Comments Add Comment

लोकतन्त्रमै धमिरा र ग्रहण लाग्न थाल्यो : कृष्ण पहाडी

२९ मंसिर, बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले नेपालका राजनीतिक दलका कारण लोकतन्त्रमाथि नै धमिरा लाग्न थालेको टिप्पणी गरेका छन् । उनले राजनीतिक दलका नेताहरु नसुध्रिएको भन्दै प्राप्त व्यवस्थामाथि नै समस्या देखिन थालेको बताए ।

‘जनतामा निराशा बढ्दै गएको छ, नेपालका राजनीतिक दलहरूले जनताको मनोभावना बुझ्न पटक्कै सकेनन् ’ मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दल र व्यवस्थामा धमिरा र ग्रहण लाग्न थालेको छ, अब नागरिक समाज झन् सजग हुने बेला आयो ।’

दाङको तुलसीपुरमा २२ आंै राष्ट्रिय परिषद् बैठक सकिएपछि त्यसका निर्णय सार्बजनिक गर्न बुटवलमा भएको पत्रकार सम्मेलनमा उनले संघीयतापछि तीन तहको सरकारमा भ्रष्टाचारको समानता देखिएको टिप्पणी गरे ।

सरकारले जनचाहना अनुरुप काम गर्न सकेन

उनले खर्चिलो निर्वाचन प्रणालीका कारण भ्रष्टाचार मौलाएको भन्दै यसबारे सत्तासिन र प्रतिपक्ष कुनै पनि दलका नेताले खबरदारी र दृढ इच्छाशक्ति नदेखाएको उनको आरोप थियो ।

‘आवधिक निर्वाचन नै लोकतन्त्रको सुन्दर पक्ष हो, तर भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने प्रवृतिले कुशासन निम्त्याउँछ’ उनले भने ।

देशमा संकट बढ्दै गएको भन्दै उनले मानव अधिकारवादीहरूको आवश्यकता झन् बढ्दै गएको बताए । सरकारलाई वार्ताको वातावरण निर्माण गर्न र प्रतिबन्धित विप्लव नेकपालाई शान्तिको बाटोमा आउन उनको आग्रह छ । सरकारले विप्लव समूहलाई कानून सम्मत व्यवहार गर्नुपर्ने उनको धारणा थियो ।

‘कमजोर नै भएपनि जनताले संविधान बनाएका छन्, लोकतन्त्र जोगाउने संविधान बचाउन जनता नै अग्रसर हुनुपर्छ, नभए जनता स्वयं कमजोर भएको ठहरिन्छ,’ उनले भने ।

७० वर्षदेखिको द्वन्द्वले देशको यो हालत बनेकाले हिंसाले कसैको हित नगर्ने पहाडीले बताए । विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण वातावरण बनाउन देशभरका नागरिक समाजले एकैपटक अगुवाई गर्ने बेला आइसकेको उनको भनाइ छ ।

पहाडीले सरकारले सीमा मिचिएको सम्बन्धमा सरकारले कुटनीतिक मात्रै होइन, प्रधानमन्त्रीस्तरीय वार्ता गरी तत्काल श्वेतपत्र जारी गर्न उनको आग्रह छ ।

भारतीय सेना नेपाली भूमिबाट फिर्ता जान आग्रह गर्दै नेपाल सरकारले कुटनीतिक पहल गर्न ढिलाइ गरेको दोहोर्याए । शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले भ्रष्टाचारविरूद्व शान्ति समाजले अभियान नै चलाउने बताए ।

२२ औं केन्द्रिय परिषद बैठकमा रुपन्देही शाखा देशभरकै ३६ शाखामध्ये उत्कृष्ट भएकाले सम्मान पत्र सहितप्रदान गरिएको केन्द्रिय सभापति पुडासैनीले बताए ।

केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले तीन तहको सरकार बनेपछि देशैभर झन् भ्रष्टाचार बढेको खबर सुन्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले प्रदेश ५ मा पनि गाडी खरिद तथा कृषिमा ठूलो भ्रष्टाचार भएको भन्दै प्रदेश ५ सरकारले समेत भ्रष्टाचार नियन्त्रणको लागि कुनै काम गर्न नसकेको बताए ।

२२ औं केन्द्रिय परिषद बैठकले भ्रष्टाचार विरूद्व अभियान, लागू औषध दुब्र्ययसन अन्त्य, मानव वेचविखन विरूद्व सचेतना, जलवायु परिवर्तनका लागि वातावरण संरक्षण, युवा बचाउ अभियान, वैज्ञानिक शिक्षा, नेपाली भूमि अतिक्रमणको विरुद्धमा पनि एकजुट हुने लगायतका ११ बुंदे निर्णय पारित गरेको छ ।

पत्रकार सम्मेलनमा समाजका रूपन्देही सभापति डीपी खनाल, अधिकारकर्मी लोकेश ढकाल, सचिव अर्जुन ज्ञवाली, सहसचिव कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment