Comments Add Comment

गढीमाईमा पशुबली होइन नरिवल र कुभिण्डो चढाऔं

प्रत्येक पाँच–पाँच वर्षमा लाग्ने गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो । यस वर्षमा लाग्ने बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिर १ गते देखि एक महिनासम्म लाग्ने मेला हो यो ।

विश्वमै सबैभन्दा बढी बली चढाइने भनिएको गढीमाई मेला सुरु भइसकेको छ । धार्मिक आस्थाको केन्द्रका रुपमा मात्र नभई पर्यटकीय स्थलका रुपमा समेत आकर्षणको केन्द्र बन्दै गएको गढीमाई मन्दिरमा आजभोलि प्रत्येक दिन भारत लगायत विभिन्न मुलुकहरुका दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ । भक्तजनहरु आफ्नो मनोकामना पूरा हुने इच्छा र विश्वासका साथ माईको दर्शनका लागि आउने गर्छन् ।

देश तथा विदेशमा समेत चर्चा परिचर्चा भएको प्रसिद्ध शक्तिपीठ गढीमाईप्रति अपार आस्था र भक्ति भएका भक्तजनहरुको बढी घुइँचो लाग्ने गर्छ । यो पवित्र मन्दिर नेपालमा मात्र नभई भारतमा समेत प्रसिद्ध रहेको छ ।

विश्रवनाथ खरेल

विश्वमै एकपटकमा सबैभन्दा बढी पशुबलि हुने मन्दिरका रूपमा चर्चा पाए पनि यसको विकासमा राज्यपक्ष पहिलादेखि नै उदासीन रहेको सम्बन्धित क्षेत्रको आरोप छ । यो ऐतिहासिक र धार्मिक शक्तिपीठ गढीमाईको मेलामा यतिबेला पूजा, पाठ तथा दर्शन गर्न आउने जनसागर नै उर्लर्ने आयोजकहरुको भनाइ रहेको पाइन्छ ।

यस वर्ष पनि मंसिर १ गते नै सुरु हुने भनिएपनि माईको विधिवत पूजा भने मंसिर महिनाको शुक्लपक्षको पञ्चमीदेखि अष्टमीसम्म गढी भगवतीको मन्दिरमा पाँचवर्षे मेला विशेष पूजाआजा हुने बताइन्छ भने सप्तमी र अष्टमीका दिन ब्रह्म स्थानमा नरबलि स्वरुप झाँक्रीले पाँच थोपा रगत चढाएपछि पञ्चवली सुरु हुन्छ । विभिन्न भक्तजनहरुले आ–आफ्ना विभिन्न कामना र भाकल गरिएका राँगा, बोका, भेडा, कुखुरा, हाँस र परेवा लगायतको पशुपंक्षीको असंख्य मात्रामा बली चढाइने परम्परा रहेको पाइन्छ ।

प्राचीन धर्म शास्त्रहरुका इतिहासहरुले पनि के कुरालाई बताउँछ भने राजा हरिसिंहदेवले नेपालमा पहिलोपटक अरना भैंसीको राँगो तुलजा भवानीमा बली दिएको प्रसंग पनि उल्लेख भएको पाइन्छ । त्यो समय आजभन्दा ठीक ७ सय वर्ष पहिलेको ऐतिहासिक कुरा थियो । त्योभन्दा पहिले पनि विभिन्न धार्मिक ग्रन्थहरु तथा इतिहासहरुलाई राम्ररी अध्ययन गर्ने हो भने बली प्रथाको उल्लेख भएको पाइँदैन ।

यसका साथसाथै धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्ने सचेतना बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलहरुमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभित्र संघसंस्थाका प्रतिनिधिहरुले पनि माग गरेका छन् ।

यो पनि पढ्नुहोस गढीमाईको पशुबलीविरूद्ध अन्तर्राष्ट्रिय चर्चा

विभिन्न धर्म शास्त्रहरुमा भनिएको छ भगवान्लाई खुसी पार्न बली नै चढाउनुपर्ने बाध्यात्मक कुनै पनि छैन । त्यसरी नै हिन्दू धर्मशास्त्रका १८ पुराणहरुमा पनि भगवान्लाई खुसी पार्न बली नै देउ भन्ने कुरा कतै पनि उल्लेख भएको पाइँदैन । यदि कुनै पनि भक्तजनहरुलाई आफ्नो भाकल पूरा गर्नु छ भने बली दिएर होइन, नरिवल चढाएर खुसी पार्न सकिन्छ । यो एकदम सजिलो सहज माध्यम हो ।

यसका साथसाथै अहिले यस मेलामा चढाइने पशुबलीको चर्चा मात्र होइन, विवादको विषय पनि बन्दै एकातिर आएको छ भने अर्कोतिर हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहहरुले धर्मका आधारमा पशुबली दिइरहेको पाइन्छ ।

तर, धार्मिक गतिविधि हुने मन्दिर सबैको आस्था केन्द्र भएका कारण यस्ता स्थानमा शान्त र आनन्दको अनुभूति हुनुपर्ने हुँदा पशुबली हुन दिन नहुने आवाज उठ्न थालेको छ । यसर्थ पशु कल्याण संघका अध्यक्ष लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले पनि हाल मौजुदा नियम कानूनले पशुको अधिकार संरक्षण गर्न नसकेका कारण पशु कल्याण ऐन ल्याउनुपर्ने बताएका छन् ।

यसर्थ गढीमाई मेलामा दिइने पशुबली रोक्ने माग गर्दै विसं २०७१ सालमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७३ साल साउन २० मा पशुबली प्रथालाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो । तर, यो सर्वोच्चको फैसाला, कार्यान्वनका लागि स्थानीय तह, मेला समिति र सरकारी निकाय सबै पक्षलाई आग्रह गरिएको थियो ।

तर, यो पशुबलीको प्रथा भने रोकिने अवस्था रहेको छैन् भन्ने कुरा सम्बन्धित निकायले व्यक्त गरेको विभिन्न सञ्चार माध्यमहरुबाट पढ्न पाइन्छ । यसरी एक्काईसऔं शताब्दीको शिखर चढ्न लागेका प्रबुद्ध मानवहरुले संवेदनशील भएर सोच्ने बेला आइसकेको छ । साँच्चै नै भन्नुपर्दा त वर्तमानमा हाम्रो देश र ब्यक्ति विशेषलाई सबैभन्दा ठूलो अनिष्टले छोपिरहेको छ, ठूला–ठूला राहु र शनिले ग्रस्त पारिरहेको अवस्था छ ।

यस्तो अवस्थामा हाम्रा व्यक्तिगत इच्छा र आंकाक्षाहरुलाई पूरा होस् भनि माईलाई निरीह पशुलाई बलि दिन कतिको तर्क संगत होला ? यस प्रश्नको जवाफ आफैं आउँछ ।

माईको मन्दिरमा हुन गइरहेको बलि प्रथालाई स्थानीय प्रशासनले पनि गढीमाईलाई खुसी पारेर व्यक्तिगत स्थार्थपूर्ति गर्न पशुबलिको सट्टामा नरिवल चढाउनु उपयुक्त हो भन्ने कुराको समेत प्रचार–प्रसार गरेको पाइँदैन ।

के पशुबली दिनु धर्म हो ? यदि ह्रदयदेखि नै बिचार गरी भन्ने हो भने प्राणीहरुको सेवा गर्नु धर्म हो की मार्नु काट्नु धर्म हो ? विश्वमा कुन चाहिँ धर्मले प्राणी मार्नुलाई प्रश्रय दिएको छ ? के पशुबली भनेको अज्ञानताको कारण होइन ? यस प्रश्नको जवाफ अवश्य अज्ञानता हो भन्ने बोध हुन्छ ।

यो पञ्चवर्षीय मेला भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन समितिबीच सहमति भएको छ । यस वर्ष लाग्ने गढीमाई मेलामा ८० लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु आउने विश्वास गरिएको छ । यसरी बली चढाउने शक्ति पीठमध्ये पहिलो गढीमाई मन्दिरको मेलामा भारतबाट मात्रै ६५ प्रतिशतभन्दा बढी भक्तजनहरु आउने र बलीसमेत भारतीयले नै बढी ल्याउने गरेको मेलाको पछिल्लो तथ्यांकले देखाउँछ ।

यसै क्रममा गढीमाईलाई श्रद्धालु भक्तजनहरुले बलीको सट्टामा नरिवल नै चढाउनु राम्रो हो । यस मेलाका अवसरमा भाकल गरिएका बलि दिन नसक्नेले मकर संक्रान्ति र फागुको दिन पनि बली दिन सक्ने छुट रहेको छ । पहिले पूजाका क्रममा गढीमाई मन्दिरको वर्गाकार परिधिलाई मन्त्रद्वारा अक्षता छरेर मूल पूजारीद्वारा धेरावन्दी गरिन्छ । यसले गर्दा मेलामा कुनै प्रकारको अनिष्टको सम्भावना नरहने लोकमान्यता रहेको छ ।

यो मेलाको रोचक तथा घोचक विशेषता नै बत्ति आफैं बलेपछि बलि दिन सुरु गरिन्छ र बत्ति निभेपछि बलि दिन बन्द गरिन्छ । आजको बदलिदो विश्वमा बलि भनेर निरीह पशुलाई नै बली दिनु पर्छ भने कुनै बाध्यता रहेको पाइँदैन । त्यसले गर्दा कुभिन्डो, लौका, नरिवल आदि गढीमाईलाई चढाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment