Comments Add Comment

सेमरीमा रूपन्देहीकै पहिलो होमस्टे सञ्चालन

६ पुस, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा जिल्लाकै पहिलो होमस्टे सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । तिनाउ नदीको किनारमा अवस्थित सेमरी गाउँ थारु समुदायको पुरानो र ऐतिहासिक वस्ती हो ।

दुई कोठा भएका सात घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा बेड छन् । हाल होमस्टेमा एक पटकमा २८ जना बास बस्न सकिन्छ ।

थप १३ घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए । होमस्टेमा आउने पाहुनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गर्न नगरपालिकाले दिएको ८० लाख रुपैयाँ बजेटमा सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘सेमरी गाउँ थारु समुदायको प्राचीन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि पर्‍यो, थारु कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले प्रवद्र्धन गरेको हो,’ नगर प्रमुख बासुदेव घिमिरेले भने । होमस्टेले थारुहरुको मौलिक कलासंस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

नवलपरासीको अमलटारी होमस्टेको शैलीमा सेमरीमा होमस्टे सञ्चालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताए । सेमरी होमस्टे बुटवल–भैरहवा सडक खण्डको भलबारी र पत्थरडाँडा चोकबाट चार किलोमिटर पश्चिम पर्छ । होमस्टेमा आउने पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी, बाउन्नकोटी पार्क, नेपालकै ठूलो गाई फार्म, अस्ट्रिच फार्म, शंकरनगर वन बाटिका, मणिकुमुन्द सेन उद्यान, जितगढी, हिलपार्कलगायत पर्यटकीय स्थल भ्रमणको प्याकेज बनाइएको चौधरीले बताए ।

तिलोत्तमा नगरपालिकाले थारु समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन् । होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने उनले बताइन् ।

रुपन्देहीको सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि होमस्टे सञ्चालन गर्ने अवधारणा ल्याए पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन् । होटेलको हब बनेको रुपन्देहीमा होटेलको विकल्प खोज्ने पर्यटकका लागि समेरीको होमस्टे एक मात्र गन्तव्य हुन पुगेकाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी बताउँछन् । जिल्लाकै पुरानो थारु बस्ती भए पनि विकासमा पछाडि परेको सेमरीमा होमस्टे सञ्चालनले थारु गाउँको मुहार फेरिने तिलोत्तमा १३ का वडा अध्यक्ष गणेश न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment