+

जापानबाट धाएर नेपालको लिगमा कीर्तिमान

२०७६ पुष  ८ गते १५:४० २०७६ पुष ८ गते १५:४०
जापानबाट धाएर नेपालको लिगमा कीर्तिमान

८ पुस, काठमाडौं । फुटबलमा उदाउँदै गरेको मध्यपुर थिमी क्लबले विराटनगरमा भएको क्षेत्रीय प्रतियोगितामा जाउलाखेल युथ क्लबलाई हराउँदा सन्तोष साहुखलले गोल्डेन गोल गरेका थिए । १६ वर्षअघि त्यो गोल गर्दा सन्तोष भर्खर १६ वर्षका थिए ।

त्यहीँबाट उदाएका सन्तोषले घरेलु फुटबल गोलमेसिनको उपनामसमेत पाएका छन् । यो सिजन च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलिरहेका सन्तोष बुधबार न्यूरोड टिम (एनआरटी) विरुद्ध मैदान उत्रिँदा कीर्तिमान नजिक हुनेछन् ।

अर्थात उनले एक गोल गरेमा लिगको इतिहासमा १०० गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

नयाँ खेलाडीको लागि पनि यो मार्गदर्शन हुन सक्छ । अब आउने खेलाडीले अझै राम्रो खेलेर मेरो भन्दा बढी गोल गरुन्,’ सन्तोषले भने ।

जापानमा बस्दै आएका सन्तोष बिदाको समय मिलाएर नेपालमा लिग खेल्न आउने गरेका छन् । उनले गत सिजन च्यासलबाट ६ खेले र तीन गोल गरेका थिए । त्यसपछि लिग तालिका नमिल्दा जापान फर्किएकाले सबै खेल खेल्न पाएनन् ।

यस सिजन लिगमा शुरुवाती दुवै खेलमा सन्तोषले गोल गरे । पहिलो खेलमै साविक उपविजेता संकटा क्लबविरुद्ध २ गोल गर्दै उत्कृष्ट शुरुवात गरेका सन्तोषले दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गर्दै लिगमा गोल संख्या ९९ पु‍र्‍याए ।

१०० गोल पुगेपछि के छ योजना ? एनआरटीविरुद्ध खेल्नु अघिल्लो दिन सन्तोष भन्छन्, ‘कुनै विशेष योजना छैन । अन्य गोल जस्तै १०० गोलको पनि सेलेब्रेसन गर्छु ।’

उनका अनुसार यो सिजन पुरै खेल्ने र १५/१६ गोल गर्ने लक्ष्य छ ।

विस २०६० देखि ए डिभिजन लिग खेल्न थालेको सन्तोषले डेढ दशकमा चार क्लबको जर्सी लगाए । च्यासल उनको चौथो क्लब हो । त्यसअघि थ्रीस्टार, सशस्त्र प्रहरीको एपीएफ र मनाङ मर्स्याङ्दी क्लबबाट नेपालको शीर्ष श्रेणीको लिग खेले ।

आफू १०० गोलमा धेरै धेरै केन्द्रित नभए पनि यसको आउने पिढीका लागि अर्थ राख्ने उनको बुझाइ छ । ‘नयाँ खेलाडीको लागि पनि यो मार्गदर्शन हुन सक्छ । अब आउने खेलाडीले अझै राम्रो खेलेर मेरो भन्दा बढी गोल गरुन्,’ सन्तोषले भने ।

यो सिजन अर्को संयोग पनि छ । सन्तोष आफ्नै दाइ बालगोपाल साहुखलको प्रशिक्षणमा लिग खेलिरहेका छन् । विस २०६० मा सँगै क्लब करियर शुरु गरेका भाइको खेलबाट दाइ पनि खुसी देखिएका छन् । ‘समग्रमा यो लिगमा राम्रो प्रदर्शन गरेको छ । दुई खेलमा तीन गोल गरिसकेको छ,’ प्रशिक्षक बालगोपाल भन्छन् ।

सन्तोष भने आफ्नो प्रेरणाको स्रोत दाइलाई मान्छन् ।

‘बुबाले दशरथ रंगशालमा फुटबल हेर्न लैजानुहुन्थ्यो । त्यसबाट पनि मैले म पनि एकदिन यहाँ खेल्न पाए हुन्थ्यो जस्तो लाग्यो,’ सन्तोषले पुराना दिन सम्झिए ।

थ्री स्टारबाट ७१ गोल

गोल्डेन गोल गरेको अर्को सिजन नै पाटने क्लब थ्री स्टारमा आवद्ध भएका उनी ६ सिजन त्यही रहेँ । दुई पटक थ्री स्टारलाई लिग जिताउन भूमिका खेलेका थिए ।

२०६० मा पहिलो सिजनमै उनले ६ गोल गरेका थिए । यस्तै ६६/६७ को सिजन सबैभन्दा धेरै १९ गोल गरेका थिए । अहिलेसम्म लिगमा गरेका ९९ गोल मध्ये सर्वाधिक ७१ गोल थ्री स्टारबाटै गरेका थिए । दुई पटक लिग च्याम्पियन, अनि लिगमा ७१ गोल गरेका कारण उनी थ्रीस्टारका लिजेण्ड खेलाडी पनि हुन् । उनी पनि थ्री स्टारलाई परिवार जस्तै मान्छन् । ‘थ्रीस्टार फेमिली जस्तै हो । क्लब खेलाडी, अफिसियलहरु सबैसँगै उस्तै छ । अहिले पनि माया लाग्छ’ उनले भने ।

‘राष्ट्रिय टिममा खेल्ने इच्छा त छ, तर जापानमा काम गरिरहेकाले त्यसमा असर गरेन र समय मिल्यो भने मात्र हो,’ उनले भनेका छन् ।

तर गत सिजन थ्री स्टारले लिगका लागि अफर गरेन । यस सिजन पनि गरेन । ‘लिग खल्न थ्रीस्टारले बोलाएन, च्यासलले बोलायोे र आएँ,’ सन्तोषले भने ।

राष्ट्रिय जर्सीको सपना पूरा

सन्तोषले पछिल्लो पटक दशरथ रंगशालमा सन् २०१५ मा विश्वकप छनोट अन्तर्गत भारतविरुद्ध खेलेका थिए । उक्त खेलमा उनले ५७ मिनेट खेलेपछि अनिल गुरुङले रिप्लेस गरेका थिए । त्यसपछि फेरि नेपालको जर्सी लगाएका छैनन् ।

संयोग के भने सन्तोषले डेब्यु पनि विश्वकप छनोट अनि दशरथ रंगशालमै गरेका थिए ।

सन् २०१० को विश्वकपका लागि भएको २००७ मा ओमानविरुद्ध भएको खेलमा सन्तोष ७२औं मिनेटमा जुमानु राईको स्थानमा मैदान प्रवेश गरेका थिए । ८ वर्षपछि उनले त्यही मैदान भारतविरुद्ध खेल्दा नेपाल गोलहरित बराबरीमा रोकिएको थियो । ‘नेपालको जर्सी लगाएर खेल्न पाउँदा एकदमै खुशी लागेको थियो’, सन्तोषले भने, ‘राष्ट्रिय खेलाडी भएँ भनेर खुशी भएको थिएँ ।’

अहिले पनि सन्तोषले राष्ट्रिय टिमबाट सन्यास लिएका छैनन् । कुनै दिन राष्ट्रिय टिममा आउने उनको सम्भावना सकिएको छैन । तर यसबारे उनको धारण फरक छ । ‘राष्ट्रिय टिममा खेल्ने इच्छा त छ, तर जापानमा काम गरिरहेकाले त्यसमा असर गरेन र समय मिल्यो भने मात्र हो,’ उनले भनेका छन् ।

राष्ट्रिय टिममा हुँदा सन्तोष टिममा बाहिर भित्र गरिरहे । त्यसमा उनको आफ्नै कमजोरी पनि कारण बन्यो । त्यसबेला आफू युवा भएको र केही नबुझेका कारण त्यसे हुन गएको उनको बुजाइ छ । तर अहिले सम्झँदा त्यस्तो नगरेको भए हुन्थ्यो जस्तो लाग्छ । ‘एक पटक थोमस फ्ल्याटलले टिममा नराखेपछि मैले आई विल नट प्लेसम्म भनेको थिएँ । ट्रेनिङमा नजाने आफूलाई मै हुँ भन्ने जस्तो लाग्थ्यो’ उनी भन्छन्, त्यसो नगरेको भए हुन्थ्यो जस्तो लाग्छ ।’

हरि खड्कासँग खेल्दा रमाइलो

२००७ मा राष्ट्रिय टिममा डेब्यु गरेका सन्तोषले क्लब र राष्ट्रिय टिममा गरेर धेरै स्टार खेलाडीसँग खेल्ने मौका पाए । क्लबमा शुरुमै सुरेन्द्र तामाङसँग खेलेका सन्तोषले राष्ट्रिय टिममा भने धेरै समय जुमानु राई, अनिल गुरुङ जस्ता खेलाडीसँग खेले । ‘हरि खड्का दाइसँग खेल्दा मज्जा हुन्थ्यो । आई कन्ट्याक्ट मात्र हुँदा पनि हरि दाइले मज्जाले बल दिनुहुन्थ्यो’ सन्तोषले भने ।

क्लब लेभलमा भने स्ट्राइकिङ पार्टनर नभएको उनले सुनाए । ‘क्लबमा खासै छैन । विदेशी खेलाडी फेमी जोसुअसँग चाहिँ राम्रो थियो’ थ्रीस्टारमै शुरुमै सुरेन्द्र तामाङसँग खेलेका उनले भने, ‘सुरेन्द्र दाइसँग खेलियो तर धेरै गाली पनि खाइयो ।’

त्यो भन्दा यो सन्तोष ठीक

सन्तोष हाल जापनमा एनपीओ रिलेमा खेलाडी र कोचको रुपमा काम गरिरहेका छन् । उनको टिम एसएस इजु जापानको आठौं श्रेणीको लिग जे ८ मा खेल्छ ।

त्यसले पनि सन्तोषलाई फिट राखिरहेको छ । जापान जानुअघि र अहिलेको सन्तोषमा को ठिक भन्ने प्रश्नमा उनले सजिलै जवाफ दिए, अहिलेको सन्तोष ठीक।

‘अहिले फिट, क्वीक र मेन्टल्ली म्याचुअर्ड भएको छु’ सन्तोषले भने, ‘जापानमा गएर धेरै कुरा सिकेँ । कम उमेरमै यो सिक्न पाएको भए अझ राम्रो हुन्थे जस्तो लाग्छ ।’

यस सिजन सबै क्लब उस्तै

कुनै समय थियो मनाङ, थ्रीस्टार, नेपाल पुलिस ठूला क्लब मानिन्थे । स्टार खेलाडीहरु तीन टिममा हुन्थ्यो । सन्तोषले मनाङ र थ्री स्टार दुबै क्लबबाटै लिग खेल्ने अवसर पाए ।

यो सिजन अवस्था फेरिएको छ । मनाङ र थ्री स्टार छाडेर स्टार खेलाडीहरु अन्यत्र लागेका छन् । यी क्लबले स्टार खेलाडीहरुलाई राख्न सकेनन् वा खेलाडीले नै क्लब छाडे त्यो पछि थाहा होला । तर सन्तोष भने लिग खेल्ने १४ वटै क्लबमा स्टार भन्न लायक खेलाडीहरु नभएको सन्तोषको बुझाइ छ ।

उनले लिगका सबै क्लब उस्तै भएको सुनाए । तर लिगको उपाधि दाबेदार भने मछिन्द्रलाई मान्छन् । ‘थोरै बल राखेर खेल्ने क्लब मछिन्द्र जस्तो लाग्छ । अरु सबै आयो गोर्खालीको शैलीमा खेल्छन्’ लिगको वर्तमान अवस्थाबारे उनको मूल्यांकन छ ।

मछिन्द्रसँगै आफूले खेलिरहेको च्यासलले पनि केही सिस्टम ल्याउन लागेको उनले सुनाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय