Comments Add Comment

आतिसबाजीको पटाकाले लियो आलोकको ज्यान

२६ मंसिर, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१३ का शोभित राउतको घरमा एक बर्ष अगाडि डकैती भयो । जग्गा बेचेर ल्याएको ५ लाख रुपैयाँ घरमा ल्याएको सुराकी पाएर आएको डाँकाहरुको समूहले उनको टाउको फुटाइदिए । परिवारका अरु सदस्यलाई पनि कुटपि गर्दै रकम लुटेर लग्यो ।

‘छोराको मुख हेरेर त्यो घटना झण्डै बिर्सिसकेको थिएँ’ शोभित भक्कानिए, ‘तर अब छोरा पनि रहेन । कसलाई हेरेर सन्तोष गरुँ ?’

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत जनकपुरधाममा आयोजित कुस्ती खेलको उद्घाटनमा आतिसवाजीका क्रममा पड्किन बाँकी पटकाका कारण उनका ११ बर्षीय छोरा आलोकको ज्यान गएको हो ।

मंसिर २० गते यहाँ भएको कुस्ती उद्घाटनका क्रममा पटकाहरु पड्काइएको थियो । तर एकै पटक धेरै पटाकामा आगो लगाए पनि कतिपय पड्किन सकेको थिएन । त्यसको भोलिपल्ट घुम्न आएका आलोकले नपड्केको पटाका भेटे र घर लगे ।

‘पटाका ल्याएको देखेपछि उनका बुवा शोभितले खोसेर फ्याँकिदिए’ आलोकका मामा गोपी साहले भने, ‘तर बाल चञ्चलताले फ्याँकेको पटाका पुनः घर ल्याएर पड्काए । पटाका उनको हातमै फुट्यो ।’

त्यसक्रममा घाइते भएका आलोकको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको छ ।

सरकारी निकायको लापरवाही

यो घटनामा सरकारी निकायकै लापरवाही देखिन्छ ।

‘कुस्ती खेललाई भव्य बनाउनका लागि आतिसवाजी गर्ने योजना (राष्ट्रिय खेलकुद परिषद) राखेपले नै बनाएको रहेछ’ जिल्ला खेलकुद विकास समिति धनुषाका प्रमुख विनोद सिंह भन्छन्, ‘हामीलाई त्यसका निम्ति जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राख्नू भनेअनुसार काम गरेका थियौं ।’

परिषद्बाट आएका व्यक्तिहरुले नेपाली सेनाको रोहबरमा आतिसवाजी गर्ने तय थियो । यसका निम्ति पूर्वाञ्चल खेलकुद विकास समितिका प्रमुख चन्द्रिका बाँस्तोलाको नेतृत्वमा टोली खटिएको थियो ।

तर नपड्किएको पटका बालबालिकाको हात पुग्यो । र, त्यही पटका घरमा गएर पड्काउँदा आलोक गम्भीर घाइते भएका थिए ।

त्यस क्रममा नजिकै एम्बुलेन्स र दर्जनौं प्रहरीको गाडी रहे पनि कसैले पनि अस्पतालसम्म पुर्‍याइदिने प्रयास नगरेको स्थानीय बताउँछन् । कुस्ती खेलको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिको कभर्ड हलदेखि झण्डै ३० मिटर पश्चिमतर्फ बालकको घर छ । कुस्ती खेलाडीहरुका निम्ति एम्बुलेन्स र सुरक्षा दिनका लागि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको गाडी राखिएको थियो ।

‘रक्ताम्य भइसकेका बालकलाई काखमा लिएर उनका बुवा आमा कभर्ड हल अगाडिसम्म पैदलै गएका थिए’, एक स्थानीयवासी भन्छन्, ‘त्यहाँ गएर सिटी रिक्सामा अस्पतालसम्म पुर्‍याएका थिए ।’ बालकलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरान लगिएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल भने आतिसवाजीका निम्ति अनुमति दिँदा यसको सम्पूर्ण जिम्मेवारी आयोजकले नै लिनुपर्ने भनिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment