Comments Add Comment

पीपीएल : कुशल महं‌गा खेलाडी, शक्ति गौचन र सागर पुन रिलिज

अमृत भट्टराई र सुवास खकुरेल काठमाडौंबाट खेल्ने

९ मंसिर, काठमाडौं । यही मंसिर २८ गते पोखरामा शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) सहभागी छ फ्रेन्चाइज टिमले ३ -३ खेलाडी रिलिज गरेका छन् । जसमा केही नाम चलेका खेलाडी छन् । राष्ट्रिय टिमबाट सन्यास लिइसकेका भेट्रान स्पीनर शक्ति गौचनलाई चितवन राइनोजले रिलिज गरेको छ ।

यस्तै पछिल्लो पटक चोटका कारण क्रिकेटबाट टाढा रहेका सागर पुनलाई बुटवल ब्लास्टर्सले रिलिज गरेको छ । अलराउण्डर सागर अहिले कमब्याकको तयारीमा छन् । दुवै खेलाडीले यस पटक पीपीएल खेल्ने छैनन् ।

बुटवालले सागरसंगै युवा स्पीनर अनिल खरेल र विकेटकिपर प्रकाश केसीलाई रिलिज गरेको छ । यस्तै चितवनले शक्तिसंगै विनोद लामा र स्वप्निल अधिकारीलाई रिलिज गरेको छ । घरेलु टोली तथा पहिलो संस्करणको च्याम्पियन पोखरा पल्टनले स्थानीय खेलाडी दिपेश खत्रीसंगै विक्रम भुसाल र दिब्यान्शु मल्लिकलाई रिलिज गरेको छ ।

विराटनगर टाइटन्सले हिमांशु दत्त, जितेन्द्र सिंह ठकुरी र रोविन जोशीलाई रिलिज गरेको छ ।  यस्तै धनगढी ब्लुजले दिलीप नाथ, सन्तोष भाट र योगेन्द्र सिंह कार्कीलाई रिलिज गरेको छ भने काठमाडौं रोयल्सले नरेश बुढाएर, सुधीर चौधरी र सुमित झालाई रिलिज गरेको छ ।

यस्तै पहिलो संस्करणमा काठमाडौं रोयल्सको नामबाट खेलेको यस फ्रेन्चाइजले दोस्रो संस्करण काठमाडौं गोल्डेन वारियर्सको नामबाट खेल्ने आयोजकले जनाएको छ ।

गत संस्करणमा सहभागी ६ फ्रेन्चाइजले १५-१५ खेलाडी टिममा राखेका थिए । जसमा दुई विदेशी खेलाडी समावेश थिए । यस पटक तीन विदेशी खेलाडी राख्न पाउने भएकोले ६ वटै प्रेन्चाइजले ३ खेलाडी रिलिज गरे पनि २ मात्र नयाँ खेलाडी टिममा भित्र्याएका छन् ।

अमृत र सुवास काठमाडौंमा, कुशल महँगा

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले सोमबार खेलाडी रिटेन र रिलिज प्रक्रिया पूरा गरेको छ । जसमा कुशल मल्ल सबैभन्दा महंगो रकममा बिक्री भए।

कुशललाई साविक विजेता पोखरा पल्टनले १ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो । यस्तै विक्रम सोवलाई चितवन राइनोजले १ लाख ३० हजारमा भित्र्यायो । कुशललाई विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स र चितवन राइनोजले पनि बिडिङ गरेको थियो । यस्तै विक्रमलाई धनगढी ब्लुजले पनि बिडिङ गरेको थियो ।

यसबाहेक पोखराले आकाश चन्द र चितवनले विक्रम भुसाललाई भित्र्याएको छ । काठमाडौं गोल्डेन वारियर्सले राष्ट्रिय टिमबाट खेलिसकेका दुई खेलाडी सुवास खकुरेल र अमृत भट्टराईलाई अनुबन्ध गरेको छ । अमृत हाल अष्ट्रेलियामा छन् ।

यस्तै धनगढी ब्लुजले सुनाम गौतम र अनिल खरेल, बुटवल ब्लास्टर्सले शेर मल्ल र कमल खत्री तथा विराटनगर टाइटन्सले दिलीप नाथ र लोकेश बमलाई अनुबन्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment