
१६ पुस, बुटवल । अण्डा उत्पादक किसानहरुले बिचौलियाका कारण लागत मूल्य पाउन नसकेको गुनासो गरेका छन् । पोल्ट्री क्षेत्रमा विदेशी लगानीका कारण बिचौलीया प्रयोग गरेर किसानलाई माथि उठ्न नदिएको किसानहरुको गुनासो छ ।
नेपाल अण्डा उत्पादक संघले सातौं राष्ट्रिय पोल्ट्री दिवसको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गरी पोल्ट्री क्षेत्रमा विदेशी लगानी र बिचौलिया तत्वलाई नियन्त्रण गर्न माग गरेको हो ।
हाल नेपालमा दाना उद्योगमा करिब ७५ प्रतिशत विदेशी लगानी रहेको संघको दाबी छ । ‘चल्लादेखि दानासम्म विदेशी लगानीकर्ता र बिचौलियाको नियन्त्रणमा छ,’ अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले भने, ‘एउटा अण्डामा बिचौलियाले ६ रुपैयाँसम्म मुनाफा खाइरहेका छन्,त्यसको मार उपभोक्ता र किसान दुवैमा परेको छ ।’
किसानले प्रति गोटा अण्डाको मूल्य ६ रुपैयाँ पाउँदादेखि ९ रुपैयाँ पाउँदासम्म उपभोक्ताले १५ रुपैयाँमै किन्नुपरेको केसीले खुलाए ।
सरकारले बिचौलिया समूहको अन्त्य गरी किसानदेखि सिधै उपभोक्तासम्म पुर्याउने वातावरण बनाउन सके किसान र उपभोक्ता दुवैले लाभ लिन सक्ने उनले बताए ।
अध्यक्ष केसीले सहकारी संस्थामार्फत किसानले उत्पादन गरेका अण्डा उपभोक्तासम्म पुर्याउने व्यवस्थाका लागि सहजीकरण गरिदिनुपर्ने माग गरे ।
विदेशी लगानीकर्ताको प्रभावमा परेर ह्याचरी र दाना उत्पादकहरुले किसानलाई अहित हुने गरी संघीय संसदमा दाना विधेयक आएकोमा किसानको विरोधका कारण फिर्ता गराइएको अध्यक्ष केसीले खुलाए ।
किसानले लागत मूल्य पाउन सरकारले चल्ला र दानाको मनपरी मूल्यवृद्धि रोक्नुपर्ने र किसानलाई प्राविधिक सहयोगसँगै अण्डाको खपत बढाउन बजारीकरणमा सहयोग गर्नुपर्ने लुम्बिनी अण्डा उत्पादक संघका अध्यक्ष प्रेमहरि तिमिल्सेनाले बताए ।
हाल नेपालमा करिब तीन हजार किसान पोल्ट्री व्यवसायमा रहेका र दैनिक ३२ लाख गोटा अण्डा उत्पादन हुने गरेको छ ।
पोल्ट्री व्यवसायले डेढ लाख जनालाई रोजगारी दिएको र अण्डा निर्यात गर्न सक्ने अवस्था रहेको संघका अध्यक्ष केसीले बताए ।
प्रतिक्रिया 4