनहरुमा बढी शतबीज छर्ने गरिन्छ । यसको लागि त्रयोदशीको दिन पितृहरुको सम्झनामा दीप प्रज्वलन गरी रातभरी जागा बस्ने गरिन्छ । यो क्रममा भजनकीर्तन गर्ने, भगवान स्तुति गर्ने गरी रातभरी जागा बस्ने गरिन्छ । भोलिपल्ट बिहान झिसमिसेमै उठेर स्नानादि कर्म सकेर चोखो मन र शरीरले विधिपूर्वक कुनैपनि धार्मिक महत्व रहेका वनहरुमा पुगेर यसलाई छर्ने गरिन्छ ।

यो पर्व शक्तिपीठ पुग्न नसकेकाहरुले घरमै बसेर पनि मनाउने गर्छन् । यसरी विधिपूर्वक पूजा गरी रातभरी जागा बसेर पूजा गरेको सो दीपलाई दूना या टपरीमा राखेर माथिबाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या बोहोताले छोपेर खोलामा बगाउने चलन छ । यसरी अविरल पानीको धारसँगै बत्ति बगेको खण्डमा पितृले बैतर्नी तरेको र बत्ति सहजरुपमा नबगेको खण्डमा पितृले बैतर्नी तर्न नसकेको बुझ्ने गरिन्छ ।

शतबीज छर्ने दिन काठमाडौको पशुपतिनाथ र यसको आसपासका किँरातेश्वर महादेव, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक वन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाटधाम, धनुषाको क्षिरेश्वर लगायत देशभरीका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुइँचो लाग्ने गर्छ ।

के छ यसको किंवदन्ती ?

हामीले यो पर्व पूर्खाहरुलाई स्वर्ग तार्नको लागि भनेर सुरु गरेको भएपनि यसको किंवदन्ती भने अलिक भिन्न छ । धार्मिक क्षेत्रका जानकारहरुका अनुसार बाला चर्तुदशी मित्रताको प्रतीकसँग पनि जोडिएको छ ।

किंवदन्ती अनुसार प्राचीन कालमा बाला नाम गरेको एकजना असुर थिए । उनी आर्यघाटमा बसेर मृतकको आफन्तलाई तर्साउने र शव चोरेर खाइदिने गर्थे । आर्यघाटमा लगेका शवहरु कुनैपनि पूरा जल्नै नदिन थालेपछि यो कुरा राजाको दरबारसम्म पुग्यो । राजाले आफ्ना सिपाही बि्रसलाई बालाको हत्या गर्न निर्देशन दिए । तर, बि्रस बालाका एकदमै निकटका हितैषि थिए ।

जतिसुकै बदमासी गरेपनि मित्रताको न्यानो परिधिलाई तोडेर बि्रसले बालाको हत्या गर्न सकेनन् । साथमा उनले राजाको आज्ञा अस्वीकार गर्न पनि सकेनन् । त्यसपछि उनी श्लेष्मान्तक बनमा गएर भगवान शिवको आराधना गर्न थाले । उनको तपस्याबाट खुशी भएका शिवले बालालाई असुर जुनीबाट मुक्त गराइदिन्छन् र असुर जुनीबाट मुक्त गराउनको लागि बालाको नाममा शतबीज छरेर आफ्नो साथीलाई मुक्त गराउन आज्ञा दिन्छन् । सोही समयबाट शतबीज छर्न सुरु भएको विश्वास गरिन्छ । तर, किंवदन्तीमा त्यो समय कहिले थियो ? भन्ने चाहिँ भने यकीन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment