Comments Add Comment

जापानले भिसा नदिदा सांगीतिक क्षेत्रमा लागेका ‘बब्लु’

प्रकाश सपुतको भाइ भनेर मात्र चिनिन चाहन्नँ

मंसिरको महिना थियो । चिसो रातको १२ बजिसक्दा पनि देवेन्द्र बब्लु निदाउन सकेका थिएनन् । मन पनि स्थिर थिएन । जीवनमा के गर्ने ? यो प्रश्नले उनलाई निदाउन दिइरहेको थिएन । जापानको भिसा ‘रिजेक्ट’ भएपछि उनी दोधारमा थिए । यस्तैमा उनको मनले एउटा कुराको निर्णय लियो, ‘म अब सांगीतिक क्षेत्रमा लाग्छु ।’

१२ बजे नै उनले आफ्नो दाइ प्रकाश सपुतलाई म्यासेज गरे, ‘दाइ, म पनि अब संगीत क्षेत्रमा लाग्छु ।’ तुरुन्तै प्रकाशले रिप्लाइ दिए, ‘सक्छौ त ?’ देवेन्द्रले प्रकाशलाई आफूले संगीत क्षेत्रमा रहेर काम गर्न सक्ने विश्वास दिलाए ।

प्रकाश सपुत यो क्षेत्रमा चिनिएको नाम थियो । देवेन्द्र दाइकै बाटो समात्न खोजिरहेका थिए । भाइको इच्छा बुझेका प्रकाशको सिफारिसमा देवेन्द्रले ठमेलको एक रेष्टुरेन्टमा गीत गाउने मौका पाए ।

पत्रकारिता पढेका बब्लुलाई यो विधामा पनि रुचि थियो । देवेन्द्रले दाइलाई रेडियोमा काम गर्न मन लागेको सुनाए । भाइको चाहना बुझेका प्रकाशले भाइलाई रेडियो सगरमाथामा जागिर भनिदिए । ‘रेष्टुरेन्टदेखि रेडियोसम्म दाइले गर्दा नै पुगेँ’, देवेन्द्र भन्छन्–‘दाइको परिचय हुनाले मलाई काम पाउन सजिलो भइरहेको थियो ।’

रेडियोमा काम गर्दै गर्दा नवराज बुढाथोकीसँगको भेटले उनलाई थिएटरमा पनि आकर्षित गर्‍यो । नवराजको ‘शैली थिएटर’ थियो । उनलाई नै पछ्याएर उनी थिएटर धाउन थाले । उनको दैनिकी व्यस्त बन्न थाल्यो । बिहान थिएटर, दिउँसो रेडियो अनि बेलुका ठमेलको रेष्टुरेन्ट । यी तीनै ठाउँबाट उनी आफ्नो जीवन र आफ्नो सन्तुष्टिलाई पढिरहेका थिए ।

बिस्तारै उनको मन थिएटरले जितिरहेको थियो । रातको समयमा रेष्टुरेन्टमा काम गरेर बिहान थिएटर जान उनलाई गाह्रो भइरहेको थियो । त्यसैले डेढ वर्षदेखि गाइरहेको रेष्टुरेन्टमा उनी जान छोडे । रेडियोमा पनि उनी दैनिक जान छोडे । सातामा एउटा कार्यक्रमको लागि मात्र उनी रेडियो पुग्न थाले । समय थिएटरमा बितिरहेको थियो । थिएटरमा नै रमाइरहेका थिए, बब्लु ।

थिएटर धाउँदै गर्दा उनी कुनै न कुनै पक्षबाट नाटकमा जोडिन थाले । कहिले स्टेजमा नै देखिन थाले त कहिले स्टेज पछाडि रहेर काम गर्न थाले । विशेषगरी देवेन्द्रलाई नाटकको संगीत पक्षमा नै राख्ने गरिन्थ्यो । नाटकमा पनि आफ्नो संगीत पक्षलाई नै स्थान दिदा देवेन्द्रले सोच्न थाले–‘ए साच्चिकै, मेरो खुबी त संगीतमा नै छ कि क्या हो !’

थिएटरमा काम गर्दा मन खुसी नै थियो । तर, सिमित मान्छेले मात्र चिन्ने भएकाले उनलाई थिएटर साँघुरो लाग्न थाल्यो । त्यसैले गीत निकाल्ने सोचमा पुगे । भन्छन्–‘मलाई थिएटरमा काम गर्दै गर्दा नामको लोभ बढ्न थाल्यो । त्यसैले गीत निकाल्ने तयारी गरिरहेको थिएँ ।’

सोही समय शैली थिएटरले ‘चिल्ड्रेन फेस्टिबल’ आयोजना गर्ने तयारी गरेको थियो । देवेन्द्रले एउटा नाटकमा काम गर्दै थिए, ‘माटोको फूल’ । यो नाटकको मुख्य भूमिकामा पनि उनी आफै थिए । सोही नाटकको लागि एउटा गीत चाहिने भयो ।

उक्त गीत तयार गर्ने जिम्मा देवेन्द्रले पाए । केटा र केटीको थाहै नपाई माया बसेको सन्दर्भमा उनले गीत लेखे, ‘कसरी कसरी, माया बस्यो बेस्सरी’ ।

नाटक हेरेका सबैले उक्त गीतलाई रुचाए । धेरैले उनको प्रशंसा गरे । यसपछि भने देवेन्द्रलाई यो गीत रेकर्ड गर्ने सोच पलायो । उनी भन्छन् ‘म गीत निकाल्नका लागि लागिरहेको थिएँ । यस्तैमा, नाटकमा मैले तयार पारेको गीत निकै रुचाइयो । नाटक सकिएपछि गीत पनि सकिने नै भयो । यसैले, त्यसलाई नै केही परिमार्जित गरेर रेकर्ड गराएँ ।’

गीत रेकर्ड भयो । भिडियोमा चाहिने कन्सेप्ट र स्टोरी उनी आफैले तयार पारे । यो गीतलाई धेरैले रुचाएका छन् । गीतको सफलताले उनलाई नामको लोभी बनाएको छ । भन्छन् ‘उक्त गीतपछि मलाई केही हदसम्म चिन्न थाल्नुभयो । यता त छिट्टै पो नाम पाइने रहेछ भन्ने लागेर झनै लोभ बढेको थियो ।’ उनले अर्को गीत पनि तयार गरे, ‘बुढा–बुढी ।’ उक्त गीतबाट पनि उनलाई चिन्नेको संख्या बढेको छ ।

देवेन्द्र भन्छन्–‘मैले जीवनमा धेरै काम गरेँ । तर, सन्तुष्टि संगीतले दिएको छ । थिएटरमा पनि संगीत कै काम गर्न पाएकाले थिएटरबाट पनि मन खुसी नै छ ।’

दाइसँगको सम्बन्ध कस्तो ?

देवेन्द्र दाइ प्रकाश सपुतसँगको सम्बन्धबारे भन्छन्–‘यदि मलाई कोहीसँग कुरा गर्न धेरै गाह्रो लाग्छ भने त्यो व्यक्ति मेरो दाइ नै हुनुहुन्छ । दाइ भने हामी साथी जस्तो बनौं भन्नुहुन्छ । तर, म खै किन सक्दै सक्दिनँ ।’ उनी भन्छन्–‘दाइ र मेरो स्वभाव भिन्न छ । उहाँ खोला जस्तो हुनुहुन्छ । सुसाउन सक्ने, गडगडाउन सक्ने, खुल्न सक्ने, धेरैलाई आफ्नो बनाउन सक्ने । तर, म समुन्द्र जस्तो छु । खुल्न नसक्ने, भित्र भित्र गुम्सिने, रिजर्भ । त्यसैले पनि म खुलेर कुरा गर्न सक्दिनँ ।’ आफ्नो स्वभाव र दाइप्रतिको सम्मानले पनि आफू कम बोल्ने देवेन्द्र भन्छन् ।

सुरुवाती दिनमा देवेन्द्रले सांगीतिक क्षेत्र रोज्दा प्रकाशले विश्वास गरेका थिएनन् । रहरले मात्र होला भन्ने उनको सोच थियो । भाइको रहर पूरा गर्नैको लागि उनले सहयोग गरिरहेका थिए । पहिलो गीत ‘कसरी कसरी’ रिलिजपछि बल्ल प्रकाशले भाइलाई पत्याएका छन् । अहिले भने दाजु–भाइले गीतको काम गर्दा एक अर्कालाई सोध्ने गर्छन् ।

प्रकाश सपुतको भाइ हुँदाको फाइदा र वेफाइदा के ?

प्रकाश सपुतको भाइ हुँदाको फाइदा र वेफाइदा दुबै देवेन्द्रले अनुभव गरिसकेका छन् । प्रकाश सपुतको भाइ भनेर चिन्नेको जमात बाक्लो छ । उनलाई आफ्नै नामबाट चिन्ने सीमित छन् । भन्छन्–‘जसरी चिने पनि मलाई चिन्नुभएको छ । त्यसैले खुसी नै लाग्छ ।’

तर, कतिपय ठाउँमा आफ्नै नामको पहिचान बनोस् भन्ने उनको चाहना छ । दाइको नामबाट सम्मानित महसुस गर्छन्, देवेन्द्र । तर, आफ्नो हुलियाले दाइको सम्मानमा खोट पुग्छ कि भनेर उनी सतर्क पनि छन् । देवेन्द्रले भने–‘दाइ निकै नै फर्मल भएर हिँड्नुहुन्छ । म जस्तो पायो त्यस्तै भएर हिँड्छु । त्यो बेला मलाई प्रकाश सपुतको भाइ भनेर चिन्दा उहाँको सम्मान घट्ने हो कि भन्ने डर हुन्छ ।’

‘प्रकाशको भाइ भनेपछि रेकर्डिङ स्टुडियोमा तपाईंको टिमको काम राम्रो हुन्छ है भनेर मिहिनेत गर्दिनुहुन्छ । स्टेजमा पनि हामी जाने भएपछि मलाई पनि सोही अनुसारको ट्रिट गरिन्छ । यो खुसीको कुरा हो ।’, देवेन्द्र सुनिए ।

दाइकै कारण सांगीतिक क्षेत्रमा स्थान पायो भनेर आरोप लगाउनेको जमात पनि कम छैन । यो बिषयमा उनी भन्छन्–‘दाइ भएर नै साथ र सपोर्ट पाएर यहाँ आइपुगेको छु । तर, मैले पनि कुनै न कुनै हदसम्म संघर्ष गरिरहेको छु ।’ दाइ चर्चित भएकाले पनि आफ्नो नामलाई स्थापित गर्न गाह्रो भइरहेको देवेन्द्रले वुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment