Comments Add Comment

कुस्तीमा नेपाललाई एक स्वर्णसहित १३ पदक

२२ मंसिर, जनकपुरधाम । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती प्रतियोगितामा नेपालले थप दुई रजत र दुई कास्य पदक जितेको छ ।

योसँगै कुस्तीमा नेपालको कुल पदक संख्या १३ पुगेको छ । जसमा एक स्वर्ण, चार रजत र आठ कास्य रहेको छ । कुस्तीमा नेपालकी संगीता धामीले मात्र स्वर्ण जितेको छ । उनले ५५ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा आइतबार तेस्रो दिन नेपालकी सुशीला चन्दले ६५ केजी तौल समूहमा रजत जितिन् । सुमित साहले ९२ किलो तौल समूहमा र कोमल खत्रीले महिलातर्फको ५९ किलो तौल समूहमा कास्य पदक जिते । यसअघि शुक्रबार र शनिबार भएको खेलमा महिलातर्फको ५७ किलो तौल समूहमा अम्बिका भण्डारी र ५३ किलो तौल समूहमा शिबाङ्गी दुबेले रजत जितेका थिए ।

यस्तै, पुरुष ७० किलो तौल समूहमा सुरेश चुनरा, ७९ किलो तौल समूहमा बुनीलाल यादव, १ सय २५ किलो तौल समूहमा राज यादव, महिलातर्फको ५० किलो तौल समूहमा मनिषा सिंहले कास्य, पुरुषतर्फको ५७ किलो तौल समूहमा नरेश यादव र पुरुषतर्फकै ६५ किलो तौल समूहमा सरोज यादवले कास्य पदक हात पारेका छन् ।

भारत अगाडि

कुस्ती खेलमा भारतले १२ वटा स्वर्ण जितेको छ । उसले आइतबार चारवटा स्वर्ण जित्यो । पुरुषतर्फ ६१ किलो तौल समूहमा रविन्द्र, ८६ किलो समूहमा पवन कुमार, महिलातर्फको ५९ किलो समूहमा अंशु र ६२ किलो समूहमा भारतकै साक्षी मलिकले स्वर्ण जितेका छन् ।

यसअघि भारतका लागि कदियन सत्यवतले ९७ किलो तौल समूहमा, सुमितले १ सय २५ किलो तौल समूहमा, गुरुशरणले ७६ किलो तौल समूहमा, राहुलले ५७ किलो तौल समूहमा, अमितले ६५ किलो तौल समूहमा स्वर्ण जितेका छन् ।

महिलातर्फको ५० किलो तौल समूहमा भारतकी शितल तोमर, ५७ किलो तौल समूहमा सरिता, ५३ किलो तौल समूहमा पिंकी कुमारीले स्वर्ण जितेका छन् ।

तेस्रो दिन पाकिस्तानले थप एक स्वर्ण जितेको छ । ९२ किलो तौल समूहको खेलमा पाकिस्तानका इनामले स्वर्ण जितेका हुन् । योसँगै पाकिस्तानले कुस्तीमा तीन वटा स्वर्ण जितेको छ । शनिबार भएको खेलमा ७० किलो तौल समूहमा इनयाल उल्लाह र ७९ किलो तौल समूहमा अब्दुल रहिमानले स्वर्ण पदक जितेका थिए ।

तेस्रो दिनको खेलमा श्रीलंकाले दुई वटा स्वर्ण जितेको छ । ६५ किलो तौल समूहतर्फ श्रीलंकाकी दिलहानी र ७२ किलो तौल समूहतर्फ अयोमीले स्वर्ण जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment