Comments Add Comment

लोप हुँदै खरले छाएका परम्परागत घर

२१ मंसिर, रामेछाप । ढुङ्गामाटोको गारो, बहिरबाट लिप्सिएर सेतो कमेरो अनि रातो माटोले पोतेर टिलिक्क टल्कने भित्ता अनि खरको छानो । पुराना नेपाली घरको पहिचान हो यो ।

तर अब यो एकादेशको कथाजस्तो भएको छ । मानव स्वास्थ्यका लागि हितकर र वातानुकुलित यस्ता घरहरु लोप हुँदै गएका छन् ।

ढुङ्गा माटोको सट्टामा इँटा र सिमेन्टको गारो आएको छ । खरको छानोको सट्टामा जस्ता, टायल र ढुङ्गाका छानाहरु देखिन्छन् । यी मध्ये पनि २०७२ सालको भूकम्प पछि कि त आरसीसी पक्की घर बनेका छन् कि त जस्ताको छानो हालेका घरहरु बनेका छन् ।

ढुङ्गा माटोको गारो र खरको छानो भएका घरहरु वातावरणमैत्री र स्वास्थ्यको लागि उपयुक्त हुने बुढापाकाहरु बताउँछन् । खरको छाना र ढुङ्गा माटोको गारो भएका घरहरु जाडोमा न्यानो र गर्मीमा चिसो हुने रामेछाप नगरपालिका-७ की मैयाँ कार्की बताउँछिन् ।

छाँदेर लगाएको ढुङ्गामाटोको गारो र काठको नस हाल्ने र तला छाप्दा दलिन बाहिर निकाली चुकुल हाल्ने हो भने ढुङ्गा माटोको घर सिमेन्टको घरभन्दा पनि बलियो हुने दोरम्बा गाउँपालिका-३ का कृष्णप्रसाद कँडेल बताउँछन् । तर भूकम्पपछि भने सिमेन्टकै घर बनाउन प्रेरित गरिएको उनले बताए ।

‘ढुङ्गा माटोको गारो लगाएका घरमा पनि सिमेन्टको डीपीसी र बाहिरबाट सिमेन्ट प्लास्टर गरिएका छन् । अनि सबैका जस्ताका छानाहरु छन् । यस्ता घरहरुमा जाडोमा निक्कै चिसो र गर्मीमा धेरै गर्मी हुन्छ’, उनले भने ।

पछिल्लो समय गाउँगाउँमा सडक विस्तार भएसँगै जस्तापाता ढुवानीमा सहज भएपछि खरका छानाहरु लोप हुँदै गएका हुन् । पहिलाको जस्तो पर्याप्त खर हुन छाडेकाले र आगलागीको बेला बढी क्षति हुने भएकाले पनि खरले घर छाउने प्रचलन हट्दै गएको छ । यससँगै नेपाली घरको मौलिकता पनि लोप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment