Comments Add Comment
आजका पत्रपत्रिका :

एमसीसीलाई लिएर नेकपामा चर्काचर्की, फ्रिक्वेन्सी बोलकबोलमा अख्तियारको छानबिन

३ पुस, काठमाडौं । सीमा अतिक्रमणबारे सर्वोच्चले गरेको फैसलामाथि प्रधानमन्त्रीले गरेको टिप्पणी र एमसीसीलाई लिएर नेकपामा जारी माथामच्चीबारे आजका दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । यसबाहेक चिसोले जनजीवनमा परेको प्रभाव, फ्रिक्वेन्सी बोलकबोलबारे अख्तियारले थालेको छानबिन, पूर्वाधार निर्माणलगायत विषयलाई पनि आजका अखबारहरूले प्राथमिकतापूर्वक उठाएका छन् ।

जुम्लाको हिउँमा फसेका १२ जना तीन दिनपछि त्यसलाई छिचोलेर घर फर्केकाबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । सेतक चिनी लिन मंसिर अन्तिम साता जुम्लाको फूलबारी पाटन गएका १३ मध्ये १२ जना तीन दिनसम्म ओडारमा बसेर गाउँ फर्किएका हुन् । उनीहरूसँगै गएका एक जनाको भने जाडोमा कठ्यांग्रिएर ज्यान गएको थियो ।

हिउँ फसेकाले ओडार भित्र पसेर ज्यान जोगाएको बताएका छन् ।

विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि नेकपामा जारी बहसबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक समाचार बनाएको छ । कान्तिपुरका अनुसार एमसीसीलाई लिएर नेकपाका नेताहरूबीच चर्काचर्की नै परेको छ । बुधबारको बैठकमा बोल्ने अधिकांशले एमसीसी विषयबारे मत राखेका थिए ।

परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले बैठकको सुरुतिरै एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग नभएको तर्क गरेका थिए । तर, संसद्बाट सम्झौता अनुमोदन गर्न नहुने मत राखेका नेताहरूले इण्डोप्यासिफिक रणनीतिको अंग नभएको पुष्टि गर्न चुनौती दिएका थिए ।

अन्नपूर्णले पनि कान्तिपुरले जस्तै एमसीसीमा नेकपा बैठक केन्द्रित भएको लेखेको छ । अन्नपूर्णका अनुसार एमसीसीलाई लिएर नेकपा बैठकमा विरोध र समर्थन दुवै भइरहेको छ ।

मुलुकमा पहिलो पटक गरिएको फ्रिक्वेन्सी लिलाम प्रक्रियामा दुई कम्पनीहरूबीच मात्रै प्रतिस्पर्धा गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको अर्को खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेलबीच बुधबार गरेको फ्रिक्वेन्सी लिलाम बढाबढसम्बन्धी फाइल झिकाउने पत्राचार गरी अख्तियारले छानबिन थालेको समाचारमा उल्लेख छ । ‘प्राधिकरणलाई पत्र लेखी लिलामसम्बन्धी सबै फाइलहरू मागिएको हो’, अख्तियानरका एक उच्च अधिकारीले भने, ‘सीमित कम्पनीहरूीच मात्रै प्रतिस्पर्धा गराइ प्राधिकरणले दुरुपयोग गरेको भन्नजे उजुरी प्राप्त भएको छ । हामीलाई पनि आशंका भएपछि छानबिन गर्ने भएका हौं ।’

प्राधिकरणले तय गरेको सर्तका कारण फ्रिक्वेन्सी लिलाम बढाबढमा दुई कम्पनीले मात्रै भाग लिन पाएका थिए ।

नागरिकले शीतलहरपछिको तराईको जनजीवनबारे चिहाएको छ । रिपोर्टअनुसार शीतलहर फै्रलिएपछि यहाँका विपन्न परिवारको चिसोबाट जोगिने सहारा पराल बनेको छ ।

सरकारले चालु आर्थिक वर्षको आधार समय बित्दै गर्दा स्थानीय र प्रदेश सरकारका नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड रुपैयाँ बजेट दिएको अर्को खबर पनि नागरिकमा छापिएको छ ।

गोरखापत्रले नेकपा र राजपाबीचको सहमतिलाई मुख्य समाचार बनाएको छ भने राजधानीमा २२ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment