+

सुदूरपश्चिम स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

२०७६ पुष  १० गते १४:३२ २०७६ पुष १० गते १४:३२
सुदूरपश्चिम स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

१० पुस, धनगढी । यही पुस १५ गते धनगढीमा आयोजना हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ का लागि मनोनयन सार्वजनिक गरिएको छ।

विभिन्न ६ वटा विधामा दिइने अवार्ड मध्ये चार विधाका लागि बिहीवार आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो।

शारदा राइस मिल वर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्क बोहोरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन्।

निसर्ग हस्पिटल वर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छन् ।

दिनेश सोप वर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन्।

केटिएम वाइक वर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा रहेको पत्रकार सम्मेलनमा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले सार्वजनिक गरे।

‘माया मेट्रो स्पेशल अवार्ड र ठाकुर ग्रुप लाइफ टाइम अचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिन पुस १५ मा नै गरिनेछ,’ अध्यक्ष ओझाले भने, ‘चार वटा विधाका विजेतालाई नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । स्पेशल अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ।’

अध्यक्ष ओझाले भने अघि भने, ‘सुदूरपश्चिम क्षेत्रको निजी क्षेत्रबाट मात्रै हामीलाई अवार्ड आयोजना गर्न सहयोग भएकोमा हामी गौरवान्वित भएका छौं ।’

प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ का संयोजक तथा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदिप पाठकले अवार्डको तयारी ७० प्रतिशत सम्पन्न भईसकेको बताए।

उनले मनोनयमा परेका तीन/तीन जना खेलाडी मध्ये पछिल्लो एक वर्षको उत्कृष्ट प्रदर्शनका आधारमा विजेता खेलाडी छनोट हुने जानकारी दिए।

पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक, कैलाली हस्पिटलका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे। उनले अवार्डको सफलताको कामना गर्दै अवार्डले निरन्तरता पाउनुपर्नेमा जोडसमेत दिए।

जोशीले पत्रकार सम्मेलनमै अवार्डमा थप सहयोग गर्ने घोषणा समेत गरे। यस्तै अवार्डको प्रवद्र्धक समेत रहेको कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सुदूरपश्चिममा नयाँ अभ्यासको थालनी भएकोमा खुसी व्यक्त गरे।

पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले आवार्डमा जोडिएका प्रायोजकलाई धन्यवाद ज्ञापन गरे ।

मुख्य प्रायोजक कैलाली हस्पिटल रहेको उक्त अवार्डमा वर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, वर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, वर्ष प्रशिक्षकलाई दिनेश सोप, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन्।

मुख्य प्रबर्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ।

त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार रहेका छन्।

धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ। त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रबर्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय