Comments Add Comment

अनि स्वर्ण जित्ने सपना पूरा भएन ….

२० मंसिर, काठमाडौं । तेक्वान्दोकी स्टार खेलाडी मनिता शाहीले रत्तिभर पनि सोचेकी पनि थिइनन्, ‘ १३ औं सागमा रजत पदकमा चित्त बुझाउनुपर्छ ।’

तर नसोचको भयो । उनको आँसु रोकिएन । हारको पीडामा रहेकी उनले आाफूलाई सम्हाल्न सकेकी छैनन् । हारेको खेलको हरेक क्षण आँखामा नाचिरहन्छ । अनि आफैंलाई प्रश्न गर्छिन्, ‘के म साँच्चिकै कमजोर थिएँ ?’

‘अहँ ! कमजोर भएँ भन्ने लाग्दै लाग्दैन’ चित्त बुझाउनलाई आफैंलाई जवाफ दिन्छिन्, ‘खेल हो, हारजित हुन्छ । यसलाई स्वीकार्नुपर्छ ।’

मनिता १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नुअघि अमेरिकामा थिइन् । स्कुलका विद्यार्थीहरुलाई तेक्वान्दो सिकाउँथिन् । आफू पनि सिक्थिन् । भौतिक शरीर अमेरिकामा भए पनि मन भने नेपालमै थियो ।

करियरको अन्तिम साग खेल्ने सपना पालेर अभ्यास गरिरहेकी थिइन् । सागको प्रशिक्षणका लागि २० महिनाको बच्चा काखी च्यापेर नेपाल आइन् । उनको एउटै सपना थियो, ‘स्वर्ण जितेर खेलबाट सन्यास लिने ।’

तर सपना सपनामै सीमित भयो । तेक्वान्दोको ७३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी मनिता भारतकी मारिया रेगीसँग १५–० ले पराजित भइन् । त्यो हारले उनीसँगै प्रशिक्षक र परिवारलाई पनि भावुक बनायो ।

हार अप्रत्यासित रहेको भन्दै मनिता भन्छिन्, ‘सोचेजस्तो नहुँदो रहेछ ।’

हुन त यो पटक मनितालाई सागका लागि छनोट हुन नै हम्मेहम्मे परेको थियो । हेभिवेट समूह (७३ केजी) मा निशा रावलसँग हारिसकेपछि उनको साग खेल्ने सपना टुटिसेकेको थियो । तर उमेर कम भएका कारण इन्दिरा बस्नेत साग खेल्नबाट बञ्चित भइन् ।

उनकै ठाउँमा मनिताले अवसर पाएकी थिइन् । त्यसपछि उनले निरन्तर अभ्यास गरिरहिन् । साग आउनु एक महिनाअघिको उनको मेहनत निकै लोभलाग्दो थियो ।

के कहाँ भयो गडबडी ? यसको जवाफ छैन उनीसँग । त्यो क्षण सम्झिँदा अझै रुन मात्र मन लाग्छ ।

सन् २००६ को सागमा जितेको आफ्नै गोल्ड मेडलले गिज्याइरहेको महसुस हुन्छ । भन्छिन्, ‘रिङमा छिर्नुअघि मानसिक रुपमा मैले स्वर्ण जितिसकेको थिएँ । तर के भयो भयो, टेक्निकल्ली मैले हारेँ ।’

होम ग्राउण्ड हुनुको तनाव र धेरै अपेक्षाका कारण पनि हारेको जस्तो लाग्छ उनलाई । आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर आँकलन गरेको कारण पनि हारेको हो कि भन्ने लाग्छ । उमेरको कारण पनि आफू ‘स्लो’ भएझैं लाग्छ । यस्तै अनेक तर्कना दिमागमा आइरहेको छ, तर चित्त बुझाउन सकेकी छैन ।

भन्छिन्, ‘मेरी प्रतिद्वन्द्वी २२ वर्षकी थिइन्, म ३५ को । अर्को कुरा, टेक्कनिकल्ली पनि कमजोर रहेछौं हामी ।’

यसअघि दुई संस्करणको साग खेलिसकेकी मनिताको यो अन्तिम साग हो । सागको सुखद अन्त्य गर्ने चाहना अपुरो रहेको बताउँदै भन्छिन्, ‘चाहेजस्तो कहाँ हुदोरहेछ र ? एकदम दुःख लागिरहेको छ ।’

००००

मनिताजस्तै निशा रावल पनि अमेरिकाबाट नेपाल फर्किएकी तेक्वान्दो खेलाडी हुन् । खेल जीवन बिट मार्ने तयारी गरिरहेको बेला नेपालमै साग आयोजना हुने भएपछि उनी काठमाडौं आएकी थिइन् ।

तर मनिता जस्तै स्वर्ण पदक जित्ने उनको सपना पूरा भएन । मनिताजस्तै उनी पनि स्तब्ध छिन् ।

निशाले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि निरन्तर आफ्नो तौल समूहमा स्वर्ण पदक जितिरहेकी थिइन् । नेपालबाट रियो ओलम्पिकमा छनौट हुने पहिलो खेलाडी पनि हुन् । हङकङ एशियन सिटी गेम र काठमाडौंमै भएको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा पनि स्वर्ण जितेकी थिइन् ।

यही कारण उनीबाट स्वर्णको अपेक्षा गरिएको थियो । साथीहरु र परिवारले स्वर्णको लागि अग्रिम बधाइ दिइसकेका थिए ।

उनको दिमागमा पनि स्वर्णबाहेक केही थिएन । आफूले जित्नेमा ढुक्क थिइन् । तर रिङमा उत्रनुअघि नै नतिजा कहाँ आफ्नो पक्षमा पार्न सकिन्छ र ?

जब रिङमा उत्रिइन्, फाइनल पनि पुगिन् । फाइनलमा भारतीय खेलाडी रोडली बरुणसँग भेट भयो ।

तर ३२–९ पराजित भएपछि स्तब्ध बनिन् । आफ्नो हार आफैंलाई विश्वास लागेन । आँसु झरिरहे ।

रिङमा जानुअघि उनमा आत्मविश्वास थियो । मनमा डर पटक्कै थिएन । स्वर्ण पदक गुमाउँदैछु भन्ने सोचेकै थिइनन् । तर खेल सुरु हुनासाथ अंक गुमाउँदै गइन् । त्यसपछि आत्मविश्वास हराउदै गयो । भन्छिन्, ‘फाइनलमा अत्तालिएको कारण न आफ्नो सपना पूरा गर्न सकेँ न गुरुहरुकै ।’

उनी रिङमा भिडिरहँदा बुवाआमा दर्शकदीर्घामा बसेर हेरिरहेका थिए । साथीहरुले हौसला दिइरहेका थिए । तर आमाबुवालाई खुशी बनाउन नसकेकोमा निकै दुःखी छिन् । ‘गेम हारेपछि गुरुहरुले नहडडबढाएको भए जित्थिस् भने’, निराश हुँदै भन्छिन्, ‘म आत्तिएको फाइदा प्रतिद्वन्द्वीले लिए ।’

यो सागबाट उनले ‘ओभर कन्फिडेण्स’ले ‘एक्सिडेण्ट’ गराउँछ भनेकी बुझेकी छिन् । आगामी गेममा नअत्तालिने पाठ सिकेको सुनाउँछिन् । खेल्न सकुञ्जेल तेक्वान्दोलाई नै निरन्तरता दिने बताउने उनको अर्को सागमा स्वर्ण पदक जित्ने योजना छ । भन्छिन्, ‘अब एक पटक ‘कमब्याक’ गर्न संघर्ष गर्छु ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment