Comments Add Comment

सामाजिक सञ्जालमा सेलिब्रेटीको दुईखाले अनुहार

को सामाजिक, को आत्मकेन्द्रित ?

कलाकार एवं निर्माता हुन्, रविन्द्रसिंह बानियाँ । उनी सामाजिक सञ्जाल खासगरी फेसबुकका सक्रिय प्रयोगकर्ता पनि हुन् । उनी धेरैजसो सामाजिक मुद्दाहरुमा मुखरित देखिन्छन् । गरिब-दुःखी, असहाय, पीडितहरुका पक्षमा खुलेर आफ्नो धारणा राखिरहेका हुन्छन् ।

सञ्चारमाध्याममा प्रकाशित/प्रसारण हुने आफ्नो समाचार र अन्तर्वार्ताभन्दा पनि सामाजिक सरोकारका विषयलाई उनी फेसबुकमा सेयर गरिरहेका हुन्छन् ।

अभिनेत्री दीया मास्केलाई पनि सामाजिक विषयवस्तुले चाँडै छुन्छ । समाजका घटनाहरुलाई उनी नजिकबाट नियालिरहेका हुन्छिन् । उनी फेसबुकबाटै समाजका प्रेरणादायी कथा र पात्रहरुलाई सम्मान गरिरहेका हुन्छिन्, निमुखाको पक्षमा वकालत गरिरहेकी हुन्छिन्, अराजकता र भ्रष्ट प्रवृत्तिमा आपत्ति जनाइरहेकी हुन्छिन् ।

अभिनेत्री केकी अधिकारीलाई जीवन र जगतका कुराहरुले स्पर्श गर्छ । उनी आध्यात्मिक एवं आत्मिक विषयबस्तुका सामाग्री, महिला सशक्तिकरणका कथालाई फेसबुकमा साझेदार गरिरहेकी हुन्छिन् ।

चलचित्र निर्देशक एवं गीतकार यादव खरेल सामाजिक संवेदनाका विषयमा निकै चासो राख्छन् । समाजका बारेमा लेखिएका घतलाग्दा सामाग्रीहरु उनी फेसबुकमा साझा गरिरहेका हुन्छन् । कला-संस्कृतिसँग सम्बन्धित सामाग्री पनि उनी रुचिपूर्वक साझेदार गर्छन् ।

हास्य अभिनेता केदार घिमिरे समाजलाई चासोपूर्वक नियालिरहेका हुन्छन् । कतिपय सामाजिक मुद्दामा उनी अग्रसर देखिन्छन् । निर्देशक तुलसी घिमिरेले आफ्ना फेसबुकमा असहाय, निमुखालाई सहयोग पुग्ने हेतुले पोस्ट गरिरहेका हुन्छन् । जनचेतनामूलक सामाग्री पनि उनी सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् ।

निर्माता एवं अभिनेता दीपकराज गिरीदेखि मनोज पण्डितसम्म सामाजिक विषयहरुमा सरोकार राखिरहेका हुन्छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिने विचार, तस्बिर र अन्य सामाग्रीहरुको आधारमा उक्त प्रयोगकर्ताको मनोविज्ञान र मनस्थिति आँकलन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताले कस्ता तस्बिर राख्छन्, कस्ता धारणा व्यक्त गर्छन्, के लेख्छन्, के राख्छन् ? यावत् कुराले उनीहरुको प्रवृत्ति, आनिबानी, स्वभाव, मनोविज्ञान, बौद्धिक क्षमता आदिबारे पनि सामान्य आँकलन गर्न सकिन्छ ।

सामाजिक सञ्जालमा सेलिब्रेटीको दुईखाले अनुहार

सामाजिक सञ्जालले हाम्रा सेलिब्रेटीहरुको दुईवटा फरक अनुहार पेश गरिदिन्छ । एकखाले सेलिब्रेटी, जो आफ्ना प्रचारबाजीमा मग्न हुन्छन् । अर्काथरी सेलिब्रेटी, जो सामाजिक मुद्दाहरुमा गम्भीरतापूर्वक चासो राखिरहेका हुन्छन् ।

पहिलोथरी सेलिब्रेटीले सामाजिक सञ्जालमा साझेदार गर्ने खुराकहरु अक्सर उनकै वरिपरी घुमेको हुन्छ । आफ्नै फोटो, प्रचार सामाग्री, अन्तर्वार्ता साझेदार गरेर रमाइरहेका हुन्छन् ।

दोस्रोथरी सेलिब्रेटीले सामाजिक सञ्जालमा साझेदार गर्ने खुराकहरु सामाजिक र समसामयिक विषयमा केन्दि्रत हुन्छन् । समाजका विकृतिले उनीहरुलाई दुख्छ, समाजको उन्नतिले उनीहरुलाई प्रफुल्ल तुल्याउँछ । सामाजिक सञ्जालमा अभिव्यक्त उनीहरुको सामाग्रीले यस्तै संकेत गर्छ ।

अधिकांश कलाकर्मी फेसबुक लगायत सामाजिक सञ्जाल प्रयोग गर्छन् । र, उनीहरु आफ्नै प्रचारमा सहयोग पुग्ने सामाग्रीहरु साझेदार गरिरहेका हुन्छन् । आफ्नो तस्बिर, अन्तर्वार्ता राखेर उनीहरु आफूलाई ‘चर्चित’, ‘व्यस्त’, ‘चल्तापूर्जा’, ‘मूल्यवान्’ देखाउने यत्न गरिरहेका हुन्छन् । उनीहरु कतिसम्म असंवेदनशील देखिन्छन् भने समाज शोकमा डुबिरहेको घडीमा पनि उनीहरु ठट्यौली सामाग्री साझेदार गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालमा उनीहरुले राख्ने तस्बिर र स्टाटसबाट बुझ्न सकिन्छ, धेरैजसो कलाकर्मी प्रचारमुखी छन् । आफ्नो प्रचार हुने जस्तोसुकै सामाग्री पनि उनीहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका हुन्छन् ।

सामाजिक संवेदनाको प्रश्न

कलाकर्मी समाजसँग सधै एकाकार हुनुपर्छ भनिन्छ । समाजको स्पन्दन अनुभूत गर्न सक्ने कलाकर्मीले आफ्नो कला एवं भूमिकालाई न्याय गर्न सक्छन् । समाजको स्वरुप कस्तो छ ? सामाजिक चेत र प्रवृत्ति कस्तो छ ? कसले कस्तो जीवन भोगिरहेका छन् ? आदि विषयमा जो बढी एकाकार हुन सक्छन्, उनीहरुले आफ्नो कलालाई जीवन्त रुपमा उतार्न सक्छन् ।

तर, हाम्रा धेरैजसो कलाकर्मी समाजबाट बाह्र हात टाढा बस्न रुचाउँछन् । समाजको प्रवृत्ति र व्यवहार कस्तो छ ? समाज के चाहन्छन् ? समाज रुपान्तरणको विधि कस्तो छ ? यसबारे उनीहरु बेखबर हुन्छन् । समाजसँग दुरी बढाएर आफूलाई रहस्यमयी र मूल्यवान् बनाउने भ्रममा मग्न छन् ।

हुन त सामाजिक सञ्जाल नै त्यस्तो मापन गर्ने यन्त्र होइन । जसले कलाकर्मीको सामाजिक चेत वा संवेदनशिलता नाप्न सकिन्छ । कतिपय कलाकर्मी सामाजिक सञ्जालमा नजोडिएर पनि समाजका यावत मुद्दाहरुमा चासो दिइरहेका हुन्छन् । आफ्नो संलग्नता खोजिरहेका हुन्छन् ।

सेलिब्रेटी र समाज

अन्याय र अत्याचारले थिचिएका उखु किसानहरु यतिबेला ऋण उठाउन राजधानी आएका छन् । सुरुवाती दिनहरुमा उनीहरुको बिल्लिबाठ भयो ।  उनीहरु सडकमा थिए र उनीहरुका आवाज त्यही सडकमा बिलाइरहेका थिए ।

यस्तो अवस्थामा उनीहरुको आवाजलाई बुलन्द बनाउन सेलिब्रेटीहरु जुर्मुराउन सक्छन् । सेलिब्रेटीले केवल सामाजिक सञ्जालबाटै पनि उक्त मुद्दालाई फैलाउन र पेचिलो बनाउने भूमिका खेल्न सक्छन् ।

समाजलाई अप्ठ्यारो परेको बखत, सेलिब्रेटीले बोलिदिन सक्छन् । समाजको उदासी र निरासामा, सेलिब्रेटीले उत्साह लहर फैलाउन सक्छन् । समाजको उन्नति एवं प्रगतिमा, सेलिब्रेटीले थप प्रेरणा दिन सक्छन् । किनभने सेलिब्रेटीलाई सुन्ने, बुझ्ने, देख्ने संख्या धेरै हुन्छन् ।

तर, हाम्रा सेलिब्रेटीले यस किसिमको सामाजिक मूल्यसँग आफूलाई जोड्ने यत्न गर्दैनन् । बरु समाज बिथोल्ने र समाजलाई बिझाउने अभिव्यक्ति दिइरहेका हुन्छन् । गतिविधि गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment