Comments Add Comment

स्वर्ण दिलाउने गोलको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ : सुनिल बल

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) मा पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध मिडफिल्डर सुनिल बलको हेड गोल नेपालको स्वर्ण पदकका लागि निर्णायक भयो ।

दशरथ रङ्गशालामा भएको प्रतिस्पर्धात्मक जस्तै देखिएको खेलको पहिलो हाफ बराबरीमा रोकिएपछि उत्साहका साथ खेल हेर्ने प्यारापिटमा भरिभराउ नेपाली दर्शकले केही नमिठो अनुभव गरेका थिए । दर्शकको तितो अनुभूति केही क्षणमात्रै रह्यो । दोस्रो हाफको ५४ औँ मिनेटमै सुनिलले गोल फर्काएर दर्शकको मुहारमा चमक छरे । डिफेन्डर सुमन अर्यालले दिएको पासलाई सुनिलले हेडमार्फत गोल गर्न सफल भए । सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गरे ।स्वर्णपदकका लागि त्यही गौल नै निर्णायक बन्योे । राष्ट्रिय झण्डा फहराउँदै दर्शकले नेपाल…नेपाल… भनेर रङशाला गुञ्जाए ।

नचिताएको परिस्थितिमा गोल गरेको अनुभव सुनाउँदै उनले भने, ‘सुमनले क्रस गर्‍यो, त्यही मुभमेन्टमा म पनि टाइमिङमा पुगे । ट्राई गर्छु भनेर हानेको गोलमा परिणत भयो ।’

उनले यो खुशी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिए ।

गोलगरे लगत्तै उनले जर्सी खोले । जर्सी खोल्दा पहेँलो कार्ड दिइन्छ । उनले त्यो खुशीयालीमा आफूले के गरेँ भनेर सोच्नसमेत सकेनन् ।

उनकाअनुसार पहिलो हाफ प्रतिस्पर्धात्मक नै रह्यो । खेल शुरु भएको १६ औँ मिनेटमा फरवार्ड अभिषेक रिजालले नेपालका लागि पहिलो गोल गरे । खेलको ३६ औँ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल फर्काएर खेललाई बराबरीमा पर्‍याए । ‘सेकेण्ड हाफमा स्कोरिङ बाहिर निकाल्न सक्यो, त्यसमा पनि म आफैँले गोल गर्न सक्दा अत्यन्तै खुशी छु,’ सुनिलले भने ।

फाइनल पुगेपछि नेपाललाई ठूलो दबाब नभएकाले पनि नेपाली समूह एकदम एकबद्ध भएर खेल्छौँ भन्ने आत्मविश्वास उनको थियो । नभन्दै त्यस्तै भएकाले टिमवर्कले काम गरेको उनी बताउँछन् । ‘गोल गर्दा खुशीको सीमा नै छैन, फुटबललाई माया गरेर धेरै दर्शक आइदिनुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भने ।

सन् २०१६ मा भारतको ग्वाँटीको खेलमा पनि उनी सहभागी थिए । त्यहाँ पनि नेपालले स्वर्ण ल्याएको थियो । यसपाली होमग्राण्डमा सफल हुनुमा दर्शकको हात रहेको उल्लेख गर्दै भने, हजुरहरुले हामीलाई चाहिने शक्ति दिनुभयो, त्यही ऊर्जाले एकदम केही गर्छु र देखाउछु भन्ने लागेको थियो, दर्शकलाई स्वर्ण दिलाएरै छाड्यौँ ।’

समूहचरणको खेलमा नेपालसँग भुटान ४–० ले हारेको थियो । एउटा खेल हार्दैमा विपक्षीलाई कहिल्यै कमजोर ठान्न नहुने बताउने सुनिलले पछिल्ला तीन खेलमा भुटानले राम्रो नतिजा ल्याएर जित्दै आइरहेकाले बलियो दाबेदार भएको प्रतिक्रिया दिए । ‘भुटानसँग सहज जितको आशा सोचेका थिएनौं । प्रतिस्पर्धी नै लिएका थियौँ, खेल त्यस्तै भयो पनि’, सुनिलले भने ।

कप्तान सुजल श्रेष्ठले स्वर्ण जितेपछि टिम वर्क नै महत्वपूर्ण कुरा भएको प्रतिक्रिया दिएका छन् । जितको श्रेय नेपाली दर्शकलाई दिँदै उनले भने, ‘आजको खेलमा बलियो पक्ष घरेलु समर्थक नै हो, अनि टिमवर्कले काम गर्‍यो।’ उनले पहिले जे जस्तै खेले पनि भुटानलाई बलियो प्रतिस्पर्धीकै रुपमा हेरेको बताए । कुनै पनि खेलका लागि सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

नाकमा टेप लगाएरै भएपनि मैदानमा उत्रिएका गोलकिपर विकेश कुथुले दर्शकले गरेर नै स्वर्ण जितेको उल्लेख गर्दै भने, ‘यो मेडल दर्शकका लागि डेडिकेट गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment